शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

उच्च पदस्थहरुले विदेशमा उपचार गरेको खर्च राज्यबाट नपाउने

दैनिक नेपाल २०७५ भदौ २८ गते १३:३१


काठमाडौँ, २८ भदौ । उच्च पदस्थ व्यक्तिहरुले अब विदेशमा उपचार गरेको खर्च राज्यको तर्फबाट नपाउने भएका छन् । राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने भएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने धारा थपेको हो ।

परिमार्जित विधेयक संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ । सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा विधेयकमा उपचार खर्चसम्बन्धी कुनै प्रावधान थिएन ।

तर, कांग्रेस सांसद गगन थापाले विदेशमा गरिने उपचारको खर्च व्यहोर्न नहुने संशोधन राखेका थिए भने नेकपाका सांसद खगराज अधिकारीले मेडिकल काउन्सिलको सिफारिसमा मात्र उपचार खर्च दिने व्यवस्था राख्ने संशोधन हालेका थिए ।

तर, समितिले एक कदम अगाडि बढेर प्रचलित कानुनमा जे व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा विधेयकमा थप गरेको हो ।

विधेयक संसदबाट पनि पारित भई प्रमाणीकरण भएमा विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन । यसबाट राज्यको करोडौँ रुपैयाँ बचत हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित