मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा : ऊर्जा सहयोगदेखि रेलमार्ग निर्माण समझदारीसम्म

दैनिक नेपाल २०७५ जेठ ३० गते ६:३३

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्र्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

समझदारीपत्रमा हस्ताक्षरका लागि नेपाली पक्षबाट सबै तयारी पूरा भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

समझदारीको मस्यौदाबारे नेपाल र चीनका जलस्रोत तथा ऊर्जा हेर्ने विभिन्न तहका निकायहरूबीच यसअघि नै सहमति भइसकेको छ । दुई देशबीच ऊर्जा र जलस्रोतस“ग सम्बन्धित विषयमा छलफल गर्न उक्त समझदारी महत्वपूर्ण हुनेछ ।

प्रधानमन्त्रीका रूपमा ओलीको पहिलो चीन भ्रमणमा नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौता गर्ने समझदारी भएको थियो ।

अहिले उक्त सम्झौताको प्रोटोकल तयार पारिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैँजूले बताए ।

‘दुई देशबीच व्यापार पारवहन कस्तो हुने, के–कस्ता छुट सुविधा उपलब्ध गराउने, कुनकुन नाका प्रयोग गर्ने, कुनकुन बन्दरगाहमा पहुँच दिने भन्नेलगायत विषय सम्झौतामा समेटिनेछन्,’ उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणअघि नै नेपालका तर्फबाट प्रोटोकललाई अन्तिम रूप दिनेछौँ ।’

यसका अलावा नेपाल र चीनबीचको व्यापार वृद्धि, बढ्दो व्यापार घाटा न्यूनीकरण, तातोपानी नाका पुनः सञ्चालन, व्यापार पूर्वाधार विकासलगायत विषयलाई समेत सरकारले एजेन्डा बनाएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित