मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

काठमाडौंका प्रमुख स्थानहरुमा यात्रु सहायता कक्ष

दैनिक नेपाल २०७५ असोज २४ गते १४:०५


काठमाडौँ, २४ असोज । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, नाडा र सिप्रदीद्वारा यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सेवा शुरु गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडासँगको सहकार्यमा सिप्रदीले काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँमा यात्रु सहायताकक्ष स्थापना गरेको हो । चाडपर्वका लागि टिकट बुकिङसँगै, नागढुंगा, कलंकी, हलचोक, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोवाटो, बल्खु, दक्षिणकाली र बानेश्वरमा यात्रु सहायता कक्ष शुरु भएको छ ।

दशैं मनाउनका लागि करीव ३० लाख मानिसले उपत्यका छाड्ने अनुमान गरिएको छ । यातायातको उच्च मागका कारण यात्रुहरुले टिकट बुकिङका क्रममा विभिन्न खालका समस्याहरु भोग्नुपरेको छ ।

उनीहरुले धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्या भोग्नुपर्ने जस्ता गुनासो गर्दै आइरहेका थिए । साथै, एउटै सिटको टिकट धेरैलाई विक्रि गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए । त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायताकक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएको हो । यात्रु सहायताकक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् । साथै, उपत्यका भित्रका स्थानीय यातायात र ट्याक्सी सेवाको निरीक्षण पनि गर्ने गरेका छन् ।

हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, वाणिज्य विभाग, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् । सहायता कक्षहरुमा दूरीसहित टिकटको मूल्य पनि राखिएको छ । सडक सुरक्षालाई प्रमुख चिन्तामा राख्दै सिप्रदी हरेक वर्ष यो अभियानमा सहभागी हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित