शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

यी हुन् गर्भवती श्रीमती र दुई छोरीको हत्या गर्ने अमेरिकन

दैनिक नेपाल २०७५ भदौ ५ गते ८:३८

न्युयोर्क, ५ भदौ । अमेरिकाको क्लोराडोका एक व्यक्तिले आफ्नी गर्भवती श्रीमती र दुई छोरीको हत्या गरेको आरोप लागेको छ । उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

३३ वर्षीय क्रिस वाट्सले दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा स्थानीय अदालतमा मुद्दा दर्ता गरिएको हो

क्रिसले ३४ वर्षकी श्रीमती शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी अँठ्याएर हत्या गरेको जनाइएको छ ।

क्रिसले श्रीमतीसँग आफू छुट्टिन चाहेको बताएपछि परिवारका सबै सदस्यको हत्या गरेको बीबीसीले जनाएको छ ।

क्रिसले प्रहरीसँग आफूले क्रोधमा आएर हत्या गरेको स्वीकार गरेका छन् । क्रिसलाई मंगलबार अदालतमा प्रस्तुत गरिनेछ । उनले फ्रेडिरिकमा रहेको घरमै श्रीमती र छोरीहरूको हत्या गरेका हुन् । क्रिसले हत्यापछि शव पुरेका थिए ।

प्रहरीले गएको बिहीबार शानन वाट्सको शव क्रिसले काम गर्ने पेट्रोलियम कम्पनीको तेल ट्यांक नजिक गाडिएको अवस्थामा भेट्टाएको थियो । बेला र सेलेस्टरको शव पनि आमाको शव नजिकै भेट्टिएको थियो । शानन १५ हप्ताकी गर्भवती थिइन् ।

क्रिस पछिल्लो समय आफूले काम गर्ने ठाउँकी एक महिलासँग प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ । तर उनले यो कुरा अस्वीकार गर्दै आएका छन् ।

सोमबार शानन एरिजोनामा व्यवसायिक भ्रमण सकेर घर फर्किएकी थिइन् । क्रिसले त्यसपछि आफूले सम्बन्ध बिच्छेद चाहेको बताएका थिए । उनले सम्बन्ध बिच्छेद प्रक्रियाको अगुवाई गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित