बिहीबार, ४ असोज २०७५
DainikNepal.com
बिहीबार, ४ असोज २०७५

कागजको खोस्टोले रवि लामिछानेलाई परदेशी बनाउन सक्दैन

विनोद ढकाल २०७५ असार ७ गते १३:०१

-विनोद ढकाल

माफियातन्त्रका पक्षपोषकहरूले बारम्बार प्रश्न गरे– रवि लामिछानेको पक्षमा किन बोलेको ? राजनीतिक शक्तिपीठको मझेरीमा बसेर दलाली गर्नेहरूले फेरि सोधे– रवि अवैधानिक मानिस हो, उसका विरोधमा आवाज उठाऊ । दलालहरू झुन्डलाई वरिपरि राखेर राष्ट्रियता र क्रान्तिको आडम्बर विगुल फुकेर देश लुट्नेहरू क्रोधित मुद्रामा देखिए– रविको पक्षमा सामाजिक सञ्जालमा किन लेखेको ?

यी तमाम् प्रश्नहरूका लागि सामुहिक उत्तर छ मेरो । अधिक शरणार्थी पाल्ने मध्येको मेक्सिकोका एकजना लेखक कार्लोस फ्युन्टेसले भनेका छन्– तिनलाई तिमी आफैंबाट स्वीकार गर की जो तिमी र हामी जस्ता छैनन् ।

हो, यो संकेत रवि लामिछानेका लागि नै हो । मेरो उनीसँग कुनै व्यक्तिगत चिनजान, नातागोता वा कुनै पनि प्रकारको सम्बन्ध छैन । एउटा अगाध कर्तव्यपरक भावना जोडिएको छ– असल पत्रकारिता । पत्रकारिताको झन्डै दुई दशकको दौरानको नजिक–नजिक हिँड्दा धेरै पार्टीकारहरूसँग भेट भयो । कतिपय अहिले विभिन्न ठाउँका नियुक्ति र संगठनमा अभ्यस्त छन् । कतिपय दलाल, माफियाको चाकरीमा व्यस्त छन् । तर रवि त्यस्ता पात्र देखिए टेलिभिजनमा जसले ठाउँको ठाउँ पत्रकारिता, प्रशासन र राज्यलाई बेथितिबाट थितिको बाटोमा लैजान सकिन्छ भन्ने उदाहरण दिए । हो, यसकारण रविको पक्षमा बोलेको हुँ म ।

आम मानिसहरू जो प्रशासनका ठगहरू, राजनीतिक दलालहरू र भ्रष्टाचारको थाकमाथि उभिएका छन्, त्यहाँबाट घुस माग्ने, काम नगरिदिने प्रवित्तिको शिकार भएपछि गुहार्ने एउटै आयाम बनेका छन्, रवि लामिछाने । कतै काम नभए भन्छन्– रवि लामिछानेलाई भेट्न जाऔं । उनले भ्रष्टाचारी कर्मचारी पक्राउ गर्न मद्दत गरे, विदेशमा ठगिएका नेपाली चेलीको उद्दार गर्न मद्दत गरे । राज्य नपुगेको ठाउँमा उनको हिम्मत पुग्यो । एउटा उखान बदलियो कि जहाँ कवि पुगेनन्, त्यहाँ रवि पुगे र समस्याको समाधान गर्न सहज भयो । त्यसो भए रविका पक्षमा किन नबोल्ने ?

आम मानिसका नजरमा एउटा कुशल पत्रकार हुन् उनी । रविलाई कारबाही गर्नु भनेको आम मानिसको विश्वास र भावनामाथि प्रहार गर्नु नै हो, होइन भने यस विषयमा जनमत संग्रह गर्दा पनि हुन्छ ।

परिबन्धको चटारोले रविले नेपाली नागरिकता त्यागेका थिए होला तर उनले नेपाली माटोको सुगन्ध त्याग्न सकेनन् । उनका विपक्षमा उत्रिएर कानुनी मान्यता होइन, व्यवाहारिक र भावनात्मक चिन्तन देखिनुपर्छ

रविले अमेरिका बसाईका क्रममा नेपाली नागरिकता त्यागेको भन्ने आरोप आयो । मानिसका जीवनका अरोह र अवरोह अनि कानुनी कठिनाईले यस्ता दुर्भाग्य हुन्छन् । उनले नागरिकता त्यागेका भए त्यो पनि असल काम गरेका रहेछन् । रविलाई नयाँ नागरिकता दिने पहलकदमी गरौं । उनी अमेरिकाको ग्रिनकार्ड लिने व्यक्ति हुन् भने नेपाली नागरिकता त्याग्ने इमान्दार किन थिएनन् र ? नेपालको कानुनले दोहोरो नागरिकता लिने अनुमति दिएको छैन, उनले कानुन मानेछन् । यहाँ दोहोरो नागरिकता लिने, ठूला लगानी गर्ने भिमकाय तस्करहरू प्रधानमन्त्री र पार्टीका नेताको वरिपरि घुमिरहेका छन् । ठूला प्राजेक्टका लगानीकर्ता छन् । रविको नागरिकता खोज्नेले ति माफियाको नागरिकता किन नखोजेको ? कुरा नागरिकतामा अल्झिँदैन । नेपाली माटोमा जन्म लिएका इमान्दारहरूका लागि कागजको खोस्टोले निमेषमा परदेशी बनाउन सक्तैन ।

पहाडी मुलका भारतीय नागरिकलाई नेपाली देख्नेहरूले कर्मका आधारमा अगाध माया दिएकै छन् । गोपाल भुटानी नेपाली नागरिकता नपाई स्वर्गारोहण भए, अम्बर गुरुङले नेपाली नागरिकता लिए । यी तमाम उदाहरण उनका कर्मले दिएका हुन् । परिबन्धको चटारोले रविले नेपाली नागरिकता त्यागेका थिए होला तर उनले नेपाली माटोको सुगन्ध त्याग्न सकेनन् । उनका विपक्षमा उत्रिएर कानुनी मान्यता होइन, व्यवाहारिक र भावनात्मक चिन्तन देखिनुपर्छ ।

कागजको खोस्टो हो नागरिकता । हरेक जन्महरूको भुमीले त्यस देशमा रहनुको अर्थ र सुविधा तोक्छ । आफ्नै देशका नागरिकता बोकेको मधेसलाई विहार देख्ने आँखा, पेल्ने नियत भएको राज्य संयन्त्रका भ्रष्टहरूको झुन्डले रविलाई एकै पलमा परदेशी बनाएको छ । कानुनी कारबाही र प्रक्रिया आफ्ना ठाउँमा चलिरहन्छन् । राज्य यति सक्रिय हुन्थ्यो भने रविको कार्यक्रम सुरु हुँदै किन बन्द गरिएन ? जब उनले यी देशका नामुद तस्कर र देश लुट्नेहरूलाई श्रव्य, दृश्य र तस्बिरमा बारम्बार उजागर गर्न थाले, राज्य संयन्त्र चलाउने माफियाहरूले उनको परिचय खोज्यो ।

परिचय स्पस्ट छ– रविको कागज छैन होला, आत्मा नेपाली हो । भावना नेपाली हो ।

उम्दा कलम चलाउनुपर्छ भन्ने मान्यता राखेकै कारणले उनका कतिपय कार्यक्रमहरू र पत्रकारिताको भित्रि पाटोसम्म पुगेका रिपोर्ट हेरेको छु । नेपाली पत्रकारितामा ठाउँको ठाउँ प्रशासन, कानुन र कर्तव्यको ठूलो पाठ नेपालका कतिपय पत्रकारले रविबाट सिक्नुपर्ने देखिन्छ ।

रवि कागजका हिसावले परदेशी भए होला । के उनले कसैको व्यक्तिगत चरित्र हत्या गरेका छन् ? पत्रकारिताको फरक आयाममा प्रधानमन्त्रीसँग सिधा कुरा गरे, जनताका सिधा सवाल उठाए । त्यहाँबाट उनलाई नागरिकताधारी पार्टीकारिता गर्नेहरूले लगारे । उनले सिधा जनताका सवाल उठाए तिनै पार्टीकारिता गर्नेहरूले माफियातन्त्रको पक्षपोषणमा रविको कामलाई गौण र कागजको खोस्टोलाई प्रधान बनाइरहेका छन् । यहि देखेर उदेक लाग्छ । रविको काममा विश्वस्त, उनको कामको समर्थन, औचित्यता देखिन्छ भने रविले त्यागेको नागरिकता फिर्ता दिलाउने सवालमा माफियातन्त्र विरोधी उभिन सक्छन् ?

रविसँग मेरो व्यक्तिगत चिनजान छैन । पत्रकारिताका उम्दा कलम चलाउनुपर्छ भन्ने मान्यता राखेकै कारणले उनका कतिपय कार्यक्रमहरू र पत्रकारिताको भित्रि पाटोसम्म पुगेका रिपोर्ट हेरेको छु । नेपाली पत्रकारितामा ठाउँको ठाउँ प्रशासन, कानुन र कर्तव्यको ठूलो पाठ नेपालका कतिपय पत्रकारले रविबाट सिक्नुपर्ने देखिन्छ । नागरिकता भिरेर, त्यसको आडमा सूचना विभागको परिचयपत्र बोकेर मात्र पत्रकार हुँ भन्नेहरू अहिले रविको आलोचना र नागरिकताका विषयमा निरन्तर सवाल जवाफ गरिरहेका छन् ।

वैधताको प्रश्न ति अवैधानिक चिन्तन बोक्नेहरू, तस्कर र माफियालाई ज्युहजुरी गर्नेहरूले गर्न सुहाउँदैन । तमाम नेकपा, नेका पत्रकारहरूले उठाएको प्रश्नभित्र नागरिकताको वैधानिकताको सवालसँग लुकेको असक्षमता र दुराचारी संरक्षणको अभिप्राय, प्रायोजन कदाचित पनि स्वीकार्य हुने छैन ।

पत्रकारिताको पहिलो नियम उसको नागरिकता होइन, उसको व्यवाहारिकतासँग जोडिन्छ । नक्कली नागरिकता बनाएर देशका उँचो पदसम्म पुगेका मानिसहरूको पाउमा लम्पसार पर्नेहरूले रविका प्रश्नहरूमा देखेको प्रभावकारी पत्रकारिताको आलोचना गर्नु स्वभाविक हो । तर त्यहाँभित्र इश्र्या, डाहा र आफ्नो असक्षमतालाई लुकाउने प्रयत्न गरिहरेको देखिन्छ ।

पत्रकारिताको न्युनतम योग्यता पनि जनताको पक्षमा बोलिदिने हो । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गरिदिने हो । त्यसबेला नागरिकता झुन्ड्याउने चलन पार्टीकारहरूको होला, पत्रकारको हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित