शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

विचौलियाको नियन्त्रणमा सरकारी टोली !, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ

दैनिक नेपाल २०७५ भदौ ४ गते १२:४७

फाइल तस्वीर

काठमाडौँ, ४ भदौ । कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा पक्राउ परेका छन् । अनुगमनमा गएका सरकारी टोलीलाई नियन्त्रणमा लिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष खतिवडालाई पक्राउ गरेपछि बजार क्षेत्रका व्यवसायीहरु भने तितरवितर भएका छन् ।

सोमबार बिहान अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको सरकारी टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका थिए । कालिमाटीमा करिब एक दर्जनको संख्यामा रहेका उपसचिवसहितको अनुगमन टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले बजारभित्रै थुनेर राखेका थिए ।

अनुगमन टोलीले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसँग अनुरोध गरेपछि बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको थियो । बिहान करिब ३ बजे कालिमाटी फलफूल तथा तरकारी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोली अनुगमनका लागि पुगेको थियो ।

तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित पुगेको टोलीले बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रकसमेत नियन्त्रणमा लिएको थियो ।

दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ । महानगरीय प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ ।

तरकारी बोकेका ट्रक र चालकलाई पक्राउ गरिएपछि व्यवसायीहरुले अनुगमन कार्यमा अवरोध गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित