मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

बामदेवलाई ‘कमेडी पात्र’ नबनाऔं

-समाचार टिप्पणी/दैनिक नेपाल २०७५ असोज २ गते १३:१४

-समाचार टिप्पणी/दैनिक नेपाल

काठमाडौं, २ असोज । राजनीति सम्भावनाहरूको जोडघटाउ भएको विकल्पसहितको खेल हो । यसमा खेलाडी कत्तिको ‘फेयर प्ले’मा हुन्छ भन्ने विषयले अर्थ राख्छ ।

अहिले नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य बामदेव गौतमको प्रतिनिधि सभा छिर्ने चाहनाको बहाना उठाउँदै कमेडी पात्र जस्तो बनाइएको छ ।

डोल्पामा धनबहादुर बुढाको राजीनामा गराएर संसद छिराउनेदेखि पूर्वी रुकुम, बर्दिया, ललितपुरहुँदै बाँकेसम्म उनलाई घुमाइएको छ । मौका र अवसर मिलेको खण्डमा प्रतिनिधि सभामा बसेर काम गर्ने चाहना बामदेवलाई पनि हुनसक्छ । पार्टीको स्थायी कमिटीमा पनि यस विषयको प्रवेश हुनसक्छ । उनले केही सञ्चारमाध्यममा त्यस्तो चाहना स्वभाविक नै भनेका छन् । तर, के मिडियाले घुमाएका प्रत्येक जिल्लामा बामदेवको चाहना हो त ?

कम्युनिस्ट एकता र ताकतबाट दुई तिहाईको सरकार बनाएर स्थायी रूपमा मुलुकको विकास गर्न सकिन्छ भन्ने मान्यता बामदेवकै थियो । बामदेव आफैं हारेर पनि मुलुकमा कम्युनिस्टको बहुमत बनाउनेमात्र होइन, दुई धारमा रहेका तर एकीकृत हुन नसकेका एमाले र माओवादी केन्द्रको एकीकरण गराउने सुत्राधार पनि हुन् । अहिले उनलाई प्रतिनिधि सभामा छिराउने नाममा कहिले यो जिल्ला र कहिले उ जिल्लाबाट चुनाव उठ्न लागेको भन्दै ‘कमेडी पात्र’ बनाइएको छ ।

आफैं हारेर पनि पार्टी र देशलाई जिताउन सकिन्छ भन्ने विषयमा उनी मानक बनेका छन् । जसरी संविधानसभाको पहिलो निर्वाचनमा बाहलवाला गृहमन्त्री हुँदा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पराजय भोगेका थिए । बामदेव पनि त्यहि संयोगको शिकारमा परेका हुन् ।

‘उहाँले आउन चाहेको खण्डमा जसरी पनि आउने ठाउँ छन् । तर राजनीतिको पनि एउटा व्यवाहारिक पाटो हुन्छ । कसैलाई हराएर होइन, सबैलाई जिताएर उहाँलाई ल्याउने सहमतिको विषय एउटा हुनसक्छ’, नेपाल कम्युनिस्ट पार्टीका एकजना नेताले भन्छन्,‘तर यहाँबाट उठ्ने त्यहाँबाट उठ्ने भन्ने अतिरञ्जनाका पात्र त बनाउन भएन नि !’

बामदेवको ओजन कम्युनिस्ट राजनीतिमा भारी छ । लामो समयको कसरतपछि दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरणको तहसम्म ल्याउन भुमिका निर्वाह गरे । हरेक तह र तप्काको समस्या समाधानका लागि पनि उनी सक्रिय छन् । कम्युनिस्ट पार्टीको गठजोड हुँदामात्र बनेको ‘समृद्धिको खाका तयार पार्ने समिति’को जिम्मेवारी उनले त्यसै पाएका पनि थिएनन् ।

‘उहाँमाथिको विश्वासमात्र होइन, आधारशुत्र पनि भएका कारणले यति ठूलो जिम्मेवारी पाउनु भएको थियो । यसमा नेकपाका अध्यक्षद्वय प्रस्ट हुनुहुन्छ’, ति नेता थप्छन्,‘उहाँहरूले प्रतिनिधि सभामा ल्याउने सोच राख्नासाथ बामदेव आइहाल्ने वा खुट्टा उचालिहालेको भन्ने विषय अहिलेको प्रधान होइन ।’

कम्युनिस्ट पार्टीमा बामदेव एउटा गतिलो फ्याक्टर पनि हुन् । त्यसको पृष्ठभुमि उनको राजनीतिक समिकरणले पुष्टि गरेकै थियो ।

एमालेभित्रको समिकरणको राजनीतिमा बामदेव फ्याक्टर आफैंमा बलियो थियो । उनीसँगको सहकार्यका कारण नै तत्कालिन एमालेको आठौं र नवौं महाधिवेशनमा नेतृत्व पक्का भएको थियो । बामदेवको सहयोग र साथका कारणले नै आठौं महाधिवेशनमा झलनाथ खनालले अध्यक्षमा जित निकालेका थिए भने नवौं महाधिवेशनमा हालका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व लिन पाए । त्यसैले पनि कम्युनिस्ट राजनीतिमा ‘बामदेव ताकत’ साधारण होइन । राजनीतिक बल र चाहना नै राख्ने हो भने पूर्वएमालेभित्र उनकै खेमाका कतिपय नेताले चुनाव जितेका छन् । त्यहाँ राजीनामा गराएर पनि उठ्न सक्छन् ।

उनका लागि अहिले प्रतिनिधि सभा छिर्ने हतारो आफैंभन्दा बढी अरुलाई भएको भान हुन्छ । एउटा प्रतिष्ठित नेताका लागि प्रतिनिधि सभा छिर्ने सन्दर्भ आउने चुनाव पनि छ । र, यसैबेला उठ्ने चाहना राखेको खण्डमा पनि छाड्नका लागि अन्य नेता तयार हुनुपर्छ, हुन्छन् पनि ।

प्रतिक्रिया
सम्बन्धित