शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

आइसिसी विश्व टी-२० : २ खेल बाँकी रहदै नेपाल दोस्रो चरणमा प्रवेश

दैनिक नेपाल २०७५ असोज २३ गते १७:५८

काठमाडौँ, २३ असोज । सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । एशिया छनोट समूह ‘बी’ मा लगातार ४ जित निकाल्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।

मंगलबार भुटानमाथि १ सय १७ रनको जित निकालेको नेपाल पहिलो चरणको २ खेल बाँकी रहदै दोस्रो चरणमा पुगेको हो । यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो ।

पहिलो चरणको सुरुवाती ४ खेल जितेपछि नेपाल ८ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो चरणको छनोटबाट शीर्ष ३ टिम दोस्रो चरणमा पुग्नेछन् । चौथो स्थानको थाइल्यान्डको ५ खेलबाट ५ अंक रहेकाले नेपालका लागि बाँकी खेल उपाधि भिडन्तका लागि मात्र हुनेछ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालसँगै सिंगापुरको पनि ८ अंक छ । नेपालसँग समान अंक जोडेको सिंगापुर पनि दोस्रो चरणमा पुगेको छ । नेपालले अब बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित