मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

अमेरिकी कुकुरलाई नेपाली छुर्पी

दैनिक नेपाल २०७५ असोज ६ गते ६:५८

काठमाडौं, ६ असोज । छुर्पी नेपाली युवायुवतीबीच निकै लोकप्रिय छ । तर, त्यही छुर्पी अमेरिकामा भने कुकुरका लागि पोसिलो खाना बनेको छ ।

‘हिमालयन डग च्यू’ ब्रान्डका रूपमा हिमालयन पेट सप्लाईका सुजन श्रेष्ठ, सुमन श्रेष्ठ र निशेष श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि नेपाली छुर्पी अमेरिकामा कुकुरका लागि पोसिलो खानाका रूपमा निर्यात गर्दै आएका छन् ।

कम्पनीले अहिले वार्षिक करिब ३० करोड रुपैयाँबराबरको छुर्पी अमेरिका लाने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

हिमालयन डग च्यूका एक संस्थापक इलामका निशेष श्रेष्ठ सन् २००२ मा अमेरिका गए । त्यसक्रममा उनले आफूसँग केही छुर्पी पनि लगेका थिए । तर, त्यो कुकुरका लागि थियो किनकि उनले इलाममा एक कुकुरप्रेमीले कुकुरलाई छुर्पी खुवाएको र कुकुरले पनि खुब मन पराएर खाएको देखेका थिए । अमेरिकाको सियाटलमा निशेषले संखुवासभा खाँदबारीका सुमन श्रेष्ठसँग मिलेर करिब चार वर्ष अध्ययन गरे ।

त्यसक्रममा क्यानडाको एक ल्याबमा छुर्पीमा पाइने तत्वहरूबारे ल्याब टेस्ट पनि गराए । सन् २००६ सम्म कोलोराडोमा बस्दै आएका सुमनका दाइ सुजन श्रेष्ठ सियाटल गए । वेलिङह्यामस्थित निशेषको घरमा भएको एक गेट–टुगेदरमा निशेष र सुमनले सुजनलाई अमेरिकामा कुकुरका लागि छुर्पी बेच्ने योजना सुनाए । सुमन र निशेषको योजना मन परेपछि सुजन नेतृत्व लिन तयार भए र हिमालयन डग च्यूको कथा सुरु भएको हो ।

सन् २००७ को सेप्टेम्बरमा सुजनका बुबा रामबहादुर श्रेष्ठ केही केजी छुर्पी लिएर अमेरिका गए । सुजन, सुमन र निशेषले त्यो छुर्पीलाई ठिक्कको साइजमा काटेर प्याक गरे र कुकुर घुमाउन ल्याउने पार्कमा बेच्न पुगे । ‘करिब दुई घन्टापछि पहिलो प्याकेट बिक्री भयो,’ सुजन भन्छन्, ‘तर, बाँकी ४९ प्याकेट पार्कनजिकै रहेको कुकुरका लागि आवश्यक सामान पाइने पसल ‘पेट स्टप’का आलन र बारबराले खरिद गरे ।’

एक सातापछि नै आलन र बारबराले थप २० केजी अर्डर गरे । त्यसको डेड महिनाभित्रै विभिन्न तीनवटा पसलबाट थप ४ सय केजीको अर्डर आयो । यसरी अर्डर बढ्दै जाँदा उनीहरू सन् २००७ को पछिल्लो चार महिनाभित्रै ७० हजार डलरबराबरको हिमालय डग च्यू अर्थात् छुर्पी बिक्री गर्न सफल भए ।

सन् २००८ मा २ लाख डलरबराबरको डग च्यू बिक्री गर्न सफल भएका उनीहरूले औपचारिक रूपमै कम्पनी दर्ता गरे । सुरुमा ५ जनालाई रोजगारी दिएर सुरु भएको हिमालयन पेट सप्लाईमा अहिले ८० जना कर्मचारी छन् ।

कम्पनीको व्यापार र कर्मचारी दुवै बढ्दै गएपछि सुमन सन् २०१० मा कम्पनीमा चिफ अफ अप्रेसनका रूपमा ज्वाइन भए भने सन् २०११ मा निशेष पनि संस्थापकका रूपमा फुलटाइमर भएर कम्पनीमा ज्वाइन भए । हिमालयन पेट सप्लाईले डग च्यू मात्र वार्षिक करिब ३० करोड रुपैयाँबराबरको निर्यात गर्दै आएको छ भने अन्य सामानसमेत गरेर कम्पनीको निर्यात व्यापार वार्षिक ५० करोडभन्दा बढीको छ ।

सन् २०१३ मा सुजन व्यापार विस्तारको थप योजना लिएर स्वदेश फर्किए । इलामको गोदकमा आफ्नै उद्योग स्थापना गरे । हिमालयन पेट सप्लाईसँग इलाम र आसपासका ३ सय डेरी आबद्ध छन् भने करिब १२ हजार कृषक प्रत्यक्ष लाभान्वित छन् ।

सन् २०११ को अन्त्यतिर छुर्पीको गुणस्तर खस्किएपछि हिमालयन डग सप्लाईले कृषकहरू र खासगरी छुर्पी बनाउने कृषकलाई तालिमसमेत दिन थालेको छ । कृषकलाई सरसफाइ कायम गर्नेलगायतका तालिम दिँदै आएको सुजनले बताए ।

गुणस्तर र मूल्यमा तलमाथि भइरहने भएपछि उनीहरूले अमेरिकामै पनि ब्याकअपका लागि उद्योग स्थापना गरेका छन् । अमेरिकाको मोजेज लेकमा रहेको उद्योगबाट पनि याकी च्यू, च्यू एन्ड च्यूलगायत ब्रान्डमा डग च्यू उत्पादन हुँदै आएको छ । यद्यपि, नेपालमा उत्पादन गरिएको हिमालयन डग च्यू उच्च गुणस्तरको ब्रान्डका रूपमा स्थापित छ । त्यसैले मूल्य पनि नेपाली उत्पादनको करिब दोब्बर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित