आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

ओली सरकारको यस कारण घट्दै छ साख

वी.वी. श्रेष्ठ २०७५ भदौ २९ गते ११:०४

वी.वी. श्रेष्ठ

लामो समयसम्म अस्थिरताको नौ महिना सरकार वन्ने र ढल्ने गर्दा सरकारको काम कारवाही नै फितलो वनेको र देश निर्माण र विकासका लागि स्थायी सरकारको परिकल्पना गरेको आम नेपाली जनताहरू आजको दिनसम्म आईपुग्दा थप निराश बन्न पुगेका छन् । दुईतिहाई प्राप्त इतिहासको बलियो सरकार बनेको कम्युनिस्ट सरकारबाट आमजनताले आश र भरोशा राख्नु अस्वाभाविक थिएन ।

आशा र विश्वास सरकार बन्दै गर्दा जनताप्रति बनेको थियो, त्यो आशा र विश्वासमा तुषारापात भएको छ । नेपाली कांग्रेसको लामो समयसम्मको सत्तात्रासदीबाट आजित बनेको जनता कम्युनिष्ट सरकार त्यहिमाथि दुईतिहाईको सरकार जनताप्रति उत्तरदायी बन्नुभन्दा पनि अनुदार बन्दा घोर नैराश्यता हुन पुगेको छ । सरकारको यहि गतिविधिका कारण ओली सरकारको लोकप्रियता दिनप्रतिदिन खस्दै गइरहेको छ ।

सिण्डिकेट अन्त्य गर्ने मनसायका साथ अगाडि बढेको सरकार सिण्डिकेटविरुद्धका योजनामा अगाडि बढ्दा जति जनताले साथ र वाहवाही गरेको थियो, त्यति नै सरकारको पछिल्लो भूमिकाबाट विक्षिप्त बन्न पुग्यो । सिण्डिकेट अन्त्य गर्ने योजना पनि सरकारका आसेपासेका कारण कागजमा मात्र सीमित बनिदियो । भनाई र गराईमा तालेमल नहुँदा बलियो सरकारको क्षमतामाथि नै शंकाको बादल लागेको छ । सरकार केवल बोल्छ मात्र । केही पूरा गर्दैन भन्ने आभास बजेट भाषणले पनि पुष्टि गरिदिएको छ । चुनावमा कम्युनिष्टले वृद्धवृद्धासँग गरेको वाचा होस् वा अन्य कार्यक्रम, त्यो त केवल चुनावी नारा मात्र रहेको पुष्टि गरिदिएको छ । आफनो बजेट र योजनाका लागि दुरदृष्टि अगाल्न नसकेको ओली सरकार पूरक बजेटमार्फत भएपनि वृद्धभत्ता बढाउने योजनाले झन् स्खलित बनाइदियो ।

०५१ सालमा मनमोहन अधिकारीको अल्पमतको सरकारले गरेको कार्ययोजनाले मोहित आमजनता साच्चै कम्युनिष्टको बहुमतको सरकारले देशमा रोजगार, विकास र समृद्धि ल्याउने आशा र चाहना बोकेको थियो । सरकार जनताको आशा र विश्वास जोगाउनेभन्दा पनि टुटाउने योजनामा अगाडि बढिरहेको छ । कांग्रेसको लामो समयको सत्ताबाट आहत नेपाली जनता नयाँपना र विकास तथा समृद्धि हुने आशामा कम्युनिष्टलाई बहुमतको सरकार बनाइदिए । बहुमत हुँदै दुईतिहाईले बनेको सरकार त्यहि दम्भले उम्लिएर पोखियो । जुन अहिलेको अराजकताको श्रृङ्खलालाई हेर्न सकिन्छ । आमजनता के चाहन्छन भन्नेमा सरकारको ध्यान छैन । भाषणमा मात्रै विकास र समृद्धिका रटान लगाउने गरिएको छ । मन्त्रीहरू उद्घाटन र भाषणमा रम्न पुगेका छन् । संघीयता कार्यन्वयनमा गम्भीर भएर जनताको चाहना पूरा गर्नुभन्दा सस्तो लोकप्रियताले सरकारको असक्षमता प्रष्ट गरिदिएको छ ।

लेखक

तस्करीले प्रश्रय पाएको आवाज उठिरहेको सन्दर्भमा ३३ किलो सुन तस्करीको मुख्य अभियुक्त र ठूला माछा समेत समात्न सरकारले सकेन । तस्करीलाई कारवाही होइन बरु ढाकछोप र संरक्षण गर्न सक्रिय भयो । आमजनताको चासो समेत रहेको सुन तस्करीलाई कारवाही नहुनुले नेपालको कानून जनताका लागि मात्र रहेछ भन्ने प्रमाणित गरिदिएको छ । सडकमा जीविकोपार्जन र हातमुख जोर्नका लागि तरकारी बेच्ने आमजनताको तरकारी सडकमा फालेर सुशासन र समृद्धिका नारा फलाक्ने सरकार घुस्याहा, फटाहा र भष्ट्राचारीको मित बनेको छ । सुशासन र समृद्धि त केवल चुनावी भाषणका लागि मात्र रहेको सावित बनिदियो ।

साउन १० गते घरबाट निस्केकी निर्मला पन्त बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटियो । हत्याले देश नै आन्दोलित भयो । बलात्कारीलाई सजायको मागसहित भएको आन्दोलनमा एक जनाको ज्यान गयो । कयौँ जीवन मरणको दोसाँधमा छन् । बलात्कार जस्तो जघन्य अपराधमा समेत र पूरा देश नै आन्दोलित भइरहँदा समेत बलात्कारीलाई पक्रन नसकेर सरकार रमिते बनेको छ । देशको विभिन्न भागमा बलात्कारले सीमा नाघेको छ । अपराधी पक्राउ नपर्नुले सरकारको भूमिकामा नै सन्देह पैदा गरिदिएको छ । गल्ती गर्नेले सजाय पाउने आमसिद्धान्त विपरित सत्ता र शक्तिलाई नै महान सोँच्ने सरकार निर्मला पन्तको घटनाले पटाक्षेप गरिदिएको छ । सरकारभन्दा बलात्कारी बलियो रहेछ भन्ने आवाज बुलन्द बनिरहँदा पनि सरकार निरिह बनेको छ ।

चिकित्सकको आन्दोलनमा डा गोविन्द केसीलाई भजाएर स्वास्थ्य क्षेत्र जस्तो संम्वेदशील क्षेत्रमा पनि सर्वसाधारण जनताप्रति सरकार उत्तरदायी बन्न सकेन । चिकित्सकको आन्दोलनमा सधै झुकेको सरकार दुई तिहाई बहुमतको दम्भले पनि अडिन सकेन । हरेक मुद्धामा असफल सरकार कसका लागि ? जनताले सोधिरहेका छन् । सुशासन, संमृृद्धि र विकासका नारा ओकल्ने सरकारका यहि व्यवहार सच्चिएनन् भने भोलिको भविश्य के हुने भने प्रश्न उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित