मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

बृहत् महाभारत पदमार्ग अध्ययन टोली सिन्धुलीगढीबाट फिक्कल

दैनिक नेपाल २०७५ जेठ २ गते ११:४६


काठमाडौं, २ जेठ । समृद्ध सिन्धुली अभियानले बृहत् महाभारत पदमार्गको ऐतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाव्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गर्ने छ ।

टोलीले सिन्धुलीकै अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्ता लगायतका विज्ञहरु सहभागी छन् । समृद्ध सिन्धुली अभियानको टोली पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्ने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकता अनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र वनस्पत्ति अध्ययनमा उपयोग गर्न सकिने अभियानको यसअघिको अध्ययनले देखाएको संयोजक घिमिरेले बताए ।

बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउने अभियानको उद्देश्य रहेको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए । राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनले बताए ।

यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, वनस्पति, सार्वजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गर्ने अभियानले जनाएको छ । ‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटल, एनालग नक्सा, फोटो, भिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरिने संयोजक घिमिरेले बताए ।

महाभारत ट्रेल अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्ययनमा स्टोरी साइकल, आवर ड्रिम सिटीलगायतका संस्थाले सघाएका छन् । यात्रीलाई शिखर सुज, शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित