बिहीबार, ४ असोज २०७५
DainikNepal.com
बिहीबार, ४ असोज २०७५

डा.गोविन्द केसीको अनसन ईगो : के होला परिणाम ?

निर्मल भट्टराई २०७५ असार २७ गते ८:१८

निर्मल भट्टराई

राज्यकोषबाट तलब भत्ता खाइरहेका डा. गोविन्द केसी चिकित्सा शिक्षासम्बन्धी केही माग राखेर पन्द्रौं अनसनमा छन् । नेपाली समुदायको एक सानो हिस्साले यो अनसनलाई नेपाली जनताको एकमात्र “सञ्जीवनी बुटी”को रुपमा लिदै चिकित्सा विधेयकलाई तयार गर्ने सरकार तथा छलफल र पारित गर्ने संसद दुबैलाई “चिकित्सा क्षेत्रका माफियाको नाइके”को रुपमा चित्रित गर्दै आएको छ । के वास्तविकता यस्तै हो ?

क) नेपालमा कति छन् निजी मेडिकल कलेज ?

नेपालमा अहिले १६ वटा निजी मेडिकल कलेजले नेपाल सरकारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छन् । यसमा नेकाका नेता कार्यकर्ता प्रमुख सञ्चालक रहेका ११ वटा निजी मेडिकल कलेज रहेका छन् । डा.ज्ञानेन्द्र बहादुर कार्की प्रमुख सञ्चालक रहेको विराट मेडिकल कलेज विराटनगर, शुशिल शर्मा प्रमुख सञ्चालक रहेको नोवल मेडिकल कलेज विराटनगर, हरिश न्यौपाने प्रमुख सञ्चालक रहेको चितवन मेडिकल कलेज चितवन, खुमा अर्याल प्रमुख सञ्चालक रहेको भैरहवा मेडिकल कलेज भैरहवा, गोपाल पोख्रेल प्रमुख सञ्चालक रहेको लुम्विनी मेडिकल कलेज पाल्पा, शुरेश कडरिया प्रमुख सञ्चालक रहेको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज, भोला रिजाल प्रमुख सञ्चालक रहेको नेपाल मेडिकल कलेज काठाण्डौ, चन्दा कार्की प्रमुख सञ्चालक रहेको काठमाण्डौ मेडिकल कलेज काठमाण्डौ, शुनिल शर्मा प्रमुख सञ्चालक रहेको पिपल्स डेण्टल कलेज काठमाण्डौ र बलमकान सिं कार्की प्रमुख सञ्चालक रहेको किष्ट मेडिकल कलेजनेपाली कांग्रेस का नेता कार्यकर्ताकको स्वामित्वमा रहेका छन् । त्यस्तै भारतीय समूहको स्वामित्वमा पुरानो मेडिकल कलेज चितवन र मणिपाल मेडिकल कलेज पोखरा रहेका छन् । त्यस्तै बसरुद्दीन अन्सारी र बुद्धिमान श्रेष्ठ प्रमुख सञ्चालक रहेको कान्तिपुर डेण्टल कलेज र प्रभु बैंकको स्वामित्वमा जानकी मेडिकल कलेज जनकपुर रहेका छन् ।

यसबाट के प्रष्ट हुन्छ भने नेपाली कांग्रेस सत्तामा हुँदा आफ्ना नेता कार्यकर्ताको स्वामित्वमा यत्तिका कलेज खुल्दा डा. गोविन्द केसीलाई कुनै टाउको दुखाई भएन । उनको टाउको दुखाई तब शुरु भयो जब नेकपाका नेता राजेन्द्र पाण्डे नेतृत्वको सहकारीद्वारा सञ्चालित मनमोहन मेडिकल कलेजलगायत नेकपाका समर्थकहरुको स्वामित्व रहेका अरु तीनवटा कलेज स्वीकृतिको पाइपलाइनमा छिरे । अनि उनको “महान” अनसन शुरु भयो । यसबाट उनको अनसन आन्दोलन कति राजनीतिक पुर्वाग्रहबाट प्रेरित छ भनेर बुझ्न गाह्रो छैन ।

ख) निजी मेडिकल कलेजमा कति विद्यार्थी ?

हालसम्म विभिन्न विश्वविद्यालयबाट स्वीकृत प्राप्तमेडिकल कलेजमा प्रत्येक बर्ष बाह्रसयको हाराहारीमा भर्ना भएको बताइएको छ । त्यस मध्ये विदेशी विद्यार्थीको संख्या ४ सय रहेको बताइन्छ । एकातिर डाक्टर र बिरामीको अनुपातलाई अन्तराष्ट्रिय मापदण्डमा पुर्याउन नेपाललाई अझै धेरै डाक्टर उत्पादन गर्नुछ भने अर्कातिर पचासौं लाख खर्च गरी विदेशमा पढेर आएकाहरुले नेपाल मेडिकल काउन्सीलको परीक्षा नै उत्तीर्ण गर्न नसकेको अवस्था छ । डाक्टर पढ्न विदेशिने विद्यार्थीबाट बर्षेनि अरबौं रुपया देश बाहिर जानबाट रोक्न र देशको आवश्यकता पुरा गर्न अझै अन्तराष्टिय स्तरका मेडिकल कलेज देशमा खुल्न आवश्यक छ । नेपाली कांग्रेसका नेता कार्यकर्ताको स्वामित्वमा एक डेढ दर्जन निजी मेडिकल कलेज खुले पछि राज्यले तोकेको मापदण्ड, ऐन, नियमभित्र बसेर मेडिकल कलेज चलाउन दिनै हुदैन भनेर यसरी अनसन र रोइलो गर्नुको कुनै औचित्य छैन । त्यहाँ पनि प्रतिस्पर्धा हुनुपर्छ, सिण्डिकेटको अन्त्य त्यहाँ पनि हुनुपर्छ । प्रतिस्पर्धाले र आवश्यकताले मेडिकल कलेजको संख्या निर्धारण गर्ने हो, अनसनले होईन ।

ग) डा. केसीको अनसनले उब्जाएका केही प्रश्न

डाक्टर जस्तो संवेदनशील पेशामा सरकारको तलब खाएर सरकारको विरुद्ध यसरी आन्दोलन गर्न डा. केसीलाई सधैं छुट हुन्छ ? डा. केसी नेपालको प्रचलित ऐन कानुनभन्दा माथि हो कि ? चिकित्सा क्षेत्रमा कस्को शासन चल्ने हो : सरकारको कि केसीको ?उनको अनसनले राष्ट्रहित गरिरहेको छ कि राष्ट्रघात ?नयाँ निजी मेडिकल कलेज खोल्न मेडिकल माफियाको चलखेल भयो भन्ने हो भने सिण्डिकेट कायम हुँदा चाहिँ कुनै चलखेल हुदैन ? चिकित्सा शिक्षामा देश आत्मनिर्भर भएर वा नेपालमा खलेका राम्रो गुणस्तरका निजी र सरकारी मेडिकल कलेजमा अन्य मुलुकबाट विद्यार्थी नेपाल भित्रिदा देशलाई फाइदा हुन्छ कि घाटा ? दुईतिहाई मत प्राप्त सरकारले चिकित्सा क्षेत्रलगायत सबै क्षेत्रमा दृढतापूर्वक जनप्रेमी दीर्घकालीन नीति निर्माण र तिनको कार्यान्वयन गर्ने कि यस्ता पात्र र प्रवृतिसंग घुँडा टेक्ने ?यो विषय समातेर प्रतिपक्षले कति दिन राजनीति गरिरहने ?देशमा कति मेडिकल कलेज चाहिन्छ भन्ने टुङ्गो राज्यले गर्ने हो कि डा. केसीले ? उनीमात्र शुद्ध सरकार र संसद सबै माफियाको चङ्गुलमा ?

घ) संभावित परिणाम

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले सरकार डा. केसीसंग विगतमा जस्तो कुनै सम्झौतागर्ने मूडमा सरकार नभएको संकेत गरेको छ । उनलाई यो अनसन विगतको भन्दा मँहगो सावित हुनेछ किनभने उनले उठाउदै आएको मुद्धा प्रतिपक्षले बोकेको हुनाले पनि सरकारको रणनीति फेरिएको सहजै अनुमान गर्न सकिन्छ । डा. केसी पनि अहिलेसम्म “बरु मर्ने तर अनसन नतोड्ने” अडानमै छन् । आफ्नो ज्यानभन्दा ईगोलाई ठूलो ठानी “आत्महत्या”को बाटो रोजेनन् भने डा.केसी अनसन आफै तोडेर आफ्नो ड्युटीमा फर्कनेछन् ।

प्रतिक्रिया
सम्बन्धित