बिहीबार, ४ असोज २०७५
DainikNepal.com
बिहीबार, ४ असोज २०७५

नवलपुर अदालतमा लक्ष्य भन्दा १४ दशमलव ६२ प्रतिशत बढी मुद्दा फर्छ्यौट

दैनिक नेपाल २०७५ असार २८ गते १७:५४


-बिजय चालिसे

नवलपुर, २८ असार । नवलपुर जिल्ला अदालतले आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । मुलुक संघीय संरचनामा गएर साविकको नवलपरासी दुई जिल्लामा विभाजन भएपछि ६ महिना अघि मात्रै स्थापना भएको नवलपुर जिल्ला अदालतले लक्ष्य भन्दा १४ दशमलव ६२ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेको हो ।

१५ वर्षे रणनैतिक योजनाले वार्षिक ६० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य दिएकोमा नवलपुर अदालतले ६ महिनामै ४४ दशमलव ६२ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको हो । २०७४ मंसिर ५ गते स्थापना भएको अदालतले मंसिर ७ गतेदेखि मुद्दा दर्ता गर्ने कार्य गरेपनि माघ ३ गतेदेखि नियमित ईजलाश सुरु गरेको थियो । यो अवधिमा बिभिन्न प्रकृतिका ५६४ वटा मुद्दा फैसला भएको जिल्ला अदालतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अदालतका श्रेस्तेदार तारादत्त बडुले जानकारी दिए ।

उनले साविकको जिल्ला अदालत परासीबाट अड्डासारी भएर आएका ५ सय ८४ र नवलपुर जिल्ला अदालत स्थापना भएपछि दर्ता भएका ६ सय ५० मुद्दा गरी कुल १ हजार २ सय ३४ मुद्दामध्ये ६ महिनामा ४४ दशमलव ६२ प्रतिशत अर्थात ५ सय ६४ मुद्दा फैसला गरिएको बताए ।
श्रेस्तेदार बडुका अनुसार अब ६ सय ७० मुद्दा फर्छ्यौट हुन बाँकी छ । अदालतका श्रेस्तेदार बडुका अनुसार नवलपुरमा झण्डै ३ सय मुद्दा दर्ता हुने लक्ष्य राखिएको भएपनि मुद्दा दर्ता गर्ने क्रम ह्वात्तै बढेको हो ।

जिल्ला न्यायाधीश विदुर कोईरालाले ६ महिनाको अवधीमा गरिएको मुद्दा फर्छ्यौट अनुसार १५ वर्षे रणनैतिक योजना अन्र्तगत वार्षिक रुपमा लक्ष्य भन्दा झण्डै ३० प्रतिशत बढी मुद्दा फैसला हुने बताए । उनले संक्रमणकालिन अवस्थामा पनि आफुहरुले मुद्दा फर्छ्यौटको कामलाई प्राथमिकता दिएकाले नै लक्ष्य भन्दा बढी मुद्दा फैसला गर्न सफल भएको दावी गरे ।

अदालतमा कार्यरत न्यायाधीशसहित अधिकांश कर्मचारीहरु दरवन्दिमा कार्यरत भएपनि लक्ष्य भन्दा बढी मुद्दा फैसला हुनु नै अदालतको सफलता भएको उनको भनाई छ । न्यायाधीश कोईरालाका अनुसार मुलुकभरमा सबै भन्दा बढी मुद्दा फर्छ्यौट गर्ने सम्भवत नवलपुर जिल्ला अदालत नै हो ।

प्रतिक्रिया
सम्बन्धित