आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

पशुपति मुरारकाले कसैलाई टेरेनन्, लुम्बिनी बिगार्ने अभियानमा सक्रिय

दैनिक नेपाल २०७५ जेठ ३१ गते ६:४६

काठमाडौं, ३१ जेठ । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टले सरकारी मापदण्ड विपरित काम गरेपछि स्थानीयबासीले उद्योगविरुद्ध कारबाहीको माग गरेका छन् ।

विशेष गरी विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतका क्षेत्रमा वातावरण बिगारेको भन्दै स्थानीयले सिमेन्ट उद्योगमाथि कारबाहीको माग गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

सिमेन्ट उद्योगको धुलोको कारण मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परेको, सागपात समेत खान नहुने भएको, पशु चौपायासमेत बिरामी परेको भन्दै स्थानीयले कि त धुलो फाल्ने प्रणालीको व्यवस्थापन गर्न, कि उद्योग अन्यत्र सार्न चेतावनी समेत दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको लगानी रहेको उद्योगले सरकारी निकायको निर्देशनलाई समेत अटेर गर्दै आएको छ ।

आफू उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेको, राजनीतिक नेतृत्वसँग आफ्नो प्रत्यक्ष सम्पर्क रहेको भन्दै मुरारकाले वातावरण विभागबाट आउने गरेका निर्देशनलाई समेत टेर पुच्छर लगाएका छैनन् ।

अर्घाखाँची सिमेन्टले उद्योगमा धुलो नियन्त्रणको प्रणालीसमेत जडान गरेको छैन । धुलो समेत नियन्त्रण गर्ने र त्यसैबाट विद्युत् समेत निकाल्ने भनेर हल्ला गराएका मुरारकाले सरकारी निर्देशन अवज्ञा गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारको नै ध्यानकर्षण गराएको छ ।

पर्यटक आर्कषणको केन्द्र बिन्दूको रुपमा रहेको लुम्बिनीलाई प्रदूषित बनाउन सिमेन्ट उद्योगको विशेष भूमिका रहेको छ । भैरहवा आसपासमा स्थापना गरिएका उद्योगमध्ये धेरै जसो सिमेन्ट उद्योग रहेका छन् ।

ती सिमेन्ट उद्योगमध्ये क्षमताका हिसाबले सबैभन्दा ठूलो उद्योगको रुपमा अर्घाखाँची सिमेन्ट रहेको छ । सो उद्योगले हाल दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ ।

वातावरण संरक्षणको उपाय अपनाउन सरकारी निकायले पटक–पटक आग्रह गरे पनि मुरारकाले कुनै सुनुवाई नगरेको र बढी बोले जे पनि गर्ने भन्दै चेतावनी दिएको स्थानीयको भनाइ छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहमन्त्री कुलप्रसाद केसीलाई समेत अर्घाखाँची सिमेन्ट उद्योगको ज्यादतीका बारेमा जानकारी भएपनि उनीहरु मौन छन् ।

मुरारका भने आफ्नो उद्योगले मात्रै नभई अरु उद्योगले समेत धूलो फालेको तर्क गरी गल्ती ढाकछोप गरिरहेका छन् ।

स्थानीयले भने सिमेन्ट उद्योगबाट निस्कने धुलोका कारण बाह्रै महिना रुघाखोकी लाग्ने, पशु चौपायाले आहारा नखाने, झोक्राउने गरेको भन्दै आपत्ति जनाएका छन् । वातावरण विभागले भने अर्घाखाँची सिमेन्टले सरकारी आदेश अस्वीकार मात्रै होइन अटेर समेत गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित