शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

पूर्वएमालेका जिल्ला सदस्य थिए खुर्सिद आलम, गृहमन्त्रीलाई मुस्लिम नेताहरूको दबाब

दैनिक नेपाल २०७५ असोज ४ गते १७:२२

काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुस्लिम अगुवा नेताहरूले गृहमन्त्री रामबहादुर थापालाई भेटेर सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमका दोषीहरूलाई कारबाहीको माग गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा मुस्लिम अगुवाहरूले गृहमन्त्री थापालाई बिहीबार भेटेर आलमका दोषीहरूलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाही गर्न माग गरेका हुन् ।

उनीहरूले पीडित परिवारलाई क्षतिपूर्तिको माग र आलमलाई शहीद घोषणाका लागि माग गरिएको मुस्लिम अगुवा नेता ताज मोहम्मद मियाँले जानकारी दिए ।

‘खुर्सिद आलमका दोषीहरूलाई कारबाहीका लागि गृहमन्त्री थापासँग आग्रह गरिएको छ । उहाँले पनि घटनालाई लिएर गाम्भीर्यता देखाउनु भएको छ’, मियाँले भने, ‘हामीले खर्सिद आलमलाई शहीद घोषणा र उहाँको परिवारलाई क्षतिपूर्तिको माग पनि गरेका छौँ ।’

तत्कालीन नेकपा (एमाले)को सुनसरी जिल्लाका सदस्य समेत रहेका खुर्सिद आलम भुटाहास्थित निजी विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए । उनलाई अपरिचित समूहले बिहीबार बिहान विद्यालयबाट बाहिर बोलाएर गोली प्रहार गरेको थियो ।

गोली प्रहारपछि सो समूह भारततिर फरार भएको मियाँले जानकारी दिए । ‘खुर्सिद आलम तत्कालीन नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो’, मियाँले भने, ‘साधारण व्यक्तिलाई कसले कुन उदेश्यले गोली हानेर हत्या गरेको हो खोजविन गरेर दोषीलाई यथाशीघ्र कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरेका छौँ ।’

मुस्लिम अगुवा नेताहरूले गृहमन्त्री थापालाई सुनसरी जिल्ला पुगेर पीडित परिवारसँग भेट्न पनि सुझाव दिएको छ ।

गृहमन्त्री थापासँग भेट्न ताज मोहम्मद मियाँ, सेराज अहमद फारुकी, गुलाम रसुल, डा.समिम अन्सारी, जाकिर हुसैन, नजरुल हसन, गैंडा शेरखान लगायतका मुस्लिम अगुवाहरू गृहमन्त्रालयमा पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित