मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

बलात्कारकाण्डले खाइदियो समाजकल्यामन्त्रीको पद, दिइन् राजीनामा

दैनिक नेपाल २०७५ साउन २५ गते ७:३८

पटना । भारतको उत्तरी राज्य बिहारको मुजफ्फुरपुर एक बालिका गृहमा भएको बलात्कारकाण्डका कारण विवादमा परेकी एक मन्त्रीले पदबाट राजीनामा दिएकी छन् ।

मुजफ्फरपुर बलात्कारकाण्डका मुख्य अभियुक्त ब्रजेश सिंहसँग उनका पतिको नियमित सम्पर्क रहेको खुलेपछि बिहार राज्यकी समाज कल्याण मन्त्री मन्जु बर्माले बुधबार राजीनामा दिएकी हुन् ।

यस मामिलामा उनका पति चन्द्रशेखर बर्मामाथि मुख्य आरोपी ब्रजेश सिंहसँग घनिष्ठता बनाएको आरोप थियो । बालिकाहरुमाथि बलात्कारको घटना सार्वजनिक गरिएपछि चन्द्रशेखर गायब छन् । मोबाइल कल डिटेल्स रेकर्ड बाहिरिएपछि ब्रजेश र चन्द्रशेखरबीच यस वर्ष ५ महिनामा १७ पटक टेलिफोन संवाद भएको खुलेको थियो ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा मन्त्रीका पति र मुख्य आरोपीबीच निरन्तर भेट भइरहन्थ्यो भने दिल्लीको भ्रमणमा पनि उनीहरुसँगै गएको खुलेको छ । पीडित पक्षले मन्त्री पति चन्द्रशेखर बालिका गृहमा पनि पस्ने गरेको आरोप लगाएका छन् ।

बिहारस्थित जनता दल युनाइटेडका राष्ट्रिय महासचिव केसी त्यागीले बुधवार मञ्जु वर्माले मुख्यमन्त्री नितिश कुमारलाई भेटेर राजीनामा दिएको पुष्टि गरे ।

उनले मञ्जुले पहिले नै राजीनामा दिएको भए यति धेरै तनावको अवस्था पार्टीले झेल्नु नपर्ने पनि बताएका छन् । यसभन्दाअघि सोमबार मात्रै नितिश कुमारले मञ्जु वर्माको बचाउ गरेका थिए ।

मुजफ्फरपुर बालिका गृह बलात्कार मामिलाविरुद्ध बिहार सरकारले कारबाही तीब्र बनाइरहेको छ । दुई दिनअघि सरकारले १४ जिल्लाका समाज कल्याण विभागमा कार्यरत सहायक निर्देशक र बाल संरक्षण पदाधिकारी पदमा कार्यरत अधिकारीलाई निलम्बित गरिदिएको थियो ।

मंगलवार मुजफ्फरपुर एसएसपी हरप्रीत कौरले लापरवाही गरेको भन्दै इन्स्पेक्टर विनोदकुमार सिंहलाई पनि निलम्बित गरिदिएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित