शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जामा मात्र २३ अर्ब

दैनिक नेपाल २०७५ असार ४ गते १५:४३


-अरुण ज्ञवाली

भैरहवा, ४ असार । निर्माणाधिन गौतम बुद्ध विमानस्थलले हाल सम्म करिब ८ सय परिवारलाई ६ अर्ब रुपैयाँ मुआब्जा बितरण गरिसकेको छ । विमानस्थल विस्तारका लागि करिब २२ सय घरपरिवारको जग्गा अधिग्रहण गरिएको छ । २२ सय परिवार मध्ये ८ सय लाई मुआब्जा वितरण भैसकेको गौतम बुद्ध विमानस्थल परियोजना प्रमुख ईन्जिनियर ओम शर्माले जानकारी दिए ।

गत आबको बजेट सकिएकोले हाल मुआब्जा वितरण रोकिएको र थप बजेटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको प्रमुख शर्माले बताए । जग्गा मुआब्जा लिनेमा १० करोड रुपैयाँ सम्म पाएका छन । करिब दुई हजार दुई सय जनाको सात सय १५ बिघा जग्गा अधिग्रहण गरेको आयोजनाले कुल २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा ६ अर्ब वितरण गरिसकेको छ । चालू आवमा विनियोजित बजेट सकिएका कारण मुआब्जा वितरण रोकिएको र मुआब्जा प्राप्त गर्ने अन्य प्रक्रियाका काम जारी रहेको प्रमुख शर्माले बताए ।

‘मुआब्जाका लागि यस वर्षको विनियोजित बजेट सकिएको छ’, उनले भने, ‘हामीले मन्त्रालयमा जानकारी गराइसकेका छौँ । केही समयमा बजेट आएपछि हामी पुनः वितरण गर्न सुरु गर्छौ ।’ यो विमानस्थल ‘फोर ई’ स्तरको हो, जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । तराईको ‘लोकेसन’ भएको हुँदा कहिलेकाहीँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने विमान पनि यहाँ अवतरण गराउन सकिनेछ ।

यसलाई त्रिभुवन विमानस्थल (टीआईए)को विकल्पका रूपमा हेरिएको छ । यो विमानस्थल समयमा सञ्चालन नहुँदा टीआईएको रनवे रिह्याबिलिटेसन (पिच परिवर्तन)को योजना अलपत्र परेको छ । अहिले एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा विभिन्न समयमा समस्या उत्पन्न हुँदै आएको छ । यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने छ । दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले ह्यान्डल गर्ने लक्ष्य राखिएको छ । तर सुरुमा भने ५÷६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जानकारी दिएको छ ।

२०२३ सालमा निर्मित गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

तर, मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकोले उसले सन् २०१८ जुलाई महिना सम्म निर्माण कार्यको लक्ष्य पाएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो ।

निर्माण कार्य तीब्र

निर्माणाधीन विमानस्थल आयोजनाले सन् २०१९ साललाई अपरेसन वर्षका रूपमा लिएर तीब्र रूपमा काम जारी रहेको प्रमुख शर्माले जानकारी दिए । विगतमा काम सुस्त गतिमा भए पनि हाल त्यसलाई तीब्र पारिएको उसको भनाइ छ ।

‘हामीले सन् २०१९ लाई अपरेसन वर्षका रूपमा लिएका छौँ’, उनले भने, ‘यही किमिसले काम जारी रहेमा सन् २०१९ सम्म विमानस्थल सञ्चालनमा आउँछ ।’ जुन हिसाबले ठेकेदारले काम अगाडि बढाएको छ, त्यस हिसाबले समयमा काम सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।

विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र नेपाली सह ठेकेदारबीच विवादका कारण विमानस्थलको निर्माण कार्य निकै प्रभावित भएको थियो । विमानस्थलमा धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, रेस्क्यू एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, ओभरहेड ट्यांकीलगायत कार्य तीब्र गतिमा भइरहेको उनले बताए ।

विमानस्थलमा लगानीका लागि सरकार र एडीबीबीच सन् २०१९ जुनसम्मका लागि ऋण सम्झौताको अवधि छ । निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एडीबीको कालोसूचीमा रहेको र मधेस आन्दोलनका कारण थप म्याद पाएको ६ महिनामा पनि सन्तोषजनक काम नगरेपछि एडीबी असुन्तुष्ट भएको थियो ।

६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एडीबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो । ६ अर्ब २२ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको विमानस्थलमा करिब एक अर्ब ५० करोड एडीबीले भुक्तानी गरिसकेको आयोजना प्रमुख शर्माले जानकारी दिए ।

ऋण र अनुदान सहयोग नरोक्ने

निर्माणमा ढिलाई भएको भन्दै असन्तुष्टि जनाइरहेको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ऋण तथा अनुदान लगानी गरेको एसियाली बिकास बैंक (एडिबी) ले नेपाल सरकारसँग भएको आफ्नो ऋण तथा अनुदान सम्झौता यथाबत राख्ने भएको छ ।

गत जनवरीदेखि ऋण र अनुदान सहयोग रोकेको एडिवीले बिमानस्थल निमार्णमा गरिरहेको ऋण तथा अनुदान सहयोग रोक्ने भन्ने पछिल्ला भनाईहरुको खण्डन गर्दै नेपाल सरकारसँगको सहकार्य र विमानस्थल निमार्णमा भएको सम्झौताबारे पूर्वबत सम्झौता विपरित अरु निर्णय नभएको जनाएको छ ।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडिबीको ५४ करोड अनुदान रहेको छ । बाँकी चार अर्व २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म दुई अर्ब खर्चिएको छ ।

प्रतिक्रिया
सम्बन्धित