मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

बिहीबार नै पार्टी एकता गर्ने एमालेको निर्णय, स्थायी कमिटीले दियो अनुमति

दैनिक नेपाल २०७५ जेठ २ गते २०:५९

काठमाडौँ, २ जेठ । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग बिहीबार नै पार्टी एकता गर्ने निर्णय गरेको छ ।

एमाले स्थायी समितिको बुधबार राति सकिएको बैठकले दुई पार्टीका अध्यक्षबीच भएको सहमतिको खाकालाई अनुमोदन गर्दै पार्टी एकताका लागि अनुमति दिएको हो ।

लामो रस्साकस्सीपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको स्रोतले बतायो । जसअनुसार, एमालेबाट २ सय ४१ जना र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बन्ने भएका छन् ।

स्थायी कमिटी ४३ सदस्यीय बन्ने भएको छ । जसमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहने भएका छन् ।

यसैगरी, चुनाव चिन्ह एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुने भएको छ भने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने भएको छ ।

प्रचण्डसँग बुधबार बिहान भएको छलफलका बारेमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुलाई जानकारी गराएका थिए । पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकले यो खाकालाई अन्तिम टुंगो लगाउने बताइएको छ ।

दिवंगत नेता मदन भण्डारीको स्मृति दिवसको सन्दर्भ पारेर बिहीबार पार्टी एकता घोषणा लागिएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित