मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

सगरमाथा सिमेन्टबाट पनि ठगी, बिक्री बन्द

दैनिक नेपाल २०७५ साउन २५ गते १२:०६

काठमाडौँ, २५ साउन । सगरमाथा सिमेन्टलाई पनि विक्रि वितरणमा रोक लगाइएको छ । घोराही सिमेन्टबाट उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ भएको घटना सार्वजनिक भएपछि परिक्षण प्रतिवेदन नआउदासम्म विक्री वितरणमा रोक लगाइएको हो ।

विहीबार गुणस्तर तथा नाप तौल विभागले परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि उत्पादन र विक्रि वितरणमा रोक लगाउने निर्णय गरेको छ । विभागका अनुसार प्रतिवेदन सार्वजनिक हुन झन्डै एकदेखि डेढ महिनाको समय लाग्न सक्ने बताइएको छ ।

यसैगरी, गुणस्तर तथा नाप तौल विभागले दाङको घोराहीस्थित उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको नमुना परिक्षणका लागि काठमाडौँ ल्याउने भएको छ ।

विभागका निर्देशक मनोजकुमार उपाध्यायले नमुना काठमाडौँ ल्याएर परिक्षण गरिने र त्यसको प्रतिवेदन नआउँदा सम्म उत्पादन तथा विक्रि वितरणमा पूर्णरुपमा रोक लगाएको बताएका छन् । भिगालको टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते दाङको तुलसीपुर बजारमा बिक्री भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमाडौँ ल्याएर परिक्षण गर्ने जानकारी दिएको छ ।

बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा निर्माणाधिन घरहरुमा समस्या भएपछि स्थानीयले उजुरी गरेका थिए । त्यसपछिको परिक्षणबाट ओपिसीमा म्याग्नेसियम तत्व बढी देखिएको विभागले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ ३१ गते बजार अनुगमनको क्रममा सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट नमुना परिक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा पठाएको र विभागबाट ‘गुणस्तरहिन’ भएको प्रतिवेदन आएको हुँदा उद्योगको उत्पादन र विक्रि वितरण रोक्न आग्रहसहित पत्रचार गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित