बुधबार, ७ कार्तिक २०७५
DainikNepal.com
बुधबार, ७ कार्तिक २०७५

सत्ता सक्किएका नेपाली हिरोइनहरू

दैनिक नेपाल २०७५ साउन ४ गते ११:३२

काठमाडौं । अमेरिकी अभिनेत्री लुसी बलले भनेकी छन्,‘जवान बस्ने गोप्य सुत्र भनेको इमान्दारीता साथ विस्तारै खानुस् र उमेरबारे झूठ बोल्नुस् ।’

नेपालमा पनि धेरै अभिनेत्रीले लुसी बलको यो भनाईलाई पछ्याएका छन् । कतिपयले त आफ्नो उमेर हाकाहाकी ढाँट्ने गरेका छन् । तर शरिरको बनोट, चाउरीएका गाला, चाम्रिएका छालाले उनीहरू सम्भावित उमेरलाई प्रस्ट्याँउछ । त्यसकारण फेन्सीले मात्र लामो समय फिल्मको सत्तामा उभिन मद्दत नगर्ने प्रस्ट भएकाले अभिनेत्री लुसीको भनाई आजको युगमा लागू नहुन सक्छ ।

जसरी अभिनेत्रीको उमेर ढल्किँदै जान्छ, पारिवारिक जीवनमा परिवर्तन हुँदै जान्छ त्यसरी नै उनीहरूबाट हुकुमतको फिल्मी सत्ताबाट विस्तारै बहिर्गमन निश्चित छ । उनलाई प्रतिस्थापित गर्न नयाँ पुस्ता हावी हुन्छ नै । अभिनेताको हकमा भन्दा अभिनेत्रीका लागि यस्तो समयचक्र चाँडो आउने गर्छ । त्यसैले अभिनेताहरूले भन्छन्,‘एउटै अभिनेत्रीले बहिनी, प्रेमिका, पत्नी र आमाको भुमिका निर्वाह गरिसकेपछि मात्र हिरोको उमेर पत्तो लाग्छ ।’

नेपाली फिल्म उद्योगको ५० वर्षको दौरानमा यसरी सत्ता कायम राखेर गुमाउने केही अभिनेत्रीहरू छन् । जसको चर्चा स्वभाविक हुन्छ ।

फिल्म सन्तानबाट रजतपटमा डेब्यु गरेकी अभिनेत्री करिश्मा मानन्धरले फिल्म दुनियाँमा आएको तीन दशकको पहिलो दुई दशक सत्ता हत्याइन् । अभिनयसँगै निर्मात्री र निर्देशनको पनि सोख पालेकी उनले एकाध फिल्ममा अहिले पनि अभिनय छाडेकी छैनन् । सत्ता हस्तान्तरणसहित पुस्तान्तरणमा पनि उनी अब्बल ठहर भइन् । उनले छोरी कविता मानन्धरलाई फिल्ममा अनुबन्धन हुने अनुमति पनि दिइन् । उनको युग समाप्त भए पनि अवशेष समाप्त भएको छैन ।

सिंगल थिएटर कव्जा गरेका छविराज ओझाको ‘प्रियतम्’ कालसम्म रेखा थापाले नेपाली फिल्ममा एउटा सत्ता जमाइन् । उमेर बढ्दै गयो, विचार परिस्कृत हुँदै गएपछि छविसँगमात्र उनको सम्बन्ध विच्छेद भएन, सिंगल थिएटरभन्दा मल्टिप्लेक्स चल्न थालेपछि दर्शकसँग पनि उनको सम्बन्ध टाढा हुँदै गयो । आधुनिक पुस्ता रेखालाई अभिनेत्री मान्न तयार छ तर चर्चित अभिनेत्री भन्न तयार छैन । अब, रेखा पछि ३५ मास्तिर उकालो लागेका कारणले उनको युग समाप्त भइसकेको छ । यसका पछिल्ला उदाहरण उनले निर्माण गरेका फिल्मका असफलता मात्रै होइनन्, फिल्मभित्रका ‘रेखा अराजकता’ भएको ठान्छन् समिक्षकहरू ।

कतिपय अभिनेत्रीको जगजगी चल्दाचल्दै उनका उमेर र वैयक्तिक सम्बन्धले एउटा युगको अन्त्य भएको परोक्ष घोषणा हुन्छ । अभिनेत्री प्रियंका कार्कीको जारी फिल्म सत्ताच्युतको परोक्ष कारण उनको ‘इन्गेजमेन्ट’ बनेको छ । उनले अघिल्लो साता आफूभन्दा निक्कै कान्छा अभिनेता आयुष्मान देशराज जोशीसँग लगन गाँठो बाँध्ने निधो गरिन् ।

वैवाहिक जीवनमा गाँसिनासाथ उनको फिल्म करिअर त बाँकी रहला तर जगजगी समाप्त हुने विषयमा दुईमत नरहेको ठान्छन् फिल्म पण्डितहरू । प्रियंकाले पनि अमेरिकाबाट फर्किएको १० वर्ष नेपाली फिल्मका पुराना र नयाँ धारमा उपस्थिति बलियो बनाइन् । कति फिल्म फ्लप भए तर उनी हिट भइन् । जति ढाँटे पनि अब उनको उमेर र फिल्मभित्रको विताएको समयको योगले उनलाई नपत्याउने निश्चित छ ।

नेपाली फिल्ममा लामो समयसम्म चलेका यीबाहेकका अभिनेत्रीहरू पनि छन् । दक्षिणा फिल्मबाट डेब्यु गरेकी निरुता सिंह, अवतारबाट आएकी जल शाह, पूजा चन्द, झरना थापाले पनि केही समय फिल्मी सत्ता कायम राखे । तर समयसँगै अभिनेत्रीहरूले उद्योगको कित्ताबाट अलग हुने र छेउमा बसेर काम गर्न बाध्य हुनुपरेको थियो । अहिले विस्तारै नयाँ अनुहारले यस्ता अभिनेत्रीलाई प्रतिस्थापन गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित