शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

उमेर नपुगी सहरमा डिस्कोबार, गाउँमा बलात्कार !

दैनिक नेपाल २०७५ असोज ६ गते १४:२२

डिस्कोबारको सांकेतिक तस्बिर

काठमाडौं, ६ असोज । निर्मला पन्त बलात्कारविरुद्ध सारा देश आन्दोलनमय भइरहेका बेला दरबारमार्ग प्रहरीले १५ देखि १७ बर्ष उमेर समुहका २३ जना सहरीय युवायुवतीलाई डिस्कोबारबाट निकालेर घर पठाएको छ ।

२३ जना युवतीमात्र थिएनन्, उनका युवक जोडी पनि थिए । डिस्कोमा जोडीबिना छिर्न निषेध त हुन्छ नै नभएकाले जोडी बनेर छिर्ने गरेका छन् । यी जोडिमध्ये कतिपयले आफुलाई प्रेमीप्रेमिका पनि बताएका छन् । उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ ।

नयाँ मुलुकी संहिताले २० बर्ष नपुगी बिहेबारीका लागि मात्र होइन, प्रेम र शारिरीक सम्बन्धका लागि पनि प्रतिबन्ध गरेको छ । अर्थात्, कुनै पनि प्रकारको सम्बन्ध केटा र केटीबीच स्थापित गरिए त्यसलाई गैर कानुनी मानिन्छ । तर, सहरका अधिकांश युवायुवतीमा १६–१७ बर्ष नपुगी नै सम्बन्ध स्थापित हुने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको २०११ को एउटा अध्ययनलाई हेर्ने हो भने १७ बर्ष नपुगी यौन सम्बन्ध स्थापित गर्ने युवायुवतीको संख्या उल्लेख्य छ । २० बर्ष नपुगी गर्भपतन गराउनेको संख्या पनि उल्लेख्य छ । यस्ता उमेरका युवायुवतीको सम्बन्धलाई सहरमा ‘सेक्सलिला’का रूपमा नै लिने गरिन्छ । तर, ग्रामिण भेगमा यहि उमेरका खासगरी युवतीहरू बलात्कारको शिकार हुने गरेको अर्को तथ्यांक छ ।

यस हिसाबले देश दुईवटा सामाजिक कुु–संस्कारको दपेटीमा छ । जसलाई ट्रयाकमा ल्याउनका लागि समाजशास्त्री, सरकार र घरपरिवारका सदस्यले पनि गहन विचार पुराउनुपर्ने आवश्यक देखिन्छ ।

सहरको चित्र व्याख्या गर्नका लागि काठमाडौंलगायतका धेरै ठाउँमा उमेर नपुगी यौनजन्य कृयाकलापमा संलग्नहरूलाई नियन्त्रणमा लिनु, कतिपय ठाउँमा यस्ता कार्यकलापको भिडियो बनाएर सामाजिक सञ्जालमा नै पोस्ट गर्नेसम्मले पुुस्टि गर्छ ।

केही बर्ष अघि स्कुल बंक गरी बेबीलोन डिस्कोमा दुई दर्जनभन्दा बढी स्कुले केटाकेटी फेला परेका थिए । उनीहरू नाचीरहेका मात्र थिएनन्, जोडी बाँधेर यौनजन्य कार्यकलापका लागि पनि उद्दत देखिएका थिए । प्रहरीले अभिभावक बोलाएर उनीहरूलाई जिम्मा लगाएको थियो ।

हुन त प्रेम र बलात्कार फरक चिज हुन् । समाजशास्त्रीहरूका अनुसार प्रेममा अनुराग हुन्छ, बलात्कारमा अपराध हुन्छ । यो दुवै मानसिकताले तय गर्ने विषय हुन् । तर प्रहरीको ठम्याई भने फरक छ । कतिपय बलात्कारका घटना कलिलो उमेरको प्रेम सम्बन्धका कारणले नै भएका छन् । यस्ता घटनाको विकसीत रुपमा कतिपय ठाउँमा प्रेमिकाको हत्यासम्म भएका तथ्यांक प्रहरीसँग छ ।

उता ग्रामिण भेगमा हेर्ने हो भने १३ बर्षिया निर्मलापन्तसँगै कञ्चनपुर जिल्लामा मात्र यो एक मिहनाको अवधिमा कलिला उमेरका ८ जना बलात्कारको शिकार भइसकेका थिए । त्यसबाहेक काठमाडौं, ललितपुर र अन्य जिल्लाका विभिन्न ठाउँमा पनि बालिका बलात्कार भएका उजुरी प्रहरीकहाँ आइसकेको छ ।

समाजको यो दुई चित्रले अपराध बढ्न नदिन र अपराधमा कारबाही गर्न अथवा चेतना जगाउनका निम्ति चुनौति रहेको देखाउँछ ।

प्रतिक्रिया
सम्बन्धित