मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

नक्कली नोट प्रकरण : फिल्म निर्मातासहित ६ जना प्रहरीको फन्दामा

दैनिक नेपाल २०७५ जेठ २ गते १९:५०

काठमाडौँ, २ जेठ । चलचित्र निर्माता तथा वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित नियन्त्रणमा लिएको छ । काठमाडौँको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट प्रहरीले उनीहरुलाई दुई करोड ६० लाख ६३ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरीले फिल्म निर्माता वाग्लेको कोठाबाठ १ हजार दरको २ करोड ५२ लाख बराबरको नक्कली नोट बरामद गरेको छ । वाग्ले चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक हुन् । उनी चलचित्र लुट, लुट–२, छड्के, रेशम फिलिलीलगायत चलचित्रका निर्माता तथा वितरक हुन् । प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पनि पक्राउ गरेको छ ।

यसरी पर्दाफास भयो नक्कली नोटको धन्दा

चलचित्र निर्माता तथा वितरण माधव वाग्ले

जेठ १ गते सुर्खेत घर भएका महेन्द्र बोगटीले काठमाडौँस्थित नयाँ बसपार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खाएर बिल तिर्दा नक्कली नोट दिए । नक्कली नोट दिएको चाल पाएपछि क्याफे सञ्चालकले तत्काल प्रहरीलाई खवर गरे ।

तत्काल गोंगबु प्रभागबाट खटिएको प्रहरी टोलीले बोगटीलाई सोधपुछ तथा खानतलासी गर्दा उनको साथबाट १ लाख २० हजार नक्कली नेपाली रूपैयाँ फेला पार्‍यो । बोगटीले दिएको सूचनाका आधारमा सिन्धुलीका सुजित तामाङ र साजन तामाङको ललितपुरको कोठामा खानतलासी गर्दा प्रहरीले सात लाख ४३ हजार बराबरको नक्कली नोट बरामत गर्‍यो ।

त्यसपछि बागबजारस्थित नवज्योती प्रिन्टिङ प्रेसका सञ्चालक ३६ वर्षीय प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक ३९ वर्षीय विकेश नापितलाई छाप्न दिएको खुल्यो । सबै नक्कली नोट नापितको छापामा छापिएको थियो । प्रहरीले नक्कली नोट बनाउन प्रयोग गरेको ४ थान प्लेटसमेत बरामद गरेको छ ।

निर्माता वाग्लेले आफूले फिल्मको सुटिङका लागि नक्कली नोट छापेको बताएका छन् । केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ भनेर समेत लेखिएको छ । नक्कली नोटलाई उनीहरुले विभिन्न होटलमा बिल तिर्न, जुवा, लागुऔषध कारोबारी तथा यौनकर्मीको प्रयोग गरेर बजारसम्म पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरुलाई १० वर्षसम्म कैद सजाय हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित