मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

बामदेवको राजनीति सिध्याउन यसरी तयार पारियो ‘राम’वाण !

दैनिक नेपाल २०७५ असोज २४ गते १०:५६

काठमाडौं, २४ असोज । ‘पार्टीको निर्देशन आएको खण्डमा म कमरेड बामदेव गौतमका लागि निर्वाचन क्षेत्रमा सहयोग गर्दै सांसद पदबाट राजीनामा दिन तयार छु’, काठमाडौं–७ बाट प्रतिनिधि सभामा निर्वाचित रामवीर मानन्धरले भने,‘यो मेरा लागि पनि एउटा अवसर नै हुनेछ ।’

नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता गौतमका लागि मानन्धरले जे त्याग्छु भने खास अर्थमा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्ताव थियो । तत्कालिन एमालेले विजय हासिल गरेको क्षेत्रमै राजीनामा गराउने प्रचण्डको नियोजित प्रस्तावलाई गौतम प्रतिनिधि सभामा छिराउने अवसरका रूपमा व्याख्या गरियो । तर यो प्रस्ताव गौतमको राजनीतिक करिअरको अन्तिम ‘इनिङ’मा बद्नाम गराउने नियतमा आएको कतिपयले आरोप लगाएका छन् ।

गौतम आफैं भने यस विषयमा खुसी देखिए । त्यसैले मानन्धरको घोषणा बारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे,‘ नतमस्तक छु कमरेड रामबीर मानन्धर ! पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो त्यो विचारले मेरो कद अझ उचो बनाएको छ ।’

गौतमले यति मात्र लेखेनन् । उनको सञ्जाल प्रतिक्रियामा ‘संगठनका लागि हामी दुवै जना सिपाही हो । भोलीका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन । पार्टीको गरिमालाई उचो राख्न र तपाईले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भुमिका र जिम्मेवारी जे जस्तो दिए पनी जनताको काममा संधै संगै रहनेछौं’ उल्लेख छ ।

यो अभिव्यक्तिले करिब–करिब मानन्धरले क्षेत्र छाड्ने र सो क्षेत्रबाट गौतम प्रतिनिधि सभामा निर्वाचित हुने वा गराउने भन्ने विषयले चर्चा पाएको छ । चार महिनादेखि चलेको यो चर्चा एक प्रकारको ट्रोल बनेको थियो । मानन्धरको क्षेत्रमा जाने विषय अझ व्यापक ट्रोलका रूपमा सामाजिक सञ्जालमा चर्चित हुन थालेको छ ।

अन्तिम इनिङको अमिलो प्रहार
सम्भवत नेकपाका नेताहरूमा गौतम अलिक उमेरदार हुन् । अर्थात् उमेरको हकमा उनी अरुभन्दा पाका हुन् । ७० बर्ष नाघिसकेका गौतमले अब राजनीतिबाट सन्यास लिने बेला भएको छ । तर, उनले प्रचण्डलाई ‘जीवनमा एक पटक प्रधानमन्त्री बन्ने रहर’ रहेको सुनाएका थिए ।

कयौं पटक उपप्रधानमन्त्री र गृहमन्त्रालयको जिम्मेबारी पाइसकेका गौतमको यो चाहनामा लक्षित भएरै प्रचण्डले गौतमलाई संसद छिराउँदै प्रधानमन्त्रीको कुर्सीसम्म पुराउने आश्वासनअनुसार प्रस्ताव गरेका थिए । ‘यो योजना नै ब्याकफायर हुने प्रकारान्तरले देखिन्छ’, उच्च स्रोतले भन्यो,‘पहिलो जनताले जिताएनन् भने गौतमको राजनीति के हुन्छ ? दोस्रो जितेर आएपछि प्रधानमन्त्रीको कुर्सी सहजै पाउन सकिएला ?’

त्यसो त प्रचण्डले सार्वजनिक कार्यक्रममा ‘सरकारको गियर बदलिन्छ’ भन्ने अभिव्यक्ति दिएका कारणले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आफैं सशंकित बनिसकेका थिए । उच्च स्रोतले भन्यो,‘ओलीको चाहनाविपरित योजना सफल हुन्छ र ?’

गौतमलाई पहिलो चरणमा सरकारको बरिष्ठ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मा दिने रणनीतिका आधारमा प्रचण्ड अगाडी बढेका हुन् । यसले सरकारमा ओलीको निर्णयलाई सन्तुलित बनाउनेमात्र नभएर आफ्नो निर्णयलाई प्रभावकारी राख्ने प्रचण्ड योजना छ । स्मरण हुनुपर्छ तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गर्दा सरकारका अन्य मन्त्री विपक्षमा उभिँदा प्रचण्डको पक्षमा तत्कालिन एमालेको नेतृत्व गरी सरकारमा पुगेका गौतम पक्षमा उभिएका थिए ।

तर राजनीतिक जीवनको उत्तरार्धको ‘इनिङ’मा त्यसबेलाको गुण तिर्ने र सरकारमा पनि आफ्नो निर्णयलाई प्रभावकारी बनाउने प्रचण्डको हस्तक्षेपकारी नीतिलाई नेताहरूले बुझ्न सके या सकेनन् भन्ने प्रश्न खडा गरेको छ । गौतमलाई ल्याउँदा आजभोली प्रचण्डको निर्णय भन्दा सरकारको गति दिलाउने गृहमन्त्री रामबहादुर थापालाई हटाउने, इश्वर पोखरेललाई बरियतामा कमजोर देखाउने खेलमा सफल हुने नेतृत्वले ठानेको छ ।

‘अन्य नेताको पनि पार्टीभित्र उस्तै ताकत भएका कारणले अध्यक्षको रणनीतिमा कमरेड बामदेव गौतम ‘घुन’ बनिरहेको देखेको छु’, नेकपा सचिवालय सदस्यले भने,‘उहाँका लागि अन्तिम समयमा अमिलो प्रहार हो ।’

प्रचण्डले किन ल्याए प्रस्ताव ?
एमालेमा माओवादी मिसाएर त्यसको अध्यक्ष बनेका प्रचण्डले राजनीतिक जीवनमा दुईलाईन संघर्षका नाममा प्रभावशाली नेतृत्वको पक्ष र विपक्षको संक्रमणमा खेल्ने गरेका छन् ।

पार्टीमा अध्यक्ष ओली र अर्का प्रभावशाली नेता माधवकुमार नेपालबीच खेलिरहेका प्रचण्डकै कारण अर्का नेता झलनाथ खनालको वरियता मिचिएको थियो । खनाल चीनमा रहेका बेला पार्टी सचिवालयको वरियतामा नेपाललाई अगाडी राख्दा विवाद उत्पन्न हुन्छ भन्ने उनी जानकार थिए ।

यस्तै सरकारलाई पनि विवादको घेरामा राखी त्यसको समन्वयका नाममा सन्तुलन कायम गर्ने रणनीतिक अभ्यासमा गौतम पात्र बनिदिएका छन् । प्रचण्डले गौतमलाई सरकारमा पुराएर ओलीलाई सन्तुलनमा राख्ने, बादल, पोखरेललगायतका अन्य मन्त्रीलाई दबाबमा राख्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित