शुक्रबार, ५ असोज २०७५
DainikNepal.com
शुक्रबार, ५ असोज २०७५

डिएसपी विष्ट सरुवापछि चलेको बामदेव फर्किने चर्चा

दैनिक नेपाल २०७५ भदौ ३ गते १३:०७

काठमाडौं, ३ भदौ । डोल्पा जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा डिएसपी अवधेश विष्टलाई पठाउनासाथ नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमको संसद छिर्ने चर्चा बलियो भयो ।

१६ साउनमा प्रहरी नायव उपरीक्षकको सरुवा गरिँदासमेत गौतमले डोल्पामा चासो देखाउनुको कारण त्यहि थियो । ०६५ र ०७० मा गौतम उपप्रधान तथा गृहमन्त्री हुँदा अंगरक्षक रहेका विष्ट महानगरीय प्रहरी कार्यालय परिचालन कक्षमा थिए ।

विष्टको सरुवालाई गौतमको चुनावी माहौल मिलाउनेमात्रै होइन, चुनावै गौतमको पक्षमा पार्नेगरी पठाइएको चर्चा राजनीतिक वृत्तमा व्यापक मात्र छैन, लगभग संसद छिरी सकेको ठहर गरिएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणको मुख्य सुत्राधार समेत रहेका गौतमलाई संसद छिराउनका लागि नेकपाका दुवै अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले इच्छा देखाइसकेका छन् ।

गौतमले नै भनेका छन्,‘प्रतिनिधि सभामा मेरो आवश्यकता देखेर अध्यक्षहरू तात्नु भएको छ ।वास्तवमा नहार्नुपर्ने मान्छे पराजयका कारण संसद छिर्न पाइन तर मेरो आवश्यकता छ ।’

गएको प्रतिनिधि सभा निर्वाचनमा उनी बर्दिया–१ बाट पराजित भएका थिए ।

गठबन्धनमा चुनाव लडेर बाम लहर छाएका बेला गठजोडका सेतुकै पराजयले नेकपा नेताको दाँतमा ढुंगो लागेजस्तो भएको थियो । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठानबाट जीत निकालेका गौतमको बर्दिया पराजयले ओली पनि छक्क परेका थिए ।

त्यसो त प्रचण्डले एकीकरण पछि गौतमलाई पूर्वमाओवादीले जितेको ठाउँमा राजीनामा गराएर उपनिर्वाचनमार्फत जिताएर ल्याउने आश्वासन दिएका थिए । उक्त आश्वासनबारे गौतम खुलेरै बोल्न थालेका छन् । नेकपा सचिवालयले अनुमोदन गर्नासाथ गौतम उप निर्वाचनमार्फत प्रतिनिधि सभा सदस्यका रूपमा संघीय संसद छिर्ने तयारीमा छन् ।

बामदेवलाई संसद छिराउनका लागि मुख्य दुई निर्वाचन क्षेत्र ताकिएको छ ।

पूर्वडीआईजी नवराज सिलवाल निर्वा्चित ललितपुर–१ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा निर्वाचित डोल्पा । डोल्पामा ७७ प्रतिशत मत कम्युनिस्टको छ ।

डिएसपी विष्टलाई डोल्पा पठाइसकेको हिसाबले बामदेव कुनै पनि अर्थमा सोही क्षेत्रबाट निर्वाचित हुने सोचमा छन् । त्यसका लागि १५ भदौमा बुढालाई राजीनामा गराएर २२ असोजमा उपनिर्वाचनका लागि निर्वाचन आयोगसँग छलफल भइसकेको बताइन्छ ।

ठूलीभेरी नगरपालिकाको केन्द्र सदरमुकाम दुनैमै राख्ने कि जुफाल सार्ने भन्नेमा त्यहाँको जनमत विभाजित छ । यस्तोमा दुनैको पक्षमा रहेका बुढाले अगाडि सार्ने उम्मेदवारको भोट प्रभावित हुन सक्छ भन्ने गौतमलाई आशंका छ । अर्को, डोल्पामा राजनीतिकभन्दा व्यक्तिको प्रभाव बलियो रहेकाले पनि विष्टलाई पठाईएको हो ।

११ साउनमा साविक कर्णाली क्षेत्रका सांसद, गाउँ–नगरका प्रमुख तथा उपप्रमुख र अगुवा नेतारकार्यकर्ताको राजधानीमा भेला गरी परामर्श गरेका थिए । उनले खुलेरै भनेका छन्,‘पार्टीले भनेको खण्डमा म जुनसुकै बेला राजीनामा गर्न तयार छु ।’

बुढा ०७० को संविधानसभा निर्वाचनका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल छाडी तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनको प्रभाव कम्युनिस्टमा मात्र नभएर राप्रपाका समर्थकमा पनि रहेको बताइन्छ ।

बामदेवले राजनीतिक र प्रशासनिक बलमा चुनाव जिते पनि बुुढाको जति मत ल्याउन नसक्ने धेरैको आँकलन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित