बिहीबार, ४ असोज २०७५
DainikNepal.com
बिहीबार, ४ असोज २०७५

‘केपी र प्रचण्ड मार्सी भातले समाजवाद आउँदैन’

दैनिक नेपाल २०७५ असार ३० गते १४:४९

काठमाडौं, ३० असार । १५ दिनदेखि जुम्लामा सत्याग्रह आन्दोलनमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीका समर्थकले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका केसीका समर्थकले तत्काल माग पुरा गर्न माग गरेका छन् ।

विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकारीलाई कुण्ठित पार्नेगरी सरकारले निषेधित क्षेत्र घोषणा गरेकामा केसी समर्थक आक्रोशित छन् । सोलिडारीटि फर प्रोफेसर गोविन्द केसी अभियानले गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वको सहभागीता रहेको थियो । माइतिघरदेखि सुरु भएको प्रदर्शन नयाँ वानेश्वर सभामा परिणत भएको थियो ।

विरोधमा नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा, विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापा, गायक अमृत गुरुङ, नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डाक्टर केदार नरसिंह केसीलगायत डाक्टर केसीका समर्थकहरू उपस्थित थिए ।

केसी पक्षका प्रदर्शनकारीले ‘कान खोली सुन केपी र प्रचण्ड तिम्रो मार्सी भातले समाजवाद आउँदैन, माफियामुखी ऐन चाहिँदैन’ भन्ने नारा लगाएका थिए । डाक्टर केसीको जीवन रक्षा गर, आइएम वीथ डाक्टर केसीलगायतका प्लेकार्डसहित प्रदर्शन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित