शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

एकता प्रक्रियाले गति लियो, एमालेले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

दैनिक नेपाल २०७५ जेठ २ गते १४:०९


काठमाडौँ, २ जेठ । नेकपा एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ । पार्टी एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरिएको प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए । बैठक भोली विहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

पछिल्लो समय एमाले–माओवादीबीचको एकीकरणको विषय ओझेलमा परेको चर्चा चलिरहँदा दुवै दल तातिएका छन् । आज ४ बजे एमालेको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने ४ बजे नै प्रचण्ड निवास खुमलटारमा माओवादीको केन्द्रीय कार्यालयको आकस्मिक विस्तार बैठक बस्दैछ ।

दुवै दलको बैठकमा पार्टी एकताको प्रगती, दुई अध्यक्षबीच भएका सहमति, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ । खासगरी एकताकै विषयमा बढी कुराकानी हुने नेताहरुले जनाएका छन् ।

आज बिहान मात्र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको थियो । वार्तामा भोली दिउँसो एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको सार्वजनिक गरिएको छ । तर, दुई अध्यक्षबी भएका अन्य सहमति भने सार्वजनिक गरिएका छैनन् ।

बैशाख पहिलो हप्ता बसेको एकता संयोजन समितिको बैठकले चुनाव चिन्ह, जनयुद्ध, पदाधिकारी, केन्द्रीय समिति, स्थायी समिति र पोलिटव्यूरोको आकार तय गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको थियो । यी सबै विषयमा दुई अध्यक्षबीच सहमति भइसकेको बुझिएको छ । यद्यपी, सहमति सार्वजनिक भएको छैन ।

मंगलबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए । भेटमा नेपालले अनावश्यक आशंका नपाल्न तथा चित्त नबुझेका कुरा संयोजन समितिको बैठकमा राख्न प्रचण्डलाई सुझाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एकताको विषयमा ओझेल परेको तर, बाहिर भनिएजस्तो दुई पार्टीबीच कुनै खटपट नभएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित