शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

अमेरिकामा समुद्री आँधी फ्लोरेन्सबाट जोगिन चेतावनी

दैनिक नेपाल २०७५ भदौ २९ गते ८:४५

न्युयोर्क, २९ भदौ । अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै पुग्दै गरेको समुद्री आँधी फ्लोरेन्सका कारण धेरै मानिसको ज्यान जाने सक्ने चेतावनी दिइएको छ ।

आँधीबाटा जोगिनका लागि जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरू केही दिनदेखि सुरक्षित स्थानमा जाने क्रम चलिरहेको छ ।

अब आँधी तटीय क्षेत्रमा ठोक्किने बेला आइसकेकाले अहिलेसम्म सुरक्षित स्थानमा नगएकाहरूको ज्यान जोखिममा रहेको सरकारी अधिकारीले चेतावनी दिएका हुन् ।

संघीय आपतकालीन व्यवस्थान संस्था, फेमाले आँधीका कारण धेरै क्षेत्रमा विनाशकारी बाढी आउने सक्ने बताएको छ ।

नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियासहितका १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

नर्थ क्यारोलिनाको तटीय क्षेत्रमा तीव्र गतिको हावा चल्ने तथा ठूलो पानी पर्ने क्रम सुरु भइसकेको छ । यसले गर्दा बाढी आउन पनि थालेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार नर्थ क्यारोलिनाका ११ हजार भन्दा बढी घरमा बिद्युत आपूर्ति बन्द भइसकेको छ ।

नेपाली समय अनुसार बिहान पौने तीन बजेको समयमा फ्लोरेन्स आँधी साउथ क्यारोलिनाको पूर्वी तटीय क्षेत्रमा रहेको मेर्टल बिच भन्दा २५० किलोमिटर मात्रै पर थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा पहिरोसहितका विपद आउन थाल्ने बताइएको छ ।

फ्लोरेन्स आँधीलाई क्याटगोरी टू मा झारिएको छ । यसको हावाको गति अहिले १६५ किलोमिटर प्रतिघण्टा रहेको छ । फ्लोरेन्सका कारण आउने बाढीको पानीको सतह चार मिटरसम्म हुने बताइएको छ ।

अहिलेसम्म १४ सय भन्दा बढी उडान रद्द गरिएका छन् । जर्जिया, मेरिल्याण्ड, भर्जिनियासहितका राज्यमा आपतकाल पनि घोषणा गरिएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित