मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

यौन आशक्तिले नै बढाउँदैछ अपराध

कोही बाबुसँग फिरौति माग्ने, कोही प्रतिशोधमा एसीड फ्याँक्ने !

दैनिक नेपाल २०७५ जेठ ३१ गते १५:११

काठमाडौं, ३१ जेठ । यौन आशक्ति र प्रेमका नाममा नेपाली समाजमा अपराध बढ्न थालेका छन् । कलिला उमेरदेखि पाकासम्मले प्रेम र यौनका लागि अपराध कर्मलाई अँगाल्न थालेको रिपोर्टको थाक नेपाल प्रहरीसँग रहेको छ ।

त्यसका केही प्रतिनिधि उदाहरण यस्ता छन् ।

एक बर्ष अघि काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमान्लाई फोन गरिन् तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ । वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनीबीच नियमित फोन सम्पर्क हुन थाल्यो। फोनबाट उनीहरूबीच मायापिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत हुन थालेछ।

साउदीमा रहेका बद्री र काभ्रेमा रहेकी लक्ष्मीबीचको फोनप्रेम सम्बन्ध करिब १८ महिनासम्म जारी रह्यो। यो अवधिमा बद्रीले लक्ष्मीलाई घर खर्च तथा ऋण सहयोगका नाममा करिब डेढ लाख रुपियाँसम्म पठाइदिए। तर त्यही घरखर्च र ऋण सहयोग लक्ष्मीका लागि काल बन्न पुग्यो ।

उनको कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसमा हत्या गरिएको अवस्थामा वैशाख २४ गते शव फेला परेको छ। हत्याका अभियुक्त फोनप्रेमी बद्री पनि तीन दिनपछि पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फोनप्रेमका कारण बद्री गत चैत २० गते स्वदेश फर्किएपछि उनीहरूबीच प्रत्यक्ष भेट भएको थियो। पहिलो भेटमा उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो। प्रहरीका अनुसार दोस्रो भेटमा बद्रीले ऋणको कुरा उठाएपछि लक्ष्मीले खर्च भइसकेकाले दिन नसक्ने अडान राखिन्। यसैबीचमा उनीहरूले पति पत्नी भएको भन्दै पटक(पटक गरी तीन रात होटलमा बिताइसकेका थिए ।

पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिए। लक्ष्मीको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार बद्रीलाई पक्राउ गरिएको छ। दम्पती भनेर कोठा ‘बुकिङ’ गरेका बद्रीले नाम, ठेगाना र फोन नम्बर भने फरक लेखाएका थिए।

प्रहरीका अनुसार बद्रीले लक्ष्मीको हत्या गर्न होटल नजिकैको एक पसलबाट १० रुपियाँमा प्लास्टिकको डोरीसमेत खरिद गरेका थिए। साँझको खाना खाएर रात बिताउनका लागि होटल पुगेका बद्रीले साँझ नै लक्ष्मीको हत्या गरी शव सिरकले छोपी रातिभरि कुरी बसेको जानकारी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले दिएका छन् ।

अभियुक्त बद्री बिहान सबेरै एयरपोर्टमा साथी लिन जान्छु भन्दै तीन जनालाई खानाको ‘अर्डर’ दिएर होटलबाट उम्किन सफल भएका थिए। तर उनी दिउँसो ११ बजेसम्म पनि होटलमा नफर्केपछि ढोका खोली हेर्दा लक्ष्मीको हत्या गरिएको पत्ता लागेको थियो। प्रहरीले पक्राउ परेका अभियुक्त बद्रीको साथबाट ९५ हजार नगद, लक्ष्मीले प्रयोग गरेको मोबाइल, तिलहरी र टप लगायतका सुनका गरगहनाहरू बरामद गरेको छ ।

दुई वर्षअघि राजधानीमा अचम्मको घटना देखियो । धुम्बाराहीको प्रगति टोलको सडकमा एक युवतीको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।

स्थानीयबाटै प्रहरीले थाहा पायो, त्यसरी मृत्यु हुने युवती छेउको घरमा डेरा गरी बस्ने ३५ वर्षीया ज्योत्सना तामाङ थिइन् । प्रहरी उनको डेरामा पुग्यो । उनका दुईवटा कोठा थिए । एउटा कोठामा एक युवती पवित्रा लिम्बू बच्चासहित सुतिरहेकी थिइन् भने अर्काे कोठामा थिए प्रितम मानन्धर । उनीहरू निद्रामै थिए ।

प्रहरीले सडकमा ज्योत्सनाको शव भेटिएको बताएपछि उनीहरू आश्चर्यमा परे । बेलुका सँगै मदिरा पिएर सुतेको तर अरू केही कुरा थाहा नभएको उनीहरूले बताए । प्रहरीले सोधपुछका लागि दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज लगेको थियो ।

अनुसन्धानका क्रममा यौनसम्बन्धी विवादमा बाथरुममा झगडा हुँदा उनी झ्यालबाट खसेर मृत्यु भएको खुल्यो । प्रेमी प्रितम मानन्धरसँग झगडा हँदा उनी खसेकी थिइन् ।

प्रहरीका अनुसार आफूलाई यौन सन्तुष्टि दिन नसकेको भन्दै उनले मानन्धरसँग झगडा गरेकी थिइन् । त्यही क्रममा उनी बाथरुमको झ्यालबाट खसेकी थिइन् । बरन्डामा खसेको हुनसक्ने भन्दै आफू कोठामा गएर सुतेको मानन्धरले बताएका छन् ।

प्रहरीका अनुसार दोस्रोपटक शारीरिक सम्पर्कका लागि बिहान करिब दुई बजे युवतीले नै मानन्धरलाई बाथरुममा बोलाएकी थिइन् । अर्काे केटी भएकाले आफूलाई सन्तुष्टि दिन नसकेको भन्दै झगडा गरेकै वेला उनी बाथरुमको झ्यालबाट खसेको प्रहरीले जनाएको छ । तामाङको भाटभटेनीमा फेन्सी पसल थियो भने मानन्धरको टंगालमा रेस्टुरेन्ट ।

मानन्धरको रेस्टुरेन्टमा खाजा खान जाने क्रममा उनीहरू नजिकिएका थिए । त्यही क्रममा दुई महिनादेखि मानन्धर निरन्तर रूपमा उनको डेरामा जाने गर्थे । मंगलबार पनि १० बजे रेस्टुरेन्ट बन्द गरेर उनी तामाङको डेरामा पुगेका थिए । बेलुका करिब १२ बजेसम्म उनीहरू मदिरा पिएर बसेका थिए ।

त्यसबेला मृतकका श्रीमान् विदेशमा थिए । उनी पाँच वर्षदेखि नै श्रीमान्सँग छुट्टिएर बस्दै आएकी थिइन् । भारतमा रहेका उनको माइती पक्षले मानन्धरविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । मानन्धर कर्तव्य ज्यान मुद्दामा परे ।

झोंछेको एसिड आक्रमण काण्डले अन्तर्राष्ट्रिय चर्चा पायो । रामेछापकी संगीता थापा मगरलाई रामेछापकै जीवन विकले गत १० फागुनमा एसिडले आक्रमण गरे । जीवनले प्रहरीमा दिएको बयानअनुसार यो अपराधको सुरुवात प्रेमबाटै भएको थियो । कुनै समय जीवन र संगीता प्रेमसम्बन्धमा थिए । तर, दुई परिवारबीच झगडा भएपछि उनीहरूको सम्बन्ध चिसियो । संगीताको परिवारले आफूलाई जातकै कारण हेला गरेको र सोही कारण संगीताले पनि प्रेममा धोका दिएको भन्दै जीवनले त्यसको बदला लिन एसिड आक्रमण गरेको अनुसन्धानमा खुलेको छ ।

त्यही क्रममा जीवन र संगीताको चिनजान भएको थियो । जीवन पढाइमा टाठा थिए । एलएलसीमा पनि ७० प्रतिशत नम्बर ल्याएर पास गरेका थिए । त्यसकारण संगीता उनीसँग पढ्ने गर्थिन् । त्यही क्रममा दुईजना नजिकिएका थिए । सुरुमा आफूले नाम जीवन खड्का बताएको तर पछि आफू विक भएको थाहा पाएपछि संगीताले हेला गरेको उनले बताउँदै आएका छन् ।

प्रेममा धोका दिएको र आफ्नो परिवारलाई हेपेको प्रतिशोधमा आक्रमण गरेको उनले बताएका छन् । एक वर्षसम्म परिवारलाई समेत आफू भारतीय सेनामा जागिरे रहेको भन्दै ढाँटेर टोखामा उनी डेरा गरी बस्दै आएका थिए । उनले एक वर्षदेखि योजना बनाएर आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । आफूले आक्रमण गरे पनि संगीतालाई अझै माया गर्ने उनले बताएका छन् ।
प्रेम प्रस्ताव अस्वीकार गर्दा ललितपुरमा पनि एसिड आक्रमण भएको थियो ।

बालकुमारीस्थित माइलस्टोन कलेजमा बिबिएस तहमा अध्ययनरत अञ्जना तण्डुकारमाथि ८ माघ, २०७३ मा पाटनको कृष्ण मन्दिरमा आक्रमण भएको थियो । उक्त कलेजमा एउटै कक्षामा पढ्ने अनुप राना मगरले अन्जनाको अनुहारमा एसिड छर्किएका थिए । मगरलाई बुधबार पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाइएको एसएसपी पुष्पचन्द्र रञ्जितले बताए । कलेजबाट घर फर्कंदै गर्दा मगरले तण्डुकारमाथि अरू साथीका अगाडि एसिड छर्किएका थिए ।

गाडीको ब्याट्रीमा प्रयोग हुने एसिड भएकाले युवतीलाई ठूलो चोट लागेन । बी एन्ड बी अस्पतालमा उपचारपछि उनी त्यसै दिन डिस्चार्ज भएकी थिइन् । निधारमा फालिएको एसिड गालासम्म पुगेर उनको अनुहारमा खत लागेको छ । घटनाको भोलिपल्ट युवतीले उजुरी दिए पनि दुई महिनापछि मात्र अभियुक्त पक्राउ परेका हुन् ।

दुई वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कृष्णबल्लभ ठाकुरले आफ्नो छोरो अपहरणमा परेको भन्दै गत शनिबार दिउँसो १२ बजे प्रहरीलाई खबर गरे । अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती माग्दै छोरालाई अपहरण गरेको बताइएको थियो र नदिए जे पनि हुनसक्ने धम्की दिइएको थियो । छोराकै मोबाइलबाट बिहान साढे १० बजे फोन आएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

अपहरणमा परेको भनिएका कृष्णबल्लभका १७ वर्षीय छोरा अञ्जन ठाकुरको मोबाइलको ‘लोकेसन’ इमाडोलमा देखियो । प्रहरी उनलाई खोज्दै इमाडोल पुग्यो । बाटोमा हिँडिरहेका बेला अञ्जन भेटिएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिई जावलाखेलस्थित कार्यालय र्पुयायो । सुरुमा उनले आफूलाई केही थाहा नभएको बताए । थप सोधपुछका क्रममा आफैँले स्वर परिवर्तन गरी अपहरणकारी बनेर बुबालाई फोन गरेको बताए । कारण सुन्दा प्रहरी झन् आश्चर्यमा परे ।

कलेजमा पढ्ने एक युवतीसँग उनी गहिरो प्रेममा रहेछन् । दुवैजना बिहे गरेर सँगै बस्ने मनस्थितिमा थिए । तर, भर्खर प्लस टु पढ्ने वेला विवाह गर्न नहुने भन्दै परिवारले उनको प्रस्ताव अस्वीकार गरेको थियो ।

परिवारबाट छुट्टै बस्न उनीसँग पैसा थिएन । त्यसकारण आफू अपहरणमा परेको भन्दै नाटक गरेर बुबासँग १५ लाख रुपैयाँ फिरौती लिने र त्यही पैसाले घरबाहिर प्रेमिकासँग बस्ने योजना उनले बनाएका थिए । त्यसकै लागि आफू अपहरणमा परेको भन्दै नाटक गरेका थिए । उनको त्यही नाटकका कारण प्रहरीले २४ घन्टा दुख पाएको थियो ।

१५ फागुन, २०७३ मा एक सैनिकले आफ्नै साथीको शिवपुरीको जंगलमा हत्या गरे । अमल्दार रोहितकुमार ओझा आफ्नै साथी रुद्रकुमार थापाद्वारा मारिए । पत्नी आस्था मगरसँग लागेको भन्दै उनले साथीको हत्या गरेका थिए ।

घटनाको दुई सातापछि थापालाई प्रहरीले पक्राउ गरेको थियो । आफ्नी पत्नीसँग सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको बयान उनले दिएका छन् । रोहित र रुद्रको करिब ६ वर्ष लामो मित्रता थियो । तर, पत्नीसँग रोहितको प्रेमसम्बन्ध भएको थाहा भएपछि उनीहरूबीच दुस्मनी भयो, जसको परिणाम एकको मृत्यु भयो भने अर्का जेलमा पुगेका छन् ।

०६६ सालमा नेपाली सेनाको रौतहटस्थित जोरहवा ब्यारेकमा उनीहरूबीच चिनजान भएको थियो । रोहित त्यसवेला उक्त ब्यारेकमा परीक्षा दिने क्रममा पुगेका थिए । रुद्र पहिलेदेखि नै त्यहीँ कार्यरत थिए । त्यहीँ रुद्रले आफ्नी पत्नी आस्थाको चिनजान रोहितसँग गराइदिएका थिए ।

पछि रोहित र आस्थाले एक–अर्कालाई मन पराउन थाले, जुन कुरा लामो समय गोप्य रह्यो । उनीहरूबीच गोप्य रूपमा फोनमा बारम्बार कुरा हुन थाल्यो र भेटघाट पनि बाक्लियो । रुद्रले त्यसबारे थाहा नपाऊन् भनेर रोहितले एनसेलको छुट्टै मोबाइल किनेर आस्थालाई दिएका थिए ।

पछि रुद्र शान्ति मिसनमा विदेश गए । पत्नीलाई नेपालटारमा डेरा खोजेर राखिदिए । उनी विदेश गएपछि रोहित र आस्थाको प्रेम झन् झाँगियो । रोहित धेरै समय आस्थाकै डेरामा बिताउन थालेका थिए ।

शान्ति मिसनबाट फर्किएपछि दुईजनाको सम्बन्धलाई लिएर रुद्रले शंका गर्न थाले । पत्नीसँग पटक–पटक झगडा पनि गरे । दुवैजनालाई सँगै राखेर कुरा गरे । दुवैजनाले आफूहरू दाजुबहिनीजस्तो भएकाले धेरै भेट्ने र फोनमा कुरा गर्ने गरेको बताए । तर, रुद्रको चित्त बुझेन ।
भद्रकाली मन्दिरमा बोलाएर एक–अर्कालाई दाजुबहिनीका रूपमा कसम खुवाएर खुट्टा ढोग्नसमेत लगाए ।

तर, त्यसपछि पनि रोहित आफ्नो डेरामा पत्नीलाई भेट्न आउने गरेको छोरीबाट थाहा पाएपछि उनले शिवपुरीमा छलफल गर्न भनेर बोलाएका थिए । पेटीले टाउकामा हानेर उनले हत्या गरी शव माटोले पुरेर बुटवल भागेका थिए । बुटवलबाटै महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

एक युवतीको सामूहिक बलात्कारपछि हत्या गर्ने व्यक्ति १४ वर्षपछि प्रहरी फन्दामा परेका थिए । अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका सामूहिक बलात्कारमा संलग्न झापा चन्द्रगढीका ३५ वर्षीय मनोज खड्कालाई सिआइबीले काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो ।

२९ असोज ०५७ मा खड्का र उनका दुई साथीले चन्द्रगढी नगरपालिका–३ बस्ने सन्ध्या राजवंशीको सामूहिक बलात्कारपछि घाँटी थिची हत्या गरेका थिए । उनीहरूले सन्ध्यालाई घुम्न जाने बहानामा बोलाई नजिकैको चारआली जंगलमा लगेर बलात्कार गरी घाँटी थिचेर हत्या गरेका थिए । उनीहरूले घटनालाई आत्महत्या गरेको देखाउन शवलाई छेउको बकैनाको रूखमा झुन्ड्याएका थिए ।

प्रहरीले मृतकको यौनांगमा वीर्य तथा नजिकै कन्डम फेला पारेपछि उनको बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमानसहित अनुसन्धान अघि बढाएको थियो ।

कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत इलामले २८ चैत ०५८ मा तीनैजनालाई जन्मकैदको सजाय सुनाए पनि खड्का काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए । उनलाई प्रहरीले शुक्रबार अदालत पेस गरेकोमा अदालतले केन्द्रीय कारागार चलान गरेको थियो । उक्त मुद्दामा सीताराम बस्नेत पक्राउ परिसकेका छन् भने अर्का एक अभियुक्त फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित