बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

दिपक मल्होत्रा : ‘शून्य दशमलव २’ प्रतिशतको बाँकी ‘शतप्रतिशत’ जीन्दगी

दैनिक नेपाल २०७५ साउन २४ गते ९:३२

काठमाडौं, २४ साउन । चिटिक्क देखिन्छन् । उनको व्यावसायको गति कतै ब्रेक र कतै गियरमा चलिरहेकै छ । जीवनको लयमा पनि उनी चुकेका छैनन् । तर, धेरथोर व्यस्त छन् । फुर्सद निकाल्ने समय पनि आउँदैछ । अझै तीन बर्ष उनी यो भागदौडबाट उम्कन पाउने छैनन्, उम्किने तयारीमा छन् ।

व्यावसायी दिपक मल्होत्राबारे कसैले भारतीय कसैले नेपाली अथवा के हो ? भन्ने विरोधाभाष चर्चा गरिरहन्छन् ।

कोही–कोही माडवारी पनि भन्छन् ।

उनकै परिभाषालाई संश्लेषण गर्ने हो भने उनी ७२ बर्षअघिका पाकिस्तानी र त्यसपछिका नेपाली हुन् । तर, उनको उमेर ५७ बर्षमात्र हो ।

उनी न भारतीय हुन् न माडवारी । उनी आफ्ना बारेमा खुल्न थाले ।

‘मेरा पुर्खा भनेको भारत र पाकिस्तान विभाजनका बेला पाकिस्तानको पन्जावबाट लखेटिएका हिन्दूहरू हुन् । १९४७ पछि काठमाडौंमा मेरा बुवाले मेरी आमासँग दोस्रो विवाह गर्नुभयो । मेरा मावली नेवार हुन्’, दिपक अझै खुल्दै गए,‘म खिचापोखरीमा जन्मिएको हुँ । मेरा जेठी आमा पटिका सन्तान अहिले पाकिस्तानमै वा अन्य कता हुनुहुन्छ होला ।’

निसन्देह दिपक एक सफल व्यावसायी हुन् । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष । प्रधानमन्त्री केपी शर्मा ओलीको गत भारत भ्रमणका बेला भ्रमण दल सदस्य पनि थिए । उनलाई यो अवसर व्यावसायमा हासिल गरेको उचाईले नै दिएको थियो ।

व्यावसायमा हात हालेको ३९ बर्ष भयो । हङकङदेखि नेपालसम्म सामान आयात गरेर थालेको व्यापारको परिधि निक्कै विशाल बनाइसकेका छन्, दिपकले । जीवनमा पैसा थुपार्नेमात्र सोच उनले कहिले पनि गरेनन् । ‘त्यस्तो सपनामात्र राखेको भए आज म नेपालको सबैभन्दा धनाड्य हुने थिएँ’, उनी भन्छन्,‘तर व्यावसाय गर्नुपर्छ, आफैंले एउटा ठूलो व्यापारीक सञ्जाल तयार पार्नुपर्छ भन्ने लक्ष्यचाहीँ लिएको थिएँ ।’

आफ्नो सोचको यात्रा थाल्ने क्रममा उनले बाबुले सुरु गरेको होटेलमा मात्रै सीमित रहने ठानेनन् । केही गर्नुपर्छ भन्ने मान्यता राखेका उनी डिसेम्बर १७, १९९७ मा पहिलो पटक हङकङ पुगेका थिए ।

सुरुका दिनमा बैंकक, सिंगापुरबाट मोटर पार्टस्लाई नेपालमा भित्राए उनले । ‘कहिले मोटरपार्टस्, कहिले भिडियो, कहिले इलेक्ट्रोनिक्स सामान ल्यायौं’, उनी आफ्नै खुट्टामा उभिँदाको समय स्मरण गर्छन्,‘२००१ भन्दा अघि विभिन्न मोवाइल ल्याउने गरेका थियौं, २००३ देखि सामसुङको ब्रान्डलाई स्थापित गर्यौं ।’

१९७९ देखि आफैं व्यावसाय थालेका उनी अहिलेसम्म व्यावसायीक र व्यक्तिगत गरी २४ भन्दा बढि देश घुमिसकेका छन् ।

रियल स्टेट र मोवाइल व्यापारले दिपकको व्यावसायीक जीवनलाई सफल बनायो । उनले धेरै थोकमा हात हाले तर सबैमा सफल हुन सकेनन् ।

पछिल्लो समय कृषिमा पनि लगानी गर्ने सोच बनाएका उनी ६० बर्षको उमेरपछि पर्यटन व्यावसायमा सामान्य चासो राखेर बाँकी जीवनलाई ‘पेन्सनर’ जसरी बस्ने इच्छा पाल्छन् ।

‘परिवारका लागि पर्याप्त समय छैन, व्यावसायको भागदौडमा निजी जिन्दगीलाई कतै विर्सिएको हो की जस्तो पनि लाग्छ । उमेरसँगै व्यावसायबाट केही फुर्सद लिने हो की भन्ने सोच बनाएको छु’, उनी जोड्छन् ।

केही विरोधाभाष, केही सफलता दिपकका जीवनमा चलिनै रहेका थिए, चलिरहेकै छन् । तर उनले लक्ष्यको सहीमार्गलाई छाडेका छैनन् । कहिलेकाहीँ एकाध घटनाले उनलाई झस्क्याउने पनि गरेको छ ।

४ मार्च, २०१५ मा टर्किस विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने क्रममा उनी छोरा डिकेश मल्होत्रासँगै थिए । अचानक विमानले रन वे छाड्यो र उनलाई बाँच्छु भन्ने आश पनि गुम्यो ।

‘त्यो २० सेकेन्डले मलाई झस्कायो’, उनी स्मरण गर्छन्,‘पशुपतिनाथको कृपाले बाँच्न सकियो त्यहि ठूलो कुरा हो तर केही पाठ पनि सिकियो ।’

तीन बर्षदेखि बाँचीरहेको यो शतप्रतिशतको जीन्दगी दीपकलाई ‘शून्य दशमलव २’ प्रतिशतको बाँकी जीवन लाग्छ । यसलाई पुष्टि गर्दै उनी थप्छन्,‘विमान दुर्घटना हुँदा त्यसका यात्रु बाँच्ने मौका नै ०.२ प्रतिशतमात्र हुन्छ भन्छन् । टर्कीको विमानमा हामी बाबुछोरा सँगै थियांै । त्यहाँबाट बाँच्नु भनेकै अहिलेको शतप्रतिशतको जीवन लाग्छ ।’

छोरासँगै मृत्युको बादल लागेको अनुहार देखेका दिपकले त्यसपछि प्रण गरे– बाबु छोरा सँगै यात्रा गर्न नहुने रहेछ । अहिले सामान्यतया अन्य कार्यक्रममा जाँदा पनि उनी छोरासँगै हिँड्दैनन् । भन्छन्,‘एउटा मात्र छोरा हो, हामीलाई केही भयो भने परिवारको संरक्षण कसले गर्छ भन्ने पनि लाग्छ । त्यसैले हामी बाबुछोरा अहिले सँगै यात्रा गर्दैनौं ।’

प्रतिक्रिया
सम्बन्धित