शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

कारागारभित्र रहेका बालबालिकालाई पोशाक वितरण

दैनिक नेपाल २०७५ भदौ २९ गते १५:२८


गाईघाट, २९ भदौ । ५३ औँ वाल दिवसको अवसरमा कारागारमा रहेका बालबालिकालाई पोशाक वितरण गरिएको छ । शुक्रबार नेस्पेक उदयपुरले सञ्चालन गरेको निुःशल्क हटलाईन वाल हेल्पलाईन १०९८ को टोलीले पोशाक हस्तान्तरण गरेको हो ।

अभिभावकको कारण कारागार जीवन बिताउँदै आएका ३ बालबालिकाको आर्थिक अवस्था दयनीय देखिएपछि लगाउने कपडा हस्तान्तरण गरिएको नेस्पेकका महासचिव अर्जुन पोखरेलले बताए । कारागार भित्र १६ र ११/११ महिनाका बच्चा आमासँगै रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका वविता राईको १६ महिनाकी छोरी र सञ्चमाया तामाङको ११/११ महिनाका दुई छोरी छन् । आमासँग छुटाउने अवस्था नरहेपछि तीन वटै नावालकलाई कारागारमा राख्नु परेको जेलर सिताराम कार्कीले बताए ।

उनले भने, ‘नावालकको त दोष थिएन्, तर के गर्नु आमासँग छुटाएर अन्यत्र राख्ने विकल्प नभएका कारण सँगै राख्न वाध्य भयौ ।’ बाल्यकालमै जेल जीवन बिताउनु पर्ने भएकाले उनीहरुको अधिकारलाई समुचित व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागी गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सृजना दनुवारले बताइन् ।

उनले देशभर बालिका माथिको बलात्कार, हत्या जस्ता घटना बढ्दै गएकाले न्यूनिकरणका लागि सबैको सार्थक सहभागिता र सहयोग रहनु पर्ने बताइन् । त्यसैगरी गैसस महासंघका जिल्ला अध्यक्ष महेश्वरी राईले अधिकार भएर पनि परिस्थितिसँग मुकाविला गर्न सक्ने अवस्था नभएका कारण बालबालिका जेल जीवन बिताउन बाध्य भएको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले कारगार भित्रको बसाई एउटा अनुभव र भोगाई भएकाले बाँकी जीवन सहज बनाउन उनीहरुलाई प्रोत्साहन दिनु पर्ने विचार व्यक्त गरे । जेल जीवन आफैमा कष्टपूर्ण भएपनि त्यसलाई भावनात्मक रुपमा परिवर्तन गराउन सक्दा उपलब्धिमुलक हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित