आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

बन्द इजलासमा सुन डन गोरेबाट खुल्दैछ तस्करीमा ‘भीआइपी’ संलग्नता

दैनिक नेपाल २०७५ जेठ ९ गते १३:२३

काठमाडौं, ९ जेठ । जिल्ला अदालत मोरङमा सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान सुरु भएको छ ।

मंगलबार अदालतमा उपस्थित गराएपछि बुधबार मध्यान्हदेखि उनको बयान थालिएको हो । बयान बन्द इजलाशमा छ । जहाँ न्यायाधीश नारायणप्रसाद शर्मालगायत केही कानुनकर्मीको मात्र उपस्थिती रहेको छ ।

तीन दिन लगाएर छानबिन समितिले गोरेको बयान लिँदै अभियोगपत्रमा नयाँ तथ्यहरू थप गरिसकेको छ । सुन तस्करीमा भीआइपी संलग्नताको तथ्यलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

‘सनम हत्यामा उसको प्रत्यक्ष संलग्नता प्रमाणित भइ नै सकेको छ । उमार्फत सुन तस्करीका भीआइपी संलग्नता र लगानीका विषयमा नयाँ तथ्यबारे खुल्न सक्ने अनुमान गरिएको छ’, स्रोतले भन्यो,‘अदालतमा आउने बयानका आधारमा उनी माथि कस्तो कारबाही हुन्छ त्यो हेर्न बाँकी छ ।’

गृह मन्त्रालयको छानबिन समितिले तीन वर्षको अन्तरालमा गोरेको संलग्नतामा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य बाहिर निकालेको थियो । हालसम्म त विमानस्थलमा ४७ टन सुन तस्कर भएको छानविन समितिको ठहर छ ।

‘उसको अहिलेको संलग्नतासँगै दुबईदेखि, बैंकक र नेपालको विमानस्थलसम्म तस्करीको कस्तो ‘चेन’ छ भन्ने नै खुलाउने प्रयत्न भएको छ’, उच्च स्रोतले भन्यो,‘अन्य उच्च ओहदाका प्रहरी, राजनीतिक संलग्नताका विषयमा पनि खुल्नेछ ।’

यता गोरेसँग लिएको बयानका आधारमा सहसचिव इश्वरराज पौडेल संयोजकत्वको छानविन समितिले तस्करीका लगानीकर्ता, मुख्य सहयोगी प्रहरी अधिकारीका विषयमा अनुसन्धान थालिसकेको छ । जेठ मसान्तसम्म समयावधि रहेको समितिले तस्करीका मुख्य सहयोगी र लगानीकर्ताका सम्बन्धमा पनि थप तथ्य फेला पार्ने जनाइएको छ ।

यसैबीच, गोरेको बयानपछि थुनछेक बहस हुनेछ । बुधबार उसको बयान सकिएको खण्डमा विहीबारदेखि थुनछेक बहस हुनेछ । हालसम्म ३२ जना मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । २ जनालाई धरौटिमा रिहा गरिएको छ भने गोरेको बयान जारी छ । ३३ जना फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित