बिहीबार, ३ साउन २०७५
DainikNepal.com
बिहीबार, ३ साउन २०७५

प्रहरीभित्रको सिण्डिकेट तोड्न आइजीपी खनाल यसरी भए सफल, बढुवाको जाम पनि खुल्यो

दैनिक नेपाल २०७५ असार ४ गते ९:२७

काठमाडौं, ४ असार । । लामो समय पश्चात नेपाल प्रहरीको १ हजार १ सय १ जना प्रहरी नायब निरीक्षकहरूको सरुवा भएको छ ।

संगठनको आन्तरिक शुद्धीकरणको थालनीस्वरुप एकै ठाउमा बसेर सिन्डिकेट चलाउने सईहरूको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० वर्षभन्दा लामो समय काम गरेका सम्पूर्ण सईहरूको समेत सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अन्य विभागहरूमा ५ वर्षदेखि २० वर्षसम्म एकै ठाउमा राज गरी बसेका सईहरूको सरुवा गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उदाहरणीय काम गरेको चर्चा प्रहरी मुख्यालय नक्सालमा हुन थालेको छ ।

आइजीपी खनालले प्राविधिकतर्फको १५ वर्षसम्म एकै पदमा बस्न बाध्य भएका सईदेखि डिआईजीहरूसम्मको एकैदिन बढुवा निकाली प्रशंसनीय काम गरेको एकजना प्रहरी अधिकारीले बताए ।

हालै बढुवा भएका २८ जना प्रहरी उपरीक्षक र ५५ जना प्रहरी नायब उपरीक्षकहरूको पदस्थापना तथा अवधि पुगेका ७३ जना डिएसपीको एकैपटक सरुवा गरेका छन् ।

अझै पनि प्रहरी प्रशासनलाई चुस्त र दुरुस्त बनाउन प्रहरी प्रधान कार्यलयमा अड्डा जमाएर बसेका अन्य कर्मचारीहरूलाई पनि हटाउनु पर्ने जरुरी रहेको चर्चा मुख्यालयभित्र हुने गरेको छ ।

आइजीपी खनालले साइलेन्ट बसेर गरेका यी कार्यहरूबाट प्रहरी संगठनभित्र उर्जा थपिएको एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित