मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

खजुरा गाउँपालिकाको राजपत्र सार्वजनिक

दैनिक नेपाल २०७५ जेठ ३० गते १८:१८


बाँके, ३० जेठ । बाँकेको खजुरा गाउँपालिकाले खजुरा राजपत्र सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र उपाध्यक्ष एकमाया विकले बुधबार राजपत्र सार्वजनिक गरेका हुन् ।

खजुरामा पहिलो पटक प्रकाशित गरिएको राजपत्रमा ६ ओटा ऐनहरु समेटिएको छ । पहिलो राजपत्रमा आर्थिक ऐन, विनियोजन ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, खजुरा गाउँपालिकाको सहकारी ऐन, कृषि व्यवसाय, प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, खजुरा गाउँपालिकाको न्यायीक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ समावेश गरिएको छ । तीन वटा नियमावली र १३ वटा कार्यविधि दोस्रो चरणमा राजपत्रमा सार्वजनिक गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीले ऐन नियम र कार्यविधि नहुँदा काम गर्न अप्ठ्यारो भएको बताए । उनले खजुरालाई नमूना गाउँपालिका बनाउन लागि परेको बताउँदै निर्वाचित भएको एक वर्ष अभिमुखीकरण, प्रशिक्षण र सिकाईमा बितेको बताए । उनले अब आगामी बर्षमा छिटो विकास गर्न टोलटोलमा सुझाव लिइ बजेट बनाउने तयारी भईरहेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले भ्रष्टाचारमुक्त, नमूना र सञ्चारमैत्री गाउँपालिका बनाउन लागि परेको बताइन् । बाँकेमा राजपत्र प्रकाशित गर्ने खजुरा दोस्रो पालिका भएको छ । यसअघि डुडुवा गाउँपालिकाले राजपत्र प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित