शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

सरकारलाई अवहेलनाको कारवाही गर्ने सर्वाेच्चको चेतावनी

दैनिक नेपाल २०७५ भदौ २९ गते १८:०५


काठमाडौँ, २९ भदौ । सर्वाेच्च अदालतले सरकारलाई अवहेलनाको कारवाही गर्ने चेतावनी दिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरिएको भन्दै सरकारलाई कडा चेतावनी दिएको हो ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८ को उपधारा ४ अनुसार अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको छ ।

सर्वाेच्चले चौथो पटक विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई बिनासर्त रिहा गर्न आदेश पनि सुनाएको छ । सरकारले पक्राउ गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने र सर्वोच्चले रिहा गर्ने आदेश दिने गरेको छ । उक्त आदेशलगत्तै पक्राउ परेका छुट्छन र परिसरबाहिर निस्कनासाथ प्रहरीले पक्राउ गर्छ ।

हालसम्म प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट र दाङमा विभिन्न अभियोगमा म्याद थप गर्दै थुनामा राख्दै आइएको छ । म्यादी प्रहरीको ज्यान मारेको अभियोगदेखि क्रसर उद्योगमा आगजनी गरेको र चन्दा असुली गर्दै लुटपाट मच्चाएको सम्मको आरोप उनीमाथि छ ।

पछिल्लो पटक सर्वाेच्चले भदौ १८ गते रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई सम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतकै रोहबरमा छाड्न भनेको थियो ।

शुक्रबार पनि सर्वोच्चले मुद्दाको अनुसन्धान गरी पर्याप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै उनलाई रिहा गर्न भनेको छ । अर्को मुद्दामा नेकपाकी केन्द्रीय सदस्य उमा भुजेललाई पनि रिहा गर्न आदेश गरेको छ ।

पटकपटक पक्राउविरुद्ध बन्दीको आदेश अदालतबाट जारी हुने तर प्रहरीले पक्राउ गर्ने कार्य गर्दै उल्लंघन गरेकाले उनलाई थुनामुक्त गर्न सर्वोच्चले भनेको छ ।

सर्वाेच्चले नेपाल प्रहरीलाई मुलुकी संहितामा भएका व्यवस्थाहरुको समेत ख्याल गर्न यसपटक ध्यानाकर्षण गराएको छ । भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो । काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले उनलाई पुनः हिरासतमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित