मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

त्यो ट्वाइलेट जहाँ मलमुत्रसँगै ‘एक मन’ सुन नेपाल आउँथ्यो

दैनिक नेपाल २०७५ जेठ ११ गते १६:३९

काठमाडौं, ११ जेठ । सुन तस्करी र भरिया सनम शाक्य हत्याको अभियोगका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको बयान अदालतमा अहिले केहीबेरमा (शुक्रबार ५ बजे) सकिँदैछ ।

यस प्रकरणमा नयाँ तथ्यहरू फेला पर्न थालेका छन् भने संलग्नताका पात्रहरू पनि फेला पर्न थालेका छन् । यसको गहन अनुसन्धान गरिरहेको गृह मन्त्रालयको विशेष छानबिन टोलीले पत्तो लगाएको सुन आउने बाटो र तरिका बडो रोचक छ ।

विमानमा यात्रुको सुविधाका लागि हुने ट्वाइलेटले मलमुत्रमात्र होइन, करोडौं मुल्य बराबरको सुन नै क्यारिङ गरिरहेको हुन्थ्यो । गायब भएको साढे ३३ किलो सुन पनि त्यसरी नै आएको बयानका क्रममा बुझिएको टोलीका संयोजक इश्वरराज पौडेलले बताइसकेका छन् ।

‘यो मास्टरमाइन्ड तस्करी थियो । असामान्य दिमागले गरिएको तस्करी । विदेशी कर्मचारीलाई पत्तो नपाई नेपालीले मात्र सुन काठमाडौं उतार्ने रहेछन्’, उनले भनेका छन्,‘ट्वाइलेटदेखि भर्याङ राख्नेसम्मका कथा रोचक छन् ।

‘नेपालमा तस्करहरूले कसरी थाई एयरलाइन्सलाई माध्यम बनाएर सुन तस्करी गरे भन्ने अनौठो छ । थाई एयरलाइन्सलाई भर्याङ बनाएर अद्भूत तरिकाले सुन तस्करी गरिएको थियो’, उनले भने,‘विदेशी कर्मचारी र एयरलाइन्ससँग पनि हामी बसेर कुरा गरेका छौं । उनीहरू यस्तो विषयमा अनभिज्ञ छन् ।’

एयरलाइन्सको शौचालयबाट भर्याङमा सुन छिराउने बुद्धि, त्यो भर्याङलाई मेकानिकलसम्म लिएर आउने, मोडिफिकेसन गर्ने । यो हेर्दा तस्करीमा मास्टरमाइन्ड लगाएको पाइएको पौडेलले बताए ।

छानबिन समितिले तस्करीको यो आइडियाको अडियो र भिडियो प्रमाण नै राखेको छ । जसलाई अभियोगपत्रसँगै अदालतमा बुझाइयो ।

प्रतिक्रिया
सम्बन्धित