मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

यसकारण काँग्रेसको छटपट्टी

धनञ्जय दवाडी २०७५ साउन १९ गते १५:१८

– धनञ्जय दवाडी

प्रधानमन्त्री केपी ओली शर्मा साउन ३ गते गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै समृद्धिको सपना फेरि दोहोर्‍याएका छन् । एउटा शालीन र दृढ निश्चयी नेताका रुपमा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गरिरहँदा देशभर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विरोधमा थियो । कांग्रेस सरकारको विरोधमा आफ्नो पुर्खौली ४ तारे झन्डा र रुख चिह्न छोडेर डा. गोविन्द केसीको झन्डा उठाइरहेको थियो । इतिहासको बलियो र लोकतान्त्रिक मानिने यो दललाई एजेन्डा विहीन बनाइदिने ताकत नै केपी ओलीको मुलुकको मुहार बदल्ने दृढता हो ।

इतिहासको बलियो र लोकतान्त्रिक मानिने यो दललाई एजेन्डा विहीन बनाइदिने ताकत नै केपी ओलीको मुलुकको मुहार बदल्ने दृढता हो ।

एउटा अल्पविकसित समूहमा रहेको नवीन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको प्रधानमन्त्रीको सपना ‘समृद्ध नेपाल र सुखी नेपाली’ नै हो । यो सपना उनले प्रधानमन्त्री भएर देखेको होइन । पार्टीको नवौं महाधिवेशनले नै सपना देखाइदियो । महाधिवेशनले आधारभूत रुपमा राजनीतिक क्रान्ति सकिएको र आर्थिक क्रान्ति गर्नुपर्ने फैसला ०७० साल असारमा नै गरेको थियो । त्यही महाधिवेशनबाट पार्टी अध्यक्ष भएपछि नै प्रधानमन्त्री ओलीले संविधान निर्माण, सरकारको नेतृत्व र बर्हिगमन, निर्वाचनहरुमा ऐतिहासिक विजय र पार्टी एकता जस्ता युगिन परिघटनामा नेतृत्व प्रदान गर्दै समृद्धिको सपनामा नेपाली जनतालाई गोलबन्द परिरहेका छन् । उनले देखेको समृद्ध नेपाल बनाउने सपनामा चाहिँ कांग्रेसले अधिनायकवाद देख्दैछ ।

कांग्रेससँग यतिबेला एजेन्डा छैन । विगतमा लामो समय सत्तामा बसेको कांग्रेससँग केन्द्र, प्रदेश कतै पनि सत्ता नभएकोले उ छट्पटाएको छ । कहिले गंगामाया र कहिले गोविन्द केसी रुपि झन्डा बोक्दै छ कांग्रेस । तर, सरकारबाट दुवै झन्डा खोसिएकोपछिको पीडा भुल्न साउन १५ गते देशभरका बजारमा पाखुरा सुर्किएको छ । लामो बिरामी परेको मान्छे उठेर बस्यो भने आफन्तका अनुहारमा चमक देखिन्छ । त्यस्तै भएको छ, हिजोका सत्ताका आसेपासे, विचौलियाहरुको अनुहार कांग्रेसले फर्‍याकफुरुक गर्दा । उसो त कांग्रेसको यो आङ तन्काइ चाहिँ पार्टी भित्रको संकट पार लगाउने मेलो मात्र हो । उसले यो संकटबाट तत्काल छुट्टी पाउने मेसो देखिँदैन किनभने उसँग न नीति छ न त नेतृत्व नै ।

उसको यो छट्पट्टीले उ अलि दिन सदन छाडेर सडकमा नै रमाउन सक्छ । नेतृत्व विहीन, नीति विहीन भएर सडकमा प्रस्तुत गरेको आन्दोलन रुपि यो नृत्यले वेरोजगारहरुलाई मनोरञ्जन दिलाउने नै छ । कम्युनिस्टलाई अधिनायकवादको पगरी गुताएर गाएको यो लै बरी लै… देउवालाई कांग्रेसको सभापति बनाइरहँला तर उनको आन्दोलन चाहिँ पानीको निर्वलिया थोपामात्र हुनेछ, जुन मनसुनपछि आफैं हराएर जान्छ ।

दनियाँभरका पुँजीवादीलाई उदेक लाग्ने गरी नेपालमा कम्युनिस्ट सत्तामा छन् । यो सत्ता बन्दुकको नालबाट आएन, जनताबाट आएको हो । जनमतले दुईतिहाई सहित सत्तामा पुर्‍याएपछि कम्युनिस्टको असली परीक्षा सुरु भएको छ । उनीहरुलाई त न सिक्दैछु भन्ने अवसर छ न असफल हुने छुट । यस्तो चुनौतीपूर्ण समयमा शासन सत्तामा पुगेका कम्युनिस्टले गरिमा बढाउनुपर्छ । हाम्रो समाज माक्र्स, लेनिन वा माओको समाजभन्दा पृथक र विविधतापूर्ण छ । यस्तो अवस्थामा नेपालका कम्युनिस्टहरुले विद्रोह मात्रै होइन, निर्माणको नेतृत्व पनि कुशलताका साथ गर्न सक्छने भन्ने पुष्टि गर्नुपर्ने छ । हामीमा उच्च गरिबी, न्युन बुद्धिदर र उच्च वेरोजगारी छ । प्रतिव्यक्ति आय १४ सय डलर र निरपेक्ष गरिबीको रेखामुनि ३० प्रतिशत जनता छन् । आयत दिनप्रति दिन बढ्दो छ तर निर्यात भने घट्दो दरमा छ । परनिर्भरता अझै भारत निर्भरता बढी छ । अर्थतन्त्रमा कृषिका योगदान घट्दो छ । विप्रेषणले घरदेखि सिंहदरबारसम्म धानेको छ । उपभोग गर्ने भोग दिनु दुइगुना रात चौगुना बढ्दै छ । विगतका कमजोरीका कारण हामी यो अवस्थामा छौं । राष्ट्रिय उत्पादन बढाउन, स–साना उद्यमको विकास गरेर अघि बढ्नुपर्छ ।

कृषि उत्पादन र कृषि जन्य उद्योगका आधारमा समृद्धिको रेखा कोर्नु पर्छ । स–साना कामबाट पर्यटनको विकास गर्न सकिन्छ । आम्दानीका काममा सबैलाई जोडेर मात्रै समृद्ध नेपालको सपना पूरा गर्न सकिन्छ । व्यावसायिक कुशलता बिना समृद्धि प्राप्त हुँदैन । यसका लागि ज्ञानको उत्पादन, पुन उत्पादन र वितरणमा सरकारले योजनाबद्ध रुपमा काम गर्नु पर्छ । ज्ञान धनु हो भने वाण कुशलता हो । सपना ज्ञानबाट सुरु हुन्छ र व्यवसाय कुशलतामा निर्भर हुन्छ । समृद्ध नेपालको सपना प्रम केपी ओलीको ज्ञान र अनुभवले सिर्जित गरेको छ, यसलाई कुशलताका साथ पूरा गर्ने दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग रहेको छ । लगातारको रगडाइँँले धार निस्किए जस्तै वर्षौदेखिको संघर्षको परिणाम ‘समृद्धिको सपना’ हाम्रा अगाडि छ । बाटो हाम्रै खुट्टामा लडिबुडि गरिरहेछ । हिँड्ने हिम्मत, साहस र कुशलता हामीले विकास गर्नुपर्छ ।

एउटा आवधिक निर्वाचनमा पराजय पछि अधिनायकवादी देख्नु इतिहासलाई दुत्कार्नु चाहिँ कांग्रेसी जनले आकाश तिर फर्केर थुक्नु मात्र हो

हामी लोकतान्त्रलाई सुदृढ बनाउँदै छौं । यो नेपाली समाजको जीवनशैली बन्दैछ, संस्कारमा रुपान्तरित हुँदैछ । प्रतिपक्षी दलले आरोप लगाए जस्तो ‘अधिनायकवादी’ बाटोमा सरकार छैन । सत्ता गुमेको झोंकमा कम्युनिस्टको सहकार्यप्रति आत्माग्लानी गर्नुपर्ने देखिँदैन । सत्ता लिँदा वा सरकारमा जान सहयोगी हुँदा कम्युनिस्ट लोकतान्त्रिक पनि हुने, क्रान्तिकारी पनि हुने । एउटा आवधिक निर्वाचनमा पराजय पछि अधिनायकवादी देख्नु इतिहासलाई दुत्कार्नु चाहिँ कांग्रेसी जनले आकाश तिर फर्केर थुक्नु मात्र हो ।

लोकतन्त्रमा विधिको शासन हुन्छ । शासक हुँदैनने । सार्वभौम जनताका प्रतिनिधिहरु संविधान र कानुनका अनुशासनमा बसेर जिम्मेवारी पूरा गर्छन् । लोकतान्त्रमा पक्ष, प्रतिपक्ष र नागरिक आन्दोलन हुन्छन् । सरकारलाई जवाफदेही र जिम्मेवारी बनाउने दायित्व रचनात्मक प्रतिपक्षको हुन्छ । रचनात्मक प्रतिपक्षीले नै लोकतन्त्रलाई जनमुखी, सुशासनयुक्त बनाउन सहयोग गर्छ । बतासे एजेन्डा लिने प्रतिपक्षले समाजलाई अराजक र हिंस्रक बनाउँदैछ । हाम्रो प्रतिपक्ष आफ्नो बाटो रोज्न स्वतन्त्र छ ।

लोकतन्त्रमा सरकार बन्छ, बनाइन्छ, उसले शासन गर्छ । आवश्यक जनहितकारी नियम–कानुन बनाउने, लागु गर्ने, सेवा प्रवाह गर्ने क्षमता नै शासन हो । हामी असल शासन गर्छौ, सुशासन दिन्छौं । हाम्रा काम–कारवाही खराब हुँदा कुशासन हुन्छ । कर्मचारीतन्त्र जनताप्रति जवाफदेही भए सुशासन हुन्छ । सुशासन नभए सामेली लोकतन्त्र हुँदैन । जबसम्म सामेली लोकतन्त्रको मुद्दा कार्यान्वयन हुँदैन सुशासन कोरा भाषणमा केन्द्रित हुन्छ । सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता र सूचनामा पहुँच सामेली लोकतन्त्रका आधारभूत सर्त हुन् । के यी जिम्मेवारी कुशलताका साथ पूरा भएका छन् ? क्रोनिक्यापिट्यालिजम् आसेपासे पुँजीवाद खतरा देखिँदै छ । सायद कम्युनिस्टले यहाँ ध्यान दिनुपर्छ ।

अन्त्यमा,
हामी समृद्धिको यात्रामा छौं । वर्तमानलाई बदल्न चाहन्छौं । सर्पले सम्पूर्ण रुपमा काँचुली फेर्छ र नयाँ हुन्छ । उ बदलिएको हुन्छ । तर दाँतले विष पनि बगाउँछ, घिस्रन पनि छोड्दैन । झुसिलकीरा पनि बदलिन्छ, रंगीचंगी पुतली बन्छ र सर्र्वत्र विचरण गर्छ । हाम्रो बदलिने बाटो कुन हो ? त्यसले भविष्य निर्धारण गर्छ र वर्तमानलाई इतिहास बनाउँछ ।

लेखक नेकपाका नेता एवं गण्डकी प्रदेशका प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित