मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

पूजालाई जवर्जस्ती मानसिक रोगी बनाउँदै थापा, मन्त्रीका निजी सचिवको यो कस्तो चलखेल ?

दैनिक नेपाल २०७५ जेठ ३१ गते ६:०९

काठमाडौं, ३१ जेठ । सामूहिक बलात्कार पीडित किशोरी पूजा बोहोरामाथि रक्षा नेपाल नामक गैरसरकारी संस्थाले गरेको शोषण र यातनाका सम्वन्धमा छानविन गर्न गठित समितिले दुबै पक्षसँग सोधपुछ गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका निजी सचिव अञ्जु ढुंगानाको संयोजकत्वमा बनेको छानविन समितिले रक्षा नेपालकी अध्यक्ष मेनुका थापामाथि अनुसन्धान गर्नुभन्दा पनि पूजालाई रक्षा नेपालकै शरणमा पठाउने तयारी गरेको स्रोतले बतायो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार समितिले पीडित पुजालाई रक्षा नेपालले खर्च व्यहोर्ने गरी साथी नामक संस्थामा पठाउने तयारी गरेको छ । यस सम्बन्धमा पूजाले भनिन्,‘म रक्षा नेपालमा फर्केर जान्न, न त म साथी भन्ने संस्थामा नै जान चाहान्छु, दोषीमाथि छानबिन हुनुपर्छ, सञ्चारमाध्यममा रक्षा नेपालमाथि उठेका प्रश्नको निराकरण नगरी कसैलाई चोख्याउने प्रयास गरिन्छ भने म अन्तिम समयसम्म लडिरहन्छु ।’ समितिमा केन्द्रिय बालकल्याण समिति तर्फबाट सुनिता साह, महिला तथा बालबालिका कार्यालयको तर्फबाट अधिकृत अनिता अधिकारी र चाइल्ड हेल्प लाइनको तर्फबाट देवी खतिवडा सदस्य रहेका छन् ।

पूजामाथि रक्षा नेपालले गरेको अत्याचार सार्वजनिक भएपछि छानविन समिति थापामाथि लागेको आरोप छिपाउन उद्यत देखिएको छ । पूजाले आफ्नो नाम दुरुपयोग गरी रक्षा नेपालको नाममा मेनुकाले निजी सम्पत्ति जोडेको र त्यहाँ भित्रका अन्य बालबालिकाहरुलाई पनि विभिन्न खालका यातना दिने गरेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकी थिइन् । तर, ति विषयमा समितिले अहिलेसम्म छानविन नै नगरेको स्रोत बताउँछ ।

रक्षा नेपाल डान्स तथा क्याविनमा काम गर्ने महिलालाई अन्य पेशामा पुनःस्थापना गर्न स्थापना भएको सामाजिक संस्था हो । रक्षा नेपाल न बालगृह हो, न त ट्रान्जिट होम । रक्षा नेपालले कुनै पनि बालबालिकालाई संस्थामा आश्रय दिनु सरासर कानुन विपरितको काम हो । प्रहरी र स्थानीय सरकारको पत्र वा सिफारिस विना संस्थामा राखिएका बालबालिका कहिले ल्याईन्छन् र निकालिन्छन् त्यसको हिसाव किताव हुँदैन । बालगृह वा ट्रान्जिट होमका रुपमा कहिँकतै दर्ता भएको उनले अहिलेसम्म प्रमाणपत्र पेश गर्न सकेकी छैनन् । एकोहोरो ५०/६० जना बालबालिका पालेको भनेर रटान दिंदै आएकी छन् ।

रक्षा नेपालमाथि लागेका आर्थिक अपराधलाई समेत छानविन समितिले लुकाउन खोजेको स्रोत बताउँछ । जबकि उनले विभिन्न स्थानमा संस्थाको नाममा हुनुपर्ने चल अचल सम्पत्ति आफ्नै नाममा रहेको स्वीकार गरिसकेकी छन् । उनको धापाखेलमा ब्यक्तिगत घर समेत रहेको छ । संस्थाको कोषाध्यक्षको पनि करोडौं पर्ने महल सातदोबाटोमा रहेको छ । संस्थाका पदाधिकारीले गरेको आर्थिक हिनामिना समेत छानविन समितिले अहिलेसम्म छानविन नै गरेको छैन् ।

संस्था र उनको नाममा रहेका खाताबाट रकम निकाली आर्थिक दूरुपयोग भइरहेको बारेमा पनि समिति मौन छ । उनले आफ्नो नाममा जोडेको जग्गा बैंकमा धितो राखी तीन करोड ऋण लिएको बताएकी थिइन् । तर, एउटा सामाजिक संस्था चलाउने व्यक्तिले उक्त ऋण कसरी चुक्ता गर्न सक्छ ? संस्थालाई भन्दा किन ब्यक्तिलाई बैंकले विश्वास ग-यो ? थापाले ऋण तिर्न सक्ने आधारहरु के के हुन् ? के उनी ब्यवसायी हुन् ? सो सम्वन्धमा बैंकमा पुगेर छानविन हुनुपर्ने पीडित पक्षको माग छ ।

त्यसो त थापा आफै पनि अर्काको घरमा शरण लिएर तथा राति–राति दोहरीमा गीत गाउने काम गर्थिन । रात्रिकालिन दोहरीमा गीत गाउने पेशाबाट माथि उठेकी उनको आर्थिक हैसियतका बारेमा बताइरहनु पर्दैन । गरिबभन्दा गरिब परिवारबाट आएकी थापाले कसरी आफ्ना भाई, भतिज, भतिजीलाई संस्थामा राखेर रोजगारी दिनेदेखि अमेरिका पठाउनेसम्मको हर्कत गरिन् ? यो केबल संस्थाको नाम र बालबालिकाको नाममा आएको रकमको दुरुपयोग विना सम्भव छैन् । यि तथ्यका बारेमा माथि समितिले छानविन गर्ला कि नगर्ला ?

थापा स्वयम्ले विभिन्न टेलिभिजन र पत्रपत्रिकामा अन्तवार्ता दिँदा विदेशी सहयोगबाट संस्था नचलेको दावी गर्दै आएकी छन् । विगत एक दशकदेखि समाज कल्याण परिषद्बाट स्वीकृत भएको विदेशी दाताले उपलब्ध गराएको रकम हेर्ने हो भने करोडौं रकम संस्थामा आएको देखिन्छ । त्यो रकम कुन प्रयोजनका लागि कहाँ र कसरी प्रयोग गरियो ? त्यसमाथि अनुसन्धान गर्नु जरुरी देखिन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग

पूजाले पत्रकार सम्मेलनमा अध्यक्ष थापाले उनको मात्र नभई सबै बालबालिकाको फेसबुक आफैले चलाउने गरेको सार्वजनिक गरेकी थिइन । थापाले फेसबुकमार्फत विभिन्न विषयमा आफुखुसी पोष्ट गर्ने गरेको आरोप लगाएकी थिइन । सो बिषयमा समितिले छानविन गर्छ कि गर्दैन, त्यो भने हेर्न बाँकी छ । रक्षा नेपालका कम्यूटर, उनले चलाउने ल्यापटप र मोबाइल जफत गरेर अनुसन्धान गरिए थापाको सारा कर्तुत बाहिर आउने पीडितहरु बताउँछन् ।

पूजा बोहराले अन्य बालबालिकामाथि समेत शोषण भएको पत्रकार सम्मेलनमार्फत आरोप लगाएकी थिइन् । छानविन समितिले प्रत्येक बालबालिकालाई छुट्टाछुट्टै नियन्त्रणमा लिई वा सुरक्षित तरिकाले सो आरोपमाथि छानविन वा सोधपुछ गरेको भए उनले अपराध गरे–नगरेको छर्लङ्ग हुन्थ्यो तर त्यसो हुन सकिरहेको छैन । पुजाले त्यहाँ बसेका भाई–बहिनी कता छन् ? संस्थामा बस्ने, खाने र पढ्ने आफन्तको नामै सार्वजनिक गरेकी थिइन । उनीहरुबारे छानविन र खोजतलासै नगरी थापालाई चोख्याउने प्रपञ्च रचिएको आरोप छ ।

त्यसो त, पूजालाई अपहरण शैलीमा प्रदिप घिमिरे नामका ब्यक्तिले लगेको भन्दै खोजी गर्न प्रहरीमा उजुरी दिने थापाविरुद्ध पुजा स्वयम् उपस्थित भएर शान्ति सुरक्षा पाउँ भन्दै उजुरी गरेकी थिइन । प्रहरीले थापालाई कार्यालयमा उपस्थित हुन फोन गरे पनि उनी अहिलेसम्म उपस्थित भएकी छैनन् । पूजाले महानगरीय प्रहरी परिसर काठमाडौंमा हालेको उजुरीमा भनेकी छन्,‘रक्षा नेपालकी अध्यक्ष मेनुका थापा जसलाई मैले आमा भन्दै आएकी छु, उहाँबाटै म असुरक्षित छु । मेरो ज्यानको सुरक्षा होस्, स्वतन्त्र रुपमा हिडडुल गर्न सक्ने वातवरण बनाइयोस् ।’ त्यस सम्बन्धमा प्रहरीले अहिलेसम्म कुनै पनि कुरा सार्वजनिक गरेको छैन ।

पुजालाई जर्वजस्ती मानसिक रोगी बनार्इंदै

यूनाईटेड पोष्टको सम्पर्कमा आएकी अध्यक्ष थापाले पूजाको मानसिक अवस्था ठिक नभएको बताएकी थिइन् । चिकित्सकले गरेको उपचार, औषधी दिएको सबै कागजात मात्र छानविन नभई स्वयम् चिकित्सकसँग सोधपुछ हुनुपर्ने र स्वतन्त्र छानविन भएको खण्डमा सो कुरा समेत प्रष्ट हुने पीडित पुजा बताउँछिन् ।

पूजाले आफूलाई गलत सावित गर्न अध्यक्ष थापाले पुजा कार्कीलगायतको कागजात पेश गरेको बताइन् । उक्त रिपोर्ट दिने डाक्टरसँग छानविन समितिले सोधपुछ खण्डमा पुजा कार्की वा पुजा बोहोरा को हो ? सहजै खुल्ने पुजा बताउँछिन् । त्यसबारेमा पनि अनुसन्धान हुनुपर्ने पुजाको माग छ । पूजा आफू स्वस्थ रहेको र २०७१ सालदेखि कुनै पनि रोगको औषधी सेवन नगरेको बताउँछिन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले समेत छोरी बनाएकी पुजा बोहरा न्यायका लागि भीख मागिरहेकी छन् । उनले दोषीमाथि छानविन गरी कारबाही हुनुप-यो भनिरहेकी छन् । सोही अनुसार उनले न्यायका लागि डा. भट्टराईलाई भेटेर सवै यथार्थ जानकारी गराइन । डा. भट्टराईले सहयोग गर्छु भन्ने बचन पनि दिए ।

तर, पूजाले भेटेर आएको भोलीपल्टदेखि डा. भट्टराई सम्पर्क नभएको बताउँछिन् । कुनै बेला उनले पूजालाई छोरी स्वीकार्दै ५० हजार रुपैयाँ नगद पनि दिएका थिए । पुजालाई छोरी नै बनाएका भट्टराईले आश्वसन मात्र दिएपछि पूजा थप विक्षिप्त बनेकी छन् । डा. भट्राईले रक्षा नेपालकी अध्यक्ष थापा विरुद्द जान नसक्नुको रहस्य भने अर्कै रहेछ । त्यो हो, अध्यक्ष थापा नयाँ शक्ति पार्टीकै केन्द्रिय सदस्य ।

प्रतिक्रिया
सम्बन्धित