शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

नोबेल मेडिकल कलेज प्रकरण : प्रबन्ध निर्देशक शर्माले डुबाउने भएपछि चार डाक्टरको राजीनामा

लापरवाहीले भटाभट सुत्केरीको मृत्यु, प्रसुती सेवा बन्द

दैनिक नेपाल २०७५ असार २८ गते १०:३८

बायाँ सञ्चालक तथा प्रबन्ध निर्देशक सुनिल शर्मा, पृष्ठभुमीमा नोबेल मेडिकल कलेज र दायाँतर्फ गलत उपचारका कारण मृत्यु भएकी धनकुटाकी निर्मला खड्का ।

काठमाडौं, २८ असार । प्रसुती सेवामा काम गर्ने चार जना मात्रै डाक्टरले सामुहिक राजीनामा दिए पछि नोबेल मेडिकल कलेज बिराटनगरमा सुत्केरी सेवा बन्द गराइएको छ ।

आमा सुरक्षा कार्यक्रममार्फत राज्यसँग समन्वय र रकम लिएर सेवा दिनुपर्ने नोबेलले आफुखुसी कार्यक्रम बन्द गरेको हो । नोबेलमा गएको साता मात्र डाक्टरको लापरवाही र प्रबन्ध निर्देशक सुनिल शर्माको गैरजिम्मेबारीताका कारण दुई सुत्केरीको मृत्यु भएको थियो ।

प्रबन्ध निर्देशक शर्माका कारण मेडिकल कलेजसहितको अस्पतालको उपचार गर्दा पनि समस्या देखा पर्न थालेपछि डाक्टरहरूले राजीनामा दिएका हुन् । सर्वसाधारणको ज्यान जान थालेपछि तिनका आफन्तले डाक्टरमाथि जाइलाग्न सक्ने भएपछि सुरक्षाका लागि राजीनामा दिइएको बताइएको छ ।

गएको शनिबार सुनसरीको गढि गाउँपालिका–६ की चाँदनी मेहेता र शुक्रबार धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको नोबेलमा मृत्यु भएको थियो । प्रसुती भइसकेपछि सामान्य अवस्थामा रहेका दुबैको मृत्यु भएपछि आफन्तले नोबेल अस्पताल ‘ज्यानमारा’ भएको आरोप लगाएका छन् । नोबेलले विरोधलाई साम्य पार्न प्रहरीलाई हात लिएर मिलापत्र गराए पनि त्यसको रकम दिएको छैन ।

यीबाहेक पनि नोबेलमा उपचार गराउन आउने महिलाको पटक–पटक मृत्यु हुँदा नोबेल विवादबाट मुक्त हुन सकेको छैन । बिरामीको ज्यान गएको कारण अस्पतालले आफन्तलाई भन्ने गरेको छैन ।

मृतक निर्मलाका पति प्रेम खड्काका अनुसार डाक्टरले बिरामीको समस्या जानकारी नगराई शल्यक्रिया गर्दा पत्नीको ज्यान गएको हो । ‘सामान्य अवस्थाको मानिसलाई एकाएक शल्यक्रिया गर्न लैजाने अनि मृत घोषणा गरियो’, उनले भने,‘कारण पनि नभनी अस्पतालले किन यस्तो गरेको हो ?’

नोबेलमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूको प्रत्यक्ष संलग्नता रहेको पनि बताइन्छ । कांग्रेस नेता डा. शेखर कोइरालादेखि पूर्वमाओवादी नेताहरूको संलग्नता रहेका कारणले पनि प्रबन्ध निर्देशक शर्माले विवादलाई साम्य पार्न शक्ति केन्द्रको प्रयोग गर्दै आएका छन् ।

शर्मा आफैं पनि नेपाली कांग्रेसबाट चुनावी मैदानमा उठेका थिए । आफुलाई डा. उपमा लेख्ने शर्माको प्रमाणपत्र पनि नक्कली भएको बताइन्छ । शर्मा के विषयमा विशेषज्ञ हुन अहिलेसम्म खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित