आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

नेकपा जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्य हैसियतविहीन

दैनिक नेपाल २०७५ असार २८ गते ७:०७

काठमाडाैं, २८ असार । नेकपाको मोर्चा संगठनअन्तर्गत रहने जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरूको पार्टीगत हैसियत नहुने भएको छ ।

यसअघि जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि प्रस्तावित मर्यादाक्रम विधान पारित गर्ने क्रममा हटाइएकाले पार्टीभित्र उनीहरू जुन कमिटीअन्तर्गत संगठित छन्, सोही हैसियतको मर्यादामा रहनेछन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

तत्कालीन एमालेले जनसंगठनका पदाधिकारीलाई अञ्चल सदस्य सोसरह र केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सोसरहको मर्यादामा राखेको थियो ।

त्यसलाई निरन्तरता दिँदै जनसंगठनहरूले पदाधिकारीलाई प्रदेश सदस्य र केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सदस्य सोसरहको मर्यादामा राख्नुपर्ने माग गर्दै आएका थिए ।

सबै जनसंगठनहरूले विरोध गरिरहेका वेला नेकपाले विधान र नियमावली पारित गर्दा यसअघिको प्रस्तावित व्यवस्था हटाएको हो ।

जनसंगठनका पदाधिकारी र सदस्यहरू पार्टी कमिटीअन्तर्गत जो जहाँ संगठित छन्, त्यहाँ त्यही कमिटीका पदाधिकारी या सदस्यको मर्यादामा रहनेछन्,’ कार्यदलका एक सदस्यले भने ।

केन्द्रीय आयोगहरू केन्द्रीय कमिटीबाट स्वायत्त

नेकपाले केन्द्रमा गठन हुने केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग केन्द्रीय कमिटीबाट स्वायत्त रहने गरी विधानमा अधिकार सुनिश्चित गरेको छ ।

‘केन्द्रीय आयोगहरू स्वायत्त र स्वतन्त्र हुन्छन्, केन्द्रीय कमिटीप्रति नभएर महाधिवेशनप्रति जवाफदेही रहनेछन्,’ नेता गौतमले भने । त्यस्तै, आयोगका अध्यक्षहरूले स्थायी कमिटी सदस्यका रूपमा बैठकमा भाग लिन सक्नेछन् ।

सचिवहरूको मर्यादा पोलिटब्युरो सदस्य र आयोग सदस्यहरूको मर्यादा केन्द्रीय सदस्य सोसरह कायम गरिएको छ । तीनवटै आयोग एकीकरणबाट २५ सदस्यीय बनाउने विधानले व्यवस्था गरेको छ ।

यसअघि ९ सदस्यीय आयोग प्रस्ताव गरिएको, आयोगलाई केन्द्रीय कमिटीमातहत बनाउन खोजेको भन्दै नेता अमृत बोहरासहित केहीले स्थायी समिति बैठकमा असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित