आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

महन्थ ठाकुरलाई झट्का, यी हुन टक्कर दिने नेता

दैनिक नेपाल २०७५ असार २७ गते ७:१०

काठमाडौं, २७ असार । राजपाको प्रतिनिधिसभा संसदीय दल गठनमा विवाद भएको छ । राजपाका केही नेताले प्रतिनिधिसभा संसदीय दलको नेताको निर्वाचनमा राष्ट्रिय सभा सदस्यले पनि मतदान गर्न पाउनुपर्ने माग गरेपछि विवाद बढेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संसदीय दल गठन गर्नेबारे दलको कार्यालयमा भएको बैठकमा महेन्द्रराय यादव, अनिल झा र राजकिशोर यादवलगायत नेताले राष्ट्रिय सभा सदस्यले प्रतिनिधिसभा संसदीय दलको नेतालाई मतदान गर्न पाउनुपर्ने तर्क गरेका थिए ।

उनीहरूको यो भनाइपछि दलको बैठकले नेता चयन गर्ने प्रक्रिया अगाडि बढाउन सकेको छैन । आउँदो शनिबार थप छलफल गर्ने अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले बताए । ‘अहिले विधानमाथि छलफल जारी छ, शनिबार नेता चयनबारे टुंगो लाग्नेछ,’ यादवले नयाँ पत्रिकासँग भने ।

राष्ट्रिय सभा र प्रतिनिधिसभामा छुट्टाछुट्टै संसदीय दल हुने व्यवस्था छ । र, दुवै सदनका सांसदले आफ्नो सदनको मात्रै नेता चयनका लागि मतदान गर्न पाउँछन् ।

प्रतिनिधिसभा सदस्यमा महन्थ ठाकुर सर्वसम्मत दलको नेता हुन चाहेका छन् । मतदान हुँदा राजेन्द्र महतो हाबी हुने भएपछि ठाकुरपक्षधरले राष्ट्रिय सभा सदस्यले पनि मतदान गर्न पाउनुपर्ने तर्क गरेको राजपाका एक नेताले बताए ।

राष्ट्रिय सभामा राजपाका दुई सांसद छन् । दुईमध्ये एक महन्थ ठाकुर र अर्का महेन्द्रराय यादवनिकट सांसद हुन् । उनीहरू राजेन्द्र महतोलाई दलको नेता दिने पक्षमा छैनन् ।

प्रतिनिधिसभाका १७ सांसदमध्ये राजेन्द्र महतोको पक्षमा ९ र ठाकुरको पक्षमा ८ जना देखिएका छन् । पहिला महतोको पक्षमा ११ जना भए पनि अहिले दुईजना ठाकुरतिर लागेको स्रोतको भनाइ छ ।

त्यो अवस्थामा राष्ट्रिय सभाका दुईजना थपिए ठाकुरको पक्षमा १० जना हुनेछन् । यस्तो अवस्थामा निर्वाचन भए ठाकुर विजयी हुनेछन् । अहिले यही समीकरणका लागि खेल भइरहेको राजपा स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित