मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

प्रतिनिधिसभाका सबै विषयगत समिति सभापति निर्विरोध

दैनिक नेपाल २०७५ असोज ४ गते १६:५६


काठमाडौँ, ४ असोज । प्रतिनिधिसभाका १० विषयगत समितिको सभापति निर्विरोध चयन भएका छन् । सभापतिका लागि बिहीबार भएको बिहीबार भएको उम्मेदवारी दर्ताको क्रममा सबै समितिको सभापति पदमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।

यद्यपी, उनीहरु निर्विरोध भएपनि शुक्रबार निर्वाचन प्रक्रियामार्फत दश वटै समितिका सभापतीको औपचारिक घोषणा हुनेछ । प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को उम्मेदवारी परेको छ भने नेपाली काँग्रेस र संघीय समाजवादी फोरमले एक–वटा समितिको सभापति पाउने भएका छन् ।

सरकारको सहयात्री संघीय समाजवादीले उद्योग, वाणिज्य तथा श्रम समितिको सभापति पाउने छ । समितिको सभापतिमा विमल श्रीवास्तवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतकुमार साह निर्विरोध भएका छन् ।

बाँकी रहेका ८ समितिहरुमध्ये अर्थ समितिमा सांसद कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवि पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशि श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको एकल उम्मेदवारी परेको छ । यी सबै सांसद सत्तारुढ नेकपाका हुन् ।

प्रतिक्रिया
सम्बन्धित