मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

सुन तस्करी प्रकरण: बाजेको सेकुवामा अनुसन्धान समितिको छापा

दैनिक नेपाल २०७५ जेठ ३० गते १४:५१


काठमाडौँ, ३० जेट । सुन तस्करी र सनम शाक्य हत्या छानबिन गर्न बनेको विशेष अनुसन्धान समितिले एकपछि अर्काे छापा मारिहेको छ । केही दिनअघि सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके अर्थात मोहनकुमार अग्रवालको घरमा छापा मारेको समितिले हालै आरकै ज्वेलर्समा पनि छापा मारेको थियो । आरके ज्वेलर्सका सञ्चालक राजेश शाक्य सुन तस्करी काण्ड बाहिरिएसँग फरार छन् । एमके पनि अनुसन्धान अघि बढ्ने वित्तिकै फरार भएका थिए ।

समितिले बुधबार बाजेको सेकुवामा पनि छापा मारेको छ । समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो । नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको छ । गत चैतमा सुन तस्करीको अनुसन्धान समितिले काम थालेपछि भण्डारी पनि फरार भएका छन् । भण्डारी सुन तस्करीका नाइके भनिएका चुडाडमणि उप्रेती गोरेका नातेदार हुन् । संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समिति स्रोतले जनाएको छ ।

ऐनअनुसार संगठित अपराधका आरोपीले अपराध गरेर कमाएको घन शुद्धीकरणका लागि व्यवसायमा मिसाएको हुनसक्ने आशंकामा छानबिनको अधिकार दिएको छ । नेपाल र विदेशमा समेत शाखा विस्तार गरेको बाजेको सेकुवा कर्नर काठमाडौं र ललितपुरमा पनि शाखा छन् । चेतनाथका बुवा दिनानाथ भण्डारीले बाजेको सेकुवा ब्रान्डलाइ लोप्रिय बनाएका थिए । अष्ट्रेलिया पढेर फर्किएपछि चेतनाथले बुवाको व्यवसाय सम्हालेका थिए ।

सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ । गोरेले नै भण्डारीले पनि सुन तस्करीमा लागनी गरेको रहस्य खोलिदिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित