शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

न्यायका कठोर ‘धुरी’ : निर्मलाका बाबु यज्ञराजले न्याय किन्न सक्लान् ?

विनोद ढकाल २०७५ भदौ २७ गते १२:०४

-विनोद ढकाल

जहाँ न्याय हुँदैन त्यहाँ स्वतन्त्रता अर्थहिन हुन्छ । स्वतन्त्रताका चर्का भाषणबाजहरूलाई थाहा छ तिनले गरेको पापको कर्म । गणतन्त्र ल्याउनका निम्ति उनले नेतृत्व गरी आन्दोलन गराएको घमन्ड पाल्छन् तर हजारौं गरिबका छोराहरूले बगाएको रगतको अवमुल्यन गरी नवधनाड्यहरूको ढाल बनी उभिरहेका छन् ।

शरिरमा छर्रा र मनमा भावुकताका झर्रा लिएर बाँचीरहेको विगतले गणतन्त्र बालुवाटार, बालकोट, बुढानिलकण्ठ र खुमलटारतिर मात्र आएको देख्छ । त्यहाँ मुस्कानको फोहरा छुटेको छ, आर्थिक हैसियतले सीमा नाघेको छ, शक्तिको झुकाव त्यहिँ छ । न्याय त्यतै कतै बन्दी बनाएर राखिएको छ । त्यो बन्दी न्याय तल्लो तहसम्म नआउँदा तिनले खोक्ने स्वतन्त्रताको अर्थ पँखेटा काटेको चरी जस्तै हो– किनभने चरी त हो तर बिचरी !

नयाँ नयाँ कानुनका व्याख्या हुन थालेका छन् । जो बोल्छ उसको मुख थुन्न सक्ने हैसियतमा राज्य पुगेको छ । जसले लेख्छ, उसको हात काट्नसक्ने वैधानिकतामा दलहरू पुगेका छन् । जीवनभर ५ पैसाको काम नगरी आफ्ना घर र दैलोमा ढल्कुराम बनेकाहरूको आर्थिक हैसियत कसरी ह्वात्तै बढ्यो ? आफ्नै सम्पत्ति विवरण कति पुग्यो ? यो विषय उनीहरूले आत्मसमिक्षा कहिले गर्लान् ? यी कम्युनिस्ट होइनन् । ‘कमन इस्ट’ हुन् । तानाशाहका प्रतिकहरू ।

ओलीराज र प्रचण्डराज’को नमिठो पतन निर्मलाहरूको आत्माले अवश्य गर्छ । एउटी अवोध बालिकाको बलात्कारपछि हत्या भएको न्याय खोज्दा अर्का युवा प्रहरीको गोली लागि मारिए । निर्दोष दिलिपसिंह विष्टले लामो यातना पाए । छानबिन समितिका सदस्य तथ्य ओकल्दा मारिन्छु भन्ने त्रासमा छन् । गणतन्त्रमा जनताको राज हुनुपर्ने हो, पहुँचवालाको दबदबा भयो

यीनले परिवार र समर्थक देख्छन् आम सर्वसाधारणको गाथा बुझ्दैनन् । उडन्ते भाषण र फिरन्ते व्यहोराको गठजोडले मुलुकमा ह्वात्तै परिवर्तन आउँदैन । परिवर्तनको न्युनतम मान्यता न्याय हो । न्याय दिलाउन नसक्ने, त्यसलाई बन्दी बनाउने कथित ‘कमन इस्ट’हरूले बुझ्न आवश्यक छ– युगले तिनलाई जसरी ठाउँमा राख्यो, त्यसैगरी कुठाउँमा पुराउनेछ । धर्म नास्नेहरू पापका भागीदार हुन्छन् । तिनका लागि स्वर्गमा ठाउँ हुँदैन, नर्कले पनि धिक्कारर्छ ।  धर्मको न्युनतम मान्यता न्याय दिलाउनसक्नुपर्छ भन्ने हुन्छ । त्यसैले ग्रन्थहरूमा भनिने धर्मयुद्धको अर्थ न्यायका लागि युद्ध हो । विगुल फुकेर महेन्द्रनगरले गरेको युद्ध अझ जटिल नबनिदियोस् ।

अवोधहरूले खोजीरहेको न्यायको हत्या जति तिव्रताका साथ भइरहन्छ त्यसले नयाँ विद्रोहको धारणा जन्माइरहेको हुन्छ । न्याय नपाएको, महँगीको भारमा थिचिएको पसिनाले निरन्तर विद्रोहको मार्ग खोजीरहेको हुन्छ ।

विनोद ढकाल

‘ओलीराज र प्रचण्डराज’को नमिठो पतन निर्मलाहरूको आत्माले अवश्य गर्छ । एउटी अवोध बालिकाको बलात्कारपछि हत्या भएको न्याय खोज्दा अर्का युवा प्रहरीको गोली लागि मारिए । निर्दोष दिलिपसिंह विष्टले लामो यातना पाए । छानबिन समितिका सदस्य तथ्य ओकल्दा मारिन्छु भन्ने त्रासमा छन् । गणतन्त्रमा जनताको राज हुनुपर्ने हो, पहुँचवालाको दबदबा भयो । गणतन्त्र नेता, प्रशासकका छोराछोरी र लगानीकर्तालाई मात्र आएको छ । कानुन, गरिबका छोराछोरीमाथि लाद्ने र नेता, तिनका आफन्तले रत्यौली खेल्ने कागजको कात्रो बनेको छ । यो स्थितिमा सुधार नल्याउने र बेथिति जारी राख्ने हो भने पतनलाई कसैले रोक्न सक्तैन ।

स्तब्ध त्यतिबेला भइन्छ जब चटपटे बेचेर गुजारा चलाइरहेको आम साधारण जनताकी बच्चीको निर्मम हत्या शक्तिको छायाँमा दबाउने कोशिश हुन्छ । महेन्द्रनगरको परिवेश, सामाजिक संरचना र भु–बनोटका विषयमा जानकार नभए पनि घटनाका फेहरिस्त र त्यसले देखाएका परिणामहरू, तथ्यहरूले आँकलन गर्न सकिन्छ कि न्यायको गला कसरी निमोठिन्छ । निर्मला एउटी प्रतिनिधि पात्र भइन्, जसको न्यायका निम्ति एउटा सहरले रगतको पनि प्रवाह गरेन ।

यो देशमा गरिबका लागि न्याय र मुक्ति हुन्छ भन्ने मान्यतामा नै गणतन्त्र स्वीकार गरी जनप्रतिनिधिलाई जिताइएको हो । निर्वाचन स्वीकार गरिएको हो । यस्तो निर्वाचनले कुनै आमुख अध्यक्षको कोठा सजाउन करोडौं, गाडी धुन लाखौं खर्च भइरहेको छ । उनको मुट्ठीमा बन्द रहेको न्यायले खुला गाउँ र सहरमा प्रवेश पाउन सकेको छैन । यस्तो बलात् मानसिकतामाझ हुर्किएको लोकतन्त्रको अभ्यास कहाँसम्म जान्छ ? तिनले निर्मलाहरूमाथि भएको भौतिक बलात्कारमा परिवारलाई प्रताडना दिने काम मात्र गरेनन्, न्यायकै बलात्कार गरेको तस्बिर र चित्कार प्रस्ट देखिन्छ ।

हिजो आन्दोलनको अहम् समयमा गोरु काटेर खुवाउनका लागि पनि आमुख जनता चाहियो । खसी काटेर खुवाउने आमुख जनताले अहिले मौका र न्याय माग्छन् । तर, गणतन्त्र प्रचण्ड, ओलीका वरिपरि भुनभुनाउने कथित नातेदारले मात्र उपभोग गरेका छन् । बाँकी जनताले कर, महँगी र बेरोजगारी भन्दा केही पाएका छैनन् ।

यस्तो मुलुकमा न्याय खरिद गर्न सक्ने ‘धनी’ आम साधारण हुन सक्छन् ? अझ, निर्मलाका बाबुआमाले त्यो न्याय काठमाडौंमा किन्न सक्लान् ? नेताले न्यायको मोल कति राख्लान् ? अनेक प्रश्नहरू स्वभाविक बन्दै जानेछन् । शताव्दी अघि राणाका धुरीमा मात्र देखिने न्यायनिसाफ कता–कताका धुरीमा पुगेर पाइने हो ? यो सतहको तथ्यमाथि एकपटक  घोत्लिनै पर्छ

आश, न्यायको थियो त्यसको पनि गला दबाउन यीनकै वरिपरि घुम्नेहरूको ठूलो भूमिका छ । सुन तस्करीदेखि नुन ढुवानीकर्तासम्मको सिधा पहुँच छ । अपराधका अनेक छेस्काहरू यहिबीचका तथाकथित व्यापारीहरू, राजनीतिज्ञहरूले बोकेर हिँडेका छन् । अनि न्याय कहाँ पाइन्छ ?

जसले धर्मको विनाश गर्छ, उसको पतन दुखदायी हुन्छ । नमिठो पतन हुन्छ । परिवारवादमा रुमल्लिएकाहरूले अवसरका ढोका आम जनमानसका लागि होइन, आफन्तका लागि खोलेका तथ्य सतहमा छन् । त्यस अवसरको उपभोगका लागि गरिएको दलीय हत्कण्डाका कथा दन्त्यकथामा परिणत भइसकेका छैनन् । साधारण नागरिकको भोकको क्षेत्रफल ननाप्ने तर देश लुट्नेहरूको उपहारमा रमाउने राजनीतिज्ञले विर्सिन थालेका छन्, विगत रगतको बाटोमा थियो भन्ने ।

यहि भुलभुलैयाले जनतालाई थकित बनाइसकेको छ । हरेक दशकमा संघर्ष गर्नका लागि नथाकेको नेपाली जमातले देखेका स्वतन्त्रताका अनेक चरणको पतनको कारण पनि यस्तै अव्यवस्था नै थियो । अब पनि संघर्ष हुँदैन भन्ने भ्रम पाल्नु गल्ती हुनेछ । संघर्ष खाँचो भइसकेको छ । किनभने न्याय जनताको दैलोसम्म पुग्न सकेको छैन, नेताको दैलोमा नै छ भन्ने आभाष त काठमाडौं उत्रिएका निर्मला पन्तका बाबु यज्ञराज र आमाको विवश आँखाले देखाइसकेको छ ।

त्यो घाउ पुर्नका लागि दिएको ‘१० लाख’को के मोल भयो र न्यायको घाँटी थिचेपछि ? राजा राम शाहको पालामा एउटा भनाई बनेको थियो– न्याय नपाए गोरखा जानू ! त्यहि न्यायको आभाष हुन्छ भन्ने हेतुले नै रामशाह पथमा सर्वोच्च अदालत खडा छ । त्यहाँ पनि न्यायको मोलमोलाई हुन्छ भन्ने संसदीय सुनुवाईका क्रममा श्रीमान् ओमप्रकाश मिश्रले भनिसकेका छन् । त्यसलाई रोक्ने प्रण पनि गरेका छन् ।

यस्तो मुलुकमा न्याय खरिद गर्न सक्ने ‘धनी’ आम साधारण हुन सक्छन् ? अझ, निर्मलाका बाबुआमाले त्यो न्याय काठमाडौंमा किन्न सक्लान् ? नेताले न्यायको मोल कति राख्लान् ? अनेक प्रश्नहरू स्वभाविक बन्दै जानेछन् । शताव्दी अघि राणाका धुरीमा मात्र देखिने न्यायनिसाफ कता–कताका धुरीमा पुगेर पाइने हो ? यो सतहको तथ्यमाथि एकपटक  घोत्लिनै पर्छ ।

प्रतिक्रिया
सम्बन्धित