शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

चोरी काण्डमा फसेका डिएसपी पाठक सुनकाण्ड छानविन समितिको सदस्य

दैनिक नेपाल २०७५ जेठ २ गते ८:५२

काठमाडौं, २ जेठ । ३३ किलो सुन काण्डको अनुसन्धान तथा छानविन गर्न गठन गरेको छानविन समितिका एक सदस्य चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको रहस्य खुलेको छ ।

विवादित छविका डिएसपी सुदीप पाठकमाथि अख्तियारको कडा निगरानीमा छन् । अख्तियारले डिएसपी को अनुसन्धान नसकिँदै गृहको सिफारिसमा प्रहरी प्रधान कार्यालयले महानगरीय नगर प्रहरी कार्यलयको प्रमुख बनाएर सरुवा गरेको छ ।

टीकापुरमा डिएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से १ च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गरेको तथा गाडी चोरी गर्ने गिरोहलाई पाठकले संरक्षण दिएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

अख्तियारमा पटक–पटक बयान दिएर मुद्दाबाट क्लिन चिट नपाएकै अवस्थामा पनि डिएसपी पाठकलाई गृह मन्त्रालयले ३३ किलो सुन काण्डको अनुसन्धान समितिमा राखेर चोख्याउन लागेको आरोप लागेको छ ।

स्रोतका अनुसार डिएसपी पाठकलाई पक्राउ गरी अख्तियारले करवाहीको तयारी गरिरहेको बेला उनलाई बचाउनकै लािग ३३ किलो सुन काण्डको छानविन समितिमा राखिएको आरोप छ । समितिको सदस्य बनेपछि डिएसपी पाठकलाई कारबाही गर्न अख्तियार पछाडि हटेको छ ।

अख्तियारमा १३ पाने सम्पत्ति विवरण भरेर बयान दिएका डिएसपी पाठकमथिको अनुसन्धान नसकिएको र कुनै पनि समयमा उनी कारवाहीको दायरामा आउन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ ।

पाठक उनै डिएसपी हुन, जसको प्रहरीद्वारा इन्काउन्टर गरिएका गुण्डा नाइके कुमार घैंटेसँग राम्रो कनेक्सन रहेको थियो । अनौपचारिक कुराकानीमा घैंटेलाई गुरु भनेर सम्बोधन समेत गर्ने डिएसपी पाठकले घैंटेसँगको मिलेमतोमा त्यतिबेलै राम्रो आर्जन गरेको स्रोतको आरोप छ ।

अपराध महाशाखाको प्रमुख रहेका हालका आईजीपी सर्वेन्द्र खनालले सिधै तत्परता लिएर घैंटेको इन्काउन्टर गरेपछि महाशाखाको अप्रेसनमा भएकोमा आफूलाई समेत थाहा नदिई इन्काउन्टर गरेको भन्दै डिएसपी पाठकले बबाल मच्चाएका थिए ।

इन्काउन्टरपछि घैंटे समर्थकहरूको बानेश्वरमा गोप्य भेला आयोजना गरेका थिए । त्यो गोप्य भेलामा डिएसपी पाठक उपस्थित भएका थिए । पाठकसमेत प्रहरीले गरेको कारबाहीविरुद्ध भएको मोर्चाबन्दीमा सहभागी भएको सीसीटिभी फुटेज प्रधान कार्यालय पुगेपछि शंकाको घेरामा रहेका थिए ।

कर्तुत प्रमाणित भएपछि आफूलाई सिध्याउने डरले पाठक शक्ति लगाएर तत्कालीन प्रधानमन्त्रीको बडीगार्ड भएर बस्न सफल भएका थिए । अख्तियारबाट बच्नका लागि डिएसपी पाठकले एमाले र माओवादी केन्द्रका नेताहरूसँग राजनीतिक सेटिङ मिलाउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित