मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

काँग्रेस महाधिवेशन प्रतिनिधि बलात्कार आरोपमा पक्राउ, डिएसपी मल्ल भन्छन्–केपी ओलीकै फोन आएपनि छोड्दिन

दैनिक नेपाल २०७५ जेठ ३१ गते १८:५६


काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं गुण्डा नाइके सञ्जिव लामा बलात्कार अभियोगमा पक्राउ परेका छन् । काभ्रे घर भएका लामाले दरबारमार्ग स्थित महेन्द्र शालिक अगाडी आफैले सञ्चालन गरेको नोला लाउन्ज एण्ड बारमा काम गर्न राखेकी एक युवतीलाई बलात्कार गरेको उजुरी परेको छ । चितवन घर भएकी युवतीलाई गएको सोमबार राती ३ बजे लामाले बलात्कार गरेका थिए ।

घटना भएको ३ दिनपछि युवतीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बलात्कारको उजुरी दर्ता गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको हो । उजुरी लगत्तै बुधबार लामालाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

बलात्कारको शिकार भएकी युवतीलाई लामाले ‘म डन हुँ, काभ्रेको काँग्रेस नेता हुँ, मलाई प्रहरीले केही गर्न सक्दैन’ भनेर उजुरी नदिन बारम्बार धम्की दिएका थिए । तर, युवतीले परिवारसँग सल्लाह लिएर बलात्कारी लामा विरुद्ध बुधबार प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीले जाहेरी दिनासाथ पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ । वृत्तका प्रमुख डिएसपी दानबहादुर मल्लले लामालाई पक्राउ गरि कारवाही अघि बढाएको पुष्टि गरे ।

बलात्कारी लामालाई जोगाउन विगतमा जस्तो मुद्दा मिलाउन प्रहरीलाई दबाब आउन थालेको छ । काँग्रेसका केही नेता र सांसदहरु समेत लामालाई छुटाउन लागिपरेको स्रोतले जनाएको छ । यता वृत्त प्रमुख मल्लले भने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलकै दबाब आएपनि दोषीलाई नछोड्ने बताएका छन् ।

‘आरोप प्रमाणित भएपपछि गृहमन्त्री, प्रधानमन्त्री जसको फोन आएपनि अभियुक्तलाई छोड्दिन’ डिएसपी मल्लले भने ‘बलात्कार गर्नेलाई कानुन अनुसार कारबाही गर्न हामी प्रतिबद्ध छौं । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई कडा कारबाही गर्छाैँ । बलात्कारको मुद्दा मिलाउन वा आरोपीलाई छाड्न धेरै दबाब दिए हामी दबाब दिनेहरुको नामै सार्वजनिक गर्न बाध्य हुनछौं ।’

गुण्डा नाइके लामा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापा निकट मानिन्छन् ।  लामा अहिले दरबारमार्ग प्रहरीको थुनामा छन् । उनको पृष्ठभूमि पनि राम्रो नभएको प्रहरीले जनाएको छ ।

केही समयअघि दरबारमार्गमा एक युवतिमाथि सामूहिक बलात्कार भएको थियो । घटनामा संलग्नलाई कारवाही गर्नुको साटो मुद्धा मिलाएपछि प्रहरीलाई समेत कारवाही गरिएको थियो । योपटक जस्तो सुकै दबाब आएपनि पीडकलाई कारवाही गरेरै छाड्ने योजनामा प्रहरी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित