शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

दशैँपछि सेयर बाँडफाँड हुने

दैनिक नेपाल २०७५ भदौ २९ गते १४:४२

दोलखा, २९ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दशैँपछि बाँडफाँड हुने भएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको सेयर भदौ २१ गतेमात्र सकिएको थियो । सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण सेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए ।

प्रवर्द्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको हो । करीब तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ ।

प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्काशन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । -रासस

प्रतिक्रिया
सम्बन्धित