शनिबार, ५ साउन २०७५
DainikNepal.com
शनिबार, ५ साउन २०७५

दार्जिलिङमा थामी भाषाको पुस्तक विमोचन

दैनिक नेपाल २०७५ असार ४ गते ७:४९

दार्जिलिङ । नेपाली जातिका उपजाति थामीहरूको भाषा अनि संस्कृतिको संरक्षण गर्ने कार्यलाई निरन्तरता दिँदै आएकी श्रीमती शोभा थामीद्वारा थामी भाषामा लेखिएको पुस्तक ‘थामी जातिको देवा पुडासा ठोतसा पालाखे’ विमोचान भएको छ ।

करीब ६ सय पृष्ठको पुस्तक मुख्य रूपमा थामी जातिको रितिरिवाज, संस्कार, परम्परा बारेमा लेखिएको छ ।

दार्जिलिङको साउथ फिल्ड कलेजको हलमा भएको भव्य कार्यक्रमा सो पुस्तकको विमोचन मुख्य अतिथि विधायक अमरसिंह राई, नाटककार नन्द हाङखिम, साहित्यकार कर्ण थामी, कवि बालकृष्ण थामी र एबीएन च्यानलका प्रतिनिधी रूबेन गुरूङले विमोचन गरेका हुन् ।

पुस्तककी लेखिका श्रीमती शोभा थामीले बताएअनुसार थामी जातिको विभिन्न रितिरिवाज, संस्कार, परम्पराहरू र विभिन्न पूजाहरू गर्ने बारेमा पुस्तक लेखिएको छ । पुस्तक थामीहरूले आफ्नो घरको कुनै पूजाहरू गर्दा खुबै उपयोगी रहेको उनले बताएकी छन् ।

लेखिकाले यसभन्दा अघि पनि ‘थामी कुराकानी’ पुस्तक प्रकाशित गरिसकेकी छन् । यो पुस्तक साधारण रूपमा बोलिने कुराहरू थामी नेपाली अंग्रेजीमा लेखिएको छ । यस बाहेक थामी भाषाकै विभिन्न गीतहरूको एल्बम पनि निकाली सकेकी छन् । विमोचित पुस्तक ‘थामी जातिको देवा पुडासा ठोतसा पालाखे’ सम्पूर्ण थामी जातिको निम्ति अतिनै उपयोगी भएको बालकृष्ण थामीले बताए ।

मुख्य अतिथि विधायक अमरसिंह राईले पुस्तकको प्रशंसा खुलेर गरे । उनले भने, ‘‘गोर्खा जाति विभिन्न र्धम, संस्कृति अनि
संस्कारहरूद्वारा बाँधिएको जाति हो । यसैले जातिको उत्थान अनि विकासको निम्ति हरेक जातको सांस्कृतिक विषय वस्तुहरूको सरंक्षण गरिनु आवश्यक रहेको छ ।’

लेखिका थामी दार्जिलिङकै एउटा समाजिक संस्था हेडन हलमा पढ्न(लेख्न सिकेकी हुन् । यसपछि जति गरे उनले
आफ्नै बलबुत्तामा गरिन् । यसै सिलसिलामा अमरसिंह राईले भने, ‘‘लेखिका शोभा थामी आफू अल्पशिक्षित रहेर पनि आफ्नो थामी जातिको भाषा संस्कृतिलाई जुन प्रकारले ऐतिहासिक दस्तावेजको रूपमा संकलन गर्ने काम गरिन् त्यो अतिनै सराहनीय रहेको छ । उनी गोर्खा जातिको गौरव हुन् ।’

नाटककार नन्द हाङखिमले पनि जातिको संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्नका निम्ति यस्ता कार्यहरू अति आवश्यक रहेकी बताए ।

दार्जिलिङकी पत्रकार सविता थापा ‘संकल्प’ र युवा कवि महेश दाहालले संचालन गरेको सो विमोचान कार्यक्रमको प्रारम्भमा थामी गुरू झाँक्रीहरूले गुरू वन्दना ड्याङ्ग्रो बजाउँदै प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दार्जिलिङ भेककी सुपरिचित गायिका सोनु राईले गीत प्रस्तुत गरिन् भने थामी युवाहरूद्वारा मारूनी नृत्य पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित