बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीनजना पक्राउ

दैनिक नेपाल २०७५ असार ७ गते १९:००

काठमाडौँ, ७ असार । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-२ बाट बिहीबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोलीले सोही ठाउँ बस्ने २६ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा निज तामाङको साथमा डाईजिपाम ७५ वटा, लुपिजेसीक ७४ वटा र एभिल ७२ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छतकुलीले जनाए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहेणी गाउँपालिका २ मैनिहवाबाट बिहीबार विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको देवदह नगरपालिका ४ बस्ने २२ वर्षिय दिनेश चौधरी र नवलपरासी जिल्लाको सुनौल नगरपालिका ७ बस्ने २९ वर्षिय मनोजकुमार थापा क्षेत्री छन् ।

गस्तीमा खटिएको एपीएफ टोलीले लु १६ प ९९२३ नम्बरको स्कूटरमा सवार निजहरुलाई जाँच गर्दा उनीहरुको साथमा नाईट्रोज ट्याब्लेट ५ वटा र स्पामो ट्याब्लेट ५ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसैबिच, बारा जिल्लाको सिम्रनगढ नगरपालिका ६ बाट बिहीबार एपीएफ टोलीले करीव ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित