मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

१२ बर्षअघि भित्तामा टाँसेको सपना साकार बनाउन चहान्छन् प्रचण्ड

सी जिङ पिङको लय समात्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा)

विनोद ढकाल/समाचार टिप्पणी २०७५ जेठ २७ गते १३:४४

-विनोद ढकाल/समाचार टिप्पणी

काठमाडौं, २७ जेठ । ०६४ सालको चैत लाग्दै गर्दा बन्दुकसहित ब्यालेडको राजनीतिमा होमिएको तत्कालिन नेकपा माओवादीको दुई नारा थिए– अरुलाई हेर्‍यौं पटक–पटक, माओवादीलाई यस–पटक । र, अबको कार्यकारी राष्ट्रपति प्रचण्ड । संविधान सभाको त्यो निर्वाचनका क्रममा माओवादीले सत्ता कव्जाको नीतिअनुसार प्रचण्डलाई कार्यकारी राष्ट्रपति बनाउने घोषणा गरेको थियो ।

तत्कालिन व्यवस्थापिका संसद समेतको संविधानसभामा पहिलो दल बनेको माओवादीले सरकार हाँक्ने जिम्मा पायो तर उसले भनेजस्तो राष्ट्रपतीय व्यवस्था कायम गर्न सकेन । गाउँ, सहर र विभिन्न ठाउँमा प्रचण्डको तस्बिरसँगै उनको सपना लेखिएको थियो– नेपालको इतिहासमा पहिलो कार्यकारी राष्ट्रपति !

प्रचण्डको त्यो सपना त्यसैबेला पुरा हुन सकेन । सरकार सञ्चालनका लागि तत्कालीन एमालेको समर्थन त रह्यो तर नीतिमा सहमति भएन । यसैले प्रचण्डले प्रधानमन्त्री पदमा नै चित्त बुझाउँदै संसदीय पद्दतीलाई पछ्याए । कार्यकारी राष्ट्रपतीय प्रणालीको विपक्षमा तत्कालीन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको अडानले जितेको थियो ।

राजनीतिको आरोह अवरोहबाट देश गुज्रियो । प्रचण्ड सरकारबाट निस्कनुपरेको थियो । संविधानसभा विघटन पनि भयो । फेरि संविधानसभा चुनाव भयो । विभाजित पार्टी बोकेर हिँडेका प्रचण्ड तेस्रो भए । अब, उनको एजेन्डा स्थापित हुने कुनै मौका नै देखिएन ।

प्रचण्ड सँधै भन्ने गर्छन्– राजनीति सम्भावनाको खेल हो । यो विज्ञान पनि हो ।

ठ्याक्क, परिस्थितिले कोल्टे फेर्दै जाँदा प्रदेश, प्रतिनिधिसमा चुनावलगायतका घटनाक्रमले आकार बढिरहेको कम्युनिस्टहरू भिन्न थिए । नेकपा एमालेसँग एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) गठन भयो, जसका एक कार्यकारी अध्यक्ष हुन्, प्रचण्ड । कमजोर स्वास्थ्य रहेका केपी शर्मा ओली र उत्पात हिम्मत बोकेका प्रचण्डको यो समिकरणले नेकपा सबैभन्दा ठूलो दल बन्यो ।

एउटा आकारसहित गति र लय पाएको नेकपासँग केही दम्भहरू पनि जीवित भएर आएको प्रचण्डका आजभोलीका भाषणमा सुनिन्छन् । स्वभाविक देखिने त्यस्तो टिप्पणीका बीच प्रचण्डले केही साता अघि भने,‘अब कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । त्यो अभ्यास हुन्छ । सरकारमा रहेकाको विचार पनि त्यसमा मिलेको छ ।’

यदि शासकीय स्वरूप संविधान संशोधनमार्फत राष्ट्रपतीय प्रणालीमा जाने हो भने प्रचण्ड नै निर्विकल्प उम्मेदवार हुन् । त्यसबेला उनले पार्टी माधवकुमार नेपाललाई जिम्मा लगाउने र देश आफूले हाँक्ने दूरदर्शी प्रस्ताव एकीकरण पूर्व नै गरिसकेका छन् ।

आइतबार बिराटनगर पुगेका प्रचण्डले फेरि दोहोर्‍याए,‘कार्यकारी राष्ट्रपति चुनावी एजेन्डा बन्नेछ ।’

प्रचण्डको यो शैलीसँग उनको सपना जोडिएको छ । १२ बर्षअघिको चुनावी स्पर्धामा ‘राष्ट्रपति’का उम्मेदवार भनी भित्तामा टाँसेको सपना उनको हृदयमा पलाउन थालेको छ । पलाउने मात्र होइन, यदि शासकीय स्वरूप संविधान संशोधनमार्फत राष्ट्रपतीय प्रणालीमा जाने हो भने प्रचण्ड नै निर्विकल्प उम्मेदवार हुन् । त्यसबेला उनले पार्टी माधवकुमार नेपाललाई जिम्मा लगाउने र देश आफूले हाँक्ने दूरदर्शी प्रस्ताव एकीकरण पूर्व नै गरिसकेका छन् ।

प्रचण्ड यो सपना पुरा गर्न चहान्छन् । उनको चाहनाको खुड्कीलाे अझ सहज बनिरहेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीको शासकीय स्वरुपको आधिकारीक लाइन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टीले बहुमतले त्यसलाई पारित गर्न सक्ने ‘पोलिटिकल’ विन्दु भेटेको छ । जसका कारण कम्युनिस्ट पद्दतीको शासन प्रणालीमा जाने गोरेटो पाएको नेकपाको ठहर छ ।

फोरमको यो भनाईपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहने पूर्व एमाले राष्ट्रपतिसम्म उक्लिनका लागि कठिन छैन । किनभने, प्रचण्ड पूर्व एमालेहरूका पनि अध्यक्ष नै हुन् । पूर्वमाओवादीहरूका लागि त प्रतिमूर्ति ठानिन्छन् ।

यतिमात्र होइन, नेकपाले चिनियाँ ढाँचाको नेतृत्वको लय समातेको संकेत पनि दिइरहेको छ । दुई अध्यक्षात्मक प्रणालीमा गइरहेको नेकपा महाधिवेशनसम्म पुग्दा एकमात्र शक्तिशाली नेताको प्रणालीमा उभिने वैधानिक मस्यौदाका खेस्रो कोरिरहेको छ । जुन चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिन पिङको लय हो । त्यहि लिकको मुख्य आकर्षण बन्ने सोच र संकेतहरू प्रचण्डका राजनीतिक गतिविधिले देखाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित