शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

गगन ‘गुरिल्ला ग्याङ’की महिला ‘फाइटर’

देउवाइतर समुहमा किन सक्रिय छिन् ?

दैनिक नेपाल २०७५ असार ६ गते १४:५५

काठमाडौं, ६ असार । ७७ जिल्लाका सभापतिहरूको भेला हेटौंडामा जारी राखेको नेपाली कांग्रेसभित्र युवा नेताहरूको एउटा ‘गुरिल्ला ग्याङ’ छ । सभापति शेरबहादुर देउवाविरुद्ध विभिन्न तहबाट विधान र विचारको आक्रमण गर्ने यस ग्याङको नेतृत्व गगन थापाले गरेका छन् ।

थापासहित चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव यस ग्याङमा छन् । जसमा महिला सदस्य वा फाइटरका रूपमा किरण यादवको पनि सहभागीता छन् ।

सभापति देउवामाथि लुकीछिपी, बक्र आक्रमण गर्नका लागि यो समुह सक्रिय रहेका कारणले नै गुरिल्ला ‘ग्याङ’ भनिएको थियो । गुरिल्ला शैलीको आक्रमणका लागि यो समुहले केन्द्रीय सदस्यहरूसँग पनि अनौपचारिक रूपमा सल्लाह गरी नेतृत्व परिवर्तनको परामर्श गरेको थियो । जहाँ यादवको सहभागीता अनिवार्य थियो ।

यादव अलिक फरक चरित्रकी छन् । ४१ बर्षिया उनी मधेसको प्रतिनिधित्व त गर्छिन् तर मधेसमै आलोचित पनि भइन् । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीको तत्कालिन भ्रमणका क्रममा मधेसी समुदायको विरोधविरुद्ध बोलेकी यादव प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीविरुद्ध मैदानमा थिइन् । पराजय भोगिन् ।

पद्मकन्या क्याम्पसबाट अर्थशास्त्रमा स्नातक यादव तत्कालिन संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसकी सभासद् थिइन् । उनी नेपाल महिला संघकी आमन्त्रित केन्द्रीय सदस्य हुन् । आफ्नो पारिवारिक वातावरणका कारण २०४६ सालदेखि राजनीतिमा संलग्न रहँदै छिन् ।

सैद्धान्तिक निष्ठा र राजनीतिमा जायजनीति हुनुपर्छ भन्ने मान्यता राखेका कारण उनी आठ सदस्यीय युवा समुहको समर्थनमा उत्रिएकी हुन् । देउवा नेतृत्वले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न नसक्ने धारणामा किरणको सहमति छ ।

त्यसैले हेटौंडामा जिल्ला सभापतिहरूको भेलामा गगन थापासहितका नेताले तयार पारेको लिखित पत्रमा उनको हस्ताक्षर छ । उनको पनि माग छ–अर्को वर्षको फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन कुर्न हुन्न ।

उनी भन्छिन्,‘अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छैन । अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न जरुरी छ ।’ त्यसका लागि सभापति देउवाको विकल्पको नेतृत्वको खाँचो छ ।

प्रतिक्रिया
सम्बन्धित